यू-१५ साफ च्याम्पियनसिप : नेपाल समूह उपविजेता
काठमाडौं : समूह चरणको अन्तिम खेलमा बंगलादेशसँग २-१ गोलले पराजित भएपछि नेपाल यू-१५ साफ च्याम्पियनसिपमा समूह उपविजेता बनेको छ । यसअघि नै सेमिफाइनलमा स्थान बनाएको नेपालले सोमबार बंगलादेशसँग नमीठो हार खेप्यो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको प्रतिस्पर्धात्मक खेलमा बंगलादेशले दोस्रो मिनेटमै अग्रता लिएको थियो । बंगलादेशका लागि अहद सकिलले खाता खोले ।
नेपालले ३६औं मिनेटमा पेनाल्टी मार्फत बराबरी गोल फर्काएको थियो । बंगलादेशका गोलरक्षकले नेपालका राकेश विश्वकर्मालाई फल हानेर लडाएपछि नेपालले पेनाल्टीको अवसर पाएको थियो । उक्त अवसरलाई नेपालका जान लिम्बूले सदुपयोग गरे । त्यसपछि १० खेलाडीमा समेटिएको बंगलादेशले लय भने गुमाएन । नेपालले दोस्रो हाफको सुरुआतमा अर्को गोल खाएको थियो । नेपालको कमजोर रक्षापंक्तिको फाइदा उठाउँदै बंगलादेशका महमद राजोन हउलादरले गोल गरेका थिए ।
उक्त गोल नै बंगलादेशको जितमा प्रयाप्त बन्यो । समूहको पहिलो खेलमा नेपालले माल्दिभ्सलाई ४-० गोलले हराएको थियो । नेपालले समूह ‘बी’ को विजेता पाकिस्तानसँग खेल्नेछ । समूह ‘ए’ को विजेता बंगलादेशले ‘बी’ को उपविजेता भारतसँग प्रतिस्पर्धा गर्नेछ । सोमबार भएको अर्को खेलमा भारतले भुटानलाई ४-० गोलले हराउँदै सेसिमफाइनलमा स्थान बनाएको हो । पहिलो खेलमा भारत पाकिस्तानसँग २-१ गोलले पराजित भएको थियो ।