फ्रेन्च आर्मी बनाइदिने भन्दै ठगी
काठमाडौं : लमजुङका कृष्णमुरारी मिश्रको सपना ब्रिटिस आर्मी बन्ने थियो। यसका लागि उनले सानैदेखि शारीरिक व्यायाम गर्थे। त्यसकै लागि उनी पोखरा भर्ती केन्द्रमा पटकपटक धाए। तर, सफल भएनन्। त्यसै समय उनको सम्पर्क पोखराका नवराज घिमिरेसँग भयो। घिमिरेले उनलाई फ्रेन्च आर्मी बन्न सुझाए। त्यसका लागि सहयोग गर्ने आश्वासन पनि दिए। साथै चार लाख रुपैयाँ तलब पाइने बताए। युरोपका सबै देश घुम्न पाइने र उतैको स्थायी बासिन्दा हुने सुनेपछि उनको महत्वाकांक्षा बढ्दै गयो।
फ्रेन्च आर्मी बन्ने सपनाका साथ मिश्र पोखरामै बस्न थाले। उनले फ्रेन्च भाषा पनि सिके। उनी भन्छन्, ‘भाषा अध्ययन र अन्य प्रक्रियाका लागि काठमाडौं आउँदा लाखभन्दा बढी खर्च भयो।’फ्रेन्च आर्मी बन्ने सपनाले उनले लमजुङको तारकुतार–७ सुन्दरबजारमा रहेको आठ आना जग्गासमेत बिक्री गरे। जग्गा दुई लाख ८० हजार आनाका दरले बिक्री भयो। उनी भन्छन्, ‘युरोप जाने चाहनाले थुप्रै खर्च भयो तर जान पाइएन। फ्रेन्च आर्मीमा जान पटकपटक गरी १६ लाखभन्दा बढी रकम बुझाएँ।’ उनले घिमिरेलाई दुई लाख नगद र बाँकी ग्लोबल बैंकमार्फत दिएको बताए।
म्याग्दीको रघुगंगा गाउँपालिका–६ का ओमप्रकाश पुनको व्यथा पनि उस्तै छ। तीनपटकसम्म भर्ती हुन जाँदा ब्रिटिस आर्मीमा नछानिएपछि पुनको सम्पर्क लघिमिरेसँग पोखरामै भयो। घिमिरेले फ्रेन्च आर्मी बनाइदिने आश्वासन दिएपछि उनले पटकपटक गरी १५ लाख बुझाए। मिश्र र पुनले सबै प्रक्रिया पूरा गरी फ्रेन्च आवासीय भिसासहित आवश्यक कागजपत्र लिएर उनीहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगे। त्यसपछि थाहा भयो घिमिरेको ठगी धन्दा।
नक्कली भिसा र कागजात प्रयोग गरेको भन्दै अध्यागमन विभागले उनीहरूलाई फिर्ता मात्रै पठाएन, दुई दिन जेलमा राख्यो। घिमिरेकै सहयोगमा १० हजार धरौटी बुझाएर उनीहरू जेलबाट छुटे। तर, उनीहरू न फ्रेन्च जान पाए न पैसा फिर्ता भयो। आफूले दिएको पैसा फिर्ता लिन उनीहरू हाल विभिन्न सरकारी निकाय धाइरहेका छन्।
फ्रेन्च आर्मी लगाइदिने भन्दै घिमिरेले म्याग्दी, बागलुङ, लमजुङ, गोरखा, स्याङजा, बुटवलगायतका बेरोजगार युवालाई ठगेका छन्।
घिमिरेले फ्रेन्च आर्मी कन्सल्टेन्सी सर्भिस प्रालिका नामबाट ठगी धन्दा चलाउँदै आएको पीडितको भनाइ छ। घिमिरेले हालसम्म ३५ जनाभन्दा बढि युवालाई यसै गरी ठगिसकेका छन्। सञ्चालक घिमिरेले ब्रिटिस आर्मीमा भर्ती हुन चाहने सोझा युवालाई आफ्नो निसाना बनाउँदै आएको पीडितको आफन्त मोहन हमालले जानकारी दिए। उनले भने, ‘फ्रेन्च आर्मीका नाममा धेरै युवा फसेका छन्।’ पैसा फिर्ताका लागि सरोकारवाला सबै निकायसमक्ष पुगे पनि न्याय नपाएको उनले गुनासो गरे। म्याग्दी, बागलुङ, लमजुङ, गोरखा, स्याङजा, बुटवलगायतका बेरोजगार युवा उनको निसानामा परेका छन्।
न्याय माग्न जाँदा पोखरा प्रहरीले उजुरी नलिएको उनीहरूको गुनासो छ। घिमिरे प्रहरीको संरक्षणमा रहेकाले आफ्नो उजुरी दर्ता नगरेको आरोप पीडितको छ। उनीहरू न्यायका लागि वैदेशिक रोजगार विभाग पुगे। तर, विभागले कन्सल्टेन्सी आफ्नो क्षेत्राधिकारभित्र नपर्ने भन्दै कारबाहीका लागि महानगरीय प्रहरी परिसर टेकु जान सिफारिस गर्यो। पीडितका आफन्त मैनालीले टेकुलेसमेत उजुरी दर्ता नगरेको गुनासो गरे।
महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता एसपी अशोक सिंहले फ्रेन्च आर्मीका नाममा ठगिएका युवाको उजुरीबारे आफूलाई थाहा नभएको जानकारी दिए। वैदेशिक रोजगार विभागका महानिर्देशक दिलीपकुमार चापागार्इंले सरकारले खुला गरेका एक सय ७२ मुलुकमा फ्रेन्च परे पनि आर्मीमा नेपालीलाई अवसर नभएको बताए। फ्रेन्च आर्मी सर्भिस प्रालि कन्सल्टेन्सी भएकाले आफ्नो क्षेत्राधिकारमा नपर्ने चापागाईंले जानकारी दिए। नेपालीले इन्डियन, ब्रिटिस र सिंगापुर आर्मीबाहेक अन्य देशका लागि स्वीकृति पाउँदैनन्।