क्याम्प नोउमा रियल म्याड्रिडको बिजोग

क्याम्प नोउमा रियल म्याड्रिडको बिजोग

बार्सिलोना : स्पेनिस फुटबलका दुई महारथीबीच आइतबार राति भएको ‘एल क्लासिको’ भिडन्तमा बार्सिलोनासामु रियल म्याड्रिड निरीह देखिएको छ । आफ्नै घरेलु मैदान क्याम्प नोउमा खेलिएको उक्त खेलमा बार्सिलोनाले रियललाई ५—१ गोलको फराकिलो अन्तरले हरायो । जितसँगै साबिक विजेता बार्सिलोना पुनः अंकतालिकाको पहिलो स्थानमा फर्किएको छ ।

करिब आठ वर्षपछि पहिलो पटक दुई चर्चित खेलाडी लियोनल मेसी र क्रिस्टियानो रोनाल्डोको अनुपस्थितिमा ‘एल क्लासिको’ भिडन्त भएको हो । बार्सिलोनाका मेसी हात भाँचिएका कारण मैदानबाहिर रहेका हुन् भने रियलमा लामो समय बिताएर रोनाल्डो यसै सिजन इटालियन क्लब युभेन्ट्समा आबद्ध भएका छन् । बार्सिलोनाको जितमा उरुग्वेका अनुभवी खेलाडी लुइस स्वारेज नायक बने ।

स्वारेजले ह्याट्रिक गरेपछि बार्सिलोनाको सहज जित सम्भव भएको थियो । खेल सुरु भएको ११औं मिनेटमै फिलिप कोउटिन्होले बार्सिलोनालाई अग्रता दिलाएका थिए । ३०औं मिनेटमा स्वारेजले पेनाल्टीमार्फत गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । राफेल भारानेले डी बक्सभित्र स्वारेजलाई फल गरेपछि भिडियो असिस्टेन्ट रेफ्रीको माध्यमबाट बार्सिलोनाले पेनाल्टी प्रहारको अवसर पाएको थियो । ‘एल क्लासिको’ भिडन्तमा पहिलो पटक भिडियो असिस्टेन्ट रेफ्रीको प्रयोग गरिएको हो ।

यसैगरी ५०औं मिनेटमा मार्सेलोले रियलका लागि जवाफी गोल फर्काएका थिए । मार्सेलोले रियलका लागि लगातार तेस्रो खेलमा गोल गरेका हुन् । ३१ वर्षीय स्वारेजले ७५औं मिनेटमा बार्सिलोनालाई ३—१ को अग्रता दिलाए । ८३औं मिनेटमा स्वारेजले ह्याट्रिक पूरा गरेपछि बार्सिलोना ४—१ ले अगाडि बढेको थियो । सन् २०१४÷१५ सिजनमा बार्सिलोनामा आबद्ध भएयता स्वारेजले रियलविरुद्घ ला लिगामा गरेको गोल संख्या नौ पुगेको छ । अत्यन्तै फितलो प्रदर्शन गरेको रियलले निर्धारित समयको खेल सकिनुभन्दा तीन मिनेटअघि पाँचौं गोल खाएको थियो । बार्सिलोनाका लागि अन्तिम गोल आर्टुरो भिदालले गरेका थिए ।

रियलका गोलरक्षक थिबाउट कोर्टियसले ला लिगामा हालसम्म बार्सिलोनासँग १९ गोल खाइसकेका छन् । उनले यति गोल अन्य कुनै टोलीविरुद्घ खाएका छैनन् । 

सहभागी सबै टोलीले १०÷१० खेल खेलिसक्दा २१ अंकसहित बार्सिलोना पहिलो स्थानमा छ । २० अंकसहित डेपोर्टिभो आल्भेस दोस्रो, १९ अंकसहित सेभिल तेस्रो र समान अंक बटुलेको एट्लेटिको म्याड्रिड चौथो स्थानमा छन् । जारी सिजनमा एकपछि अर्को निराशाजनक प्रदर्शन दोहोर्‍याउँदै आएको रियल भने १४ अंकसहित तालिकाको नवौं स्थानमा झरेको छ।

सन् १९९४ पछि ‘एल क्लासिको’ मा ह्याट्रिक गर्ने स्वारेज बार्सिलोनाका दोस्रो खेलाडी हुन् । सन् १९९४ मा भने रोमारियोले ह्याट्रिक गरेका थिए । सन् २००६ को अप्रिलयता बार्सिलोनाका लागि ‘एल क्लासिको’ मा पेनाल्टीमार्फत गोल गर्ने पनि स्वारेज मेसीपछिका दोस्रो खेलाडी हुन् । सन् २००६ को अप्रिलमा बार्सिलोनाका लागि ब्राजिलियन खेलाडी रोनाल्डिन्होले पेनाल्टीमार्फत गोल गरेका थिए ।

यसैगरी रियलले सन् २०१० को नोभेम्बरयता कुनै पनि प्रतियोगितामा पाँच गोल खाएको यो पहिलो पटक हो । सन् २०१० को नोभेम्बर २९ तारिखमा खेलिएको ला लिगामा बार्सिलोनाले रियललाई आफ्नै मैदानमा ५—० गोलले हराएको थियो । यी दुई क्लबबीच हालसम्म खेलिएका खेलमा भने सबैभन्दा ठूलो अन्तरको हार÷जित ११—१ गोलले भएको छ । सन् १९४३ को जुन १९ तारिखमा कोपा डेल रेअन्तर्गत भएको खेलमा रियलले घरेलु मैदानमा बार्सिलोनालाई ११—१ ले हराएको थियो ।

बार्सिलोना आफ्नो घरेलु मैदानमा खेलिएको पछिल्ला ४२ लिग खेलमा अपराजित छ । यसबीचमा घरेलु मैदानमा बार्सिलोनाले ३४ जित र आठ बराबरीको नतिजा निकालेको छ । सन् १९७७ को फेब्रुअरीयता बार्सिलोनाको यो सबैभन्दा लामो अपराजित यात्रा हो । सन् १९७७ मा बार्सिलोना घरेलु मैदानमा खेलिएको ला लिगामा ६७ खेलसम्म अपराजित रहेको थियो ।

स्पेनिस ला लिगामा बार्सिलोनाले रियलविरुद्घ खेलिएका पछिल्ला २२ खेलमा कम्तीमा एक गोल गर्दै आएको छ । यसअघि सन् १९५९ र सन् १९६९ मा रियलले पनि बार्सिलोनाविरुद्घ लगातार २२ खेलमा गोल गरेर ‘एल क्लासिको’ मा कीर्तिमान बनाएको थियो । रियलले ला लिगाको पछिल्ला पाँच खेलमा जित हात पार्न सकेको छैन । यसबीचमा रियलले एक बराबरी र चार हारको नतिजा निकालेको छ । सन् २००९ को मेयता रियलको यो सबैभन्दा खराब प्रदर्शन हो । त्यतिबेला रियल लगातार पाँच खेलमा पराजित भएको थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.