ब्राजिलको राष्ट्रपतिमा बोल्सोनारो
रियो डे जेनेरियो : ब्राजिलको राष्ट्रपतिमा दक्षिणपन्थी उम्मेदवार जायर बोल्सोनारो निर्वाचित भएका छन्। आइतबार सम्पन्न दोस्रो चरणको निर्वाचनमा बोल्सोनारोले ५५ दशमलव १३ प्रतिशत मत प्राप्त गरेका छन्।
६३ वर्षीय बोल्सोनारो विगतमा सैनिक क्याप्टेन थिए। उनका प्रतिद्वन्द्वी वर्कर्स पार्टीका नेता फर्नान्डो हडाडले ४४ दशमलव ८७ प्रतिशत मत प्राप्त गरे।
बोल्सोनारोले आगामी जनवरी १ बाट राष्ट्रपतिको कार्यभार सम्हाल्नेछन्। उग्र दक्षिणपन्थी बोल्सोनारोको विजयसँगै उनका विपक्षीले ब्राजिलमा फासीवादको उदय हुनसक्ने चिन्ता प्रकट गरेका छन्। यससँगै ब्राजिल दक्षिणपन्थी पपुलिज्मको लहर चल्ने पछिल्लो मुलुक बनेको छ। अर्जेन्टिना, चिली, पेरु, पाराग्वे र कोलम्बियामा पनि दक्षिणपन्थी नेताको उदय भइरहको छ।
विजयपछि बोल्सोनारोले सबै मिलेर ब्राजिलको भविष्य बदल्ने प्रतिबद्धता व्यक्त गरे। ब्राजिलमा बाइबल र संविधानको आधारमा सत्ता सञ्चालन गर्ने उनले बताए। ‘हामी वामपन्थीहरुको समाजवाद, साम्यवाद, लोकप्रियतावाद र अतिवादको भ्रममा पर्ने छैनौं,’ उनले भने। उनले आफू संविधानको रक्षक भएको दाबी समेत गरे। सेप्टेम्बर ६ मा चुनावी सभामा सहभागी हुँदा उनको पेटमा छुरा प्रहार भएको थियो। त्यसयता उनले फेसबुकबाटै चुनावी प्रचार गरिरहेका थिए।
चुनावी नतिजा आएलगत्तै रियो दि जेनेरियोस्थित बोल्सोनारोको घरबाहिर हजारौं समर्थक भेला भएका थिए। उनीहरुले ब्राजिलको झण्डा फहराउँदै पटका पड्काएर खुसी मनाएका थिए।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टेलिफोन गरी बोल्सोनारोलाई बधाई दिएका छन्। दक्षिणी अमेरिकी मूलका सबैजसो नेताले बोल्सोनारोलाई बधाई दिएका छन्।
कस्तो होला ब्राजिलको भविष्य ?
बोल्सोनारोलाई ट्रम्पको दक्षिण अमेरिकी संस्करण मान्ने गरिन्छ। केहीले भने उनको तुलना फिलिपिनी राष्ट्रपति रोड्रिगो डुटेर्टेसँग गरेका छन्। ट्रम्पले जस्तै उनले विभिन्न समयमा विवादास्पद अभिव्यक्ति दिने गरेका छन्। पटकपटक स्त्रीद्वेषी, समलैंगिकताविरोधी टिप्पणीका कारण उनी विवादित छन्। उनले आफू यातनाको पक्षमा रहेको बताएका थिए।
दक्षिण अमेरिकाको सबैभन्दा ठूलो देश ब्राजिलमा पछिल्लो दुई वर्षमा राजनीतिक खिचातानी बढिरहेको छ। बढ्दो अपराध, भ्रष्टाचार र राजनीतिक अस्थिरताको फाइदा उठाउँदै बोल्सोनारोले आफूलाई यथास्थितिको विकल्पका रुपमा प्रस्तुत गरे। यस्तो अवस्थामा मतदाताले राजनीतिक संस्थापनलाई मात्र होइन, लोकतन्त्रका आधारभूत मान्यतालाई समेत अस्वीकार गर्ने उम्मेदवारलाई रोजेका गर्छन्। उनले राज्यका अन्य अंगलाई निकम्मा तुल्याएर सर्वसत्तावाद लाद्नसक्ने चेतावनी कतिपयले दिएका छन्।
विपक्षी वर्कर्स पार्टीले भने जनताको स्वतन्त्रताको रक्षा गर्न संघर्ष चलाउने बताएको छ। राष्ट्रपतिका उम्मेदवार हडाड मात्र होइन उनको वर्कर्स पार्टीको छविसमेत पछिल्ला वर्षमा कमजोर बन्दै गएको छ। हडाडलाई भ्रष्टाचारको आरोपमा जेलमा रहेका पूर्वराष्ट्रपति लुइस इनासियो लुला डी सिल्भाको समर्थन थियो। लुला सन् २००३ देखि २०१० सम्म ब्राजिलको राष्ट्रपति थिए।
बोल्सोनारोको उदयसँग ब्राजिलमा लोकतन्त्रको भविष्यप्रति चिन्ता प्रकट गर्न थालिएको छ। केहीले विश्लेषक चाहिँ सत्तामा आएसँगै बोल्सोनारोले आफ्नो उग्रता कम गर्ने विश्वास व्यक्त गरेका छन्।