फर्कने अनुमति पाएलगतै विमान दुर्घटना
जकार्ता : इन्डोनेसियामा एक सय ८९ यात्रु बोकेको विमान दुर्घटना भएको छ। राजधानी जकर्ताबाट उडेको लायन एयरको सो विमान समुद्रमा खसेको थियो। बंका टापुको पांकाल पिनाङका लागि जाँदै गरेको बोइङ ७३७ उडेको १३ मिनेटपछि सम्पर्कविहीन भएको थियो।
विमानमा सवार सबैको मृत्यु भएको आशंका गरिएको छ। ‘अहिलेसम्म भेटिएको शवको टुक्राटुक्रीलाई आधार मान्दा मेरो अनुमानमा कोही पनि जीवित छैनन्,’ सरकारी उद्दार एजेन्सीका निर्देशक बाम्बाङ सुर्योजीले भनेका छन्। उद्दारकर्ताले छ वटा शव निकालेका छन्। डुंगा र हेलिकप्टरको सहारामा खोज तथा उद्दार कार्य जारी छ। डेढ सयभन्दा बढी उद्दारकर्ता खोजीकार्यमा सक्रिय छन्। यात्रुका हातेझोला, पर्स, मोबाइल फोन र कपडाजस्ता सामान फेला पारिएको छ।
यात्रुका आफन्त पांकाल पिनाङ विमानस्थलमा भेला भएका थिए। यात्रुका परिवारलाई लायन एयरले पांकाल पिनाङबाट राजधानी जकार्ता पु¥याएको छ।
विमानका यात्रुमध्ये एक सय २४ पुरुष, ५४ महिला, तीन बालबालिका र आठ जना चालकदलको सदस्य थिए। इण्डोनेसियाली अर्थमन्त्रालयका २० कर्मचारी पनि सो विमानमा सवार रहेको उक्त मन्त्रालयले जनाएको छ। राष्ट्रपति जोको विडोडोले यातायात सुरक्षा आयोगलाई दुर्घटनाको अनुसन्धान गर्न आदेश दिएका छन्।
ग्रेटर जकार्तास्थित सुकार्नो हट्टा अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको सो विमानले ट्राफिक कन्ट्रोलसँग फिर्ता आउने अनुमति मागेको जनाइएको छ। फर्किने अनुमति मागे पनि आपतकालीन परिस्थितिबारे जानकारी नदिएको उद्दार एजेन्सीका प्रवक्ता युसुफ लतिफले जानकारी दिएका छन्। त्यसैबेला विमानसँगको सम्पर्क विच्छेद भएको थियो।
अगस्टबाट मात्र उडान सुरु गरेको ब्रान्ड न्यु विमान दुर्घटनाग्रस्त हुनुको कारण खुलेको छैन। यो विमानले मात्र आठ सय घण्टा उडान भरेको थियो। मौसमका कारण विमान दुर्घटना नभएको बताइएको छ। विमान सम्पर्कविहीन भएको क्षेत्रमा सो समय मौसम राम्रो थियो। आइतबार राति विमानमा समस्या उत्पन्न भएको रिपोर्ट एयरलाइन्ससमक्ष पुगेको थियो। तर सोमबार बिहान इञ्जिनियरहरुले जाँचपछि उडानका लागि उपयुक्त रहेको बताएका थिए।
लायन एयरका अध्यक्ष एडवर्ड सिरेतले सो विमानको अवस्था उडानयोग्य रहेको बताएका छन्। उनले पाइलट र को-पाइलटले पनि उडानसम्बन्धी सम्पूर्ण परीक्षण पूरा गरेको बताएका छन्। लायन सस्तो एयरलाइन्स हो। यसले इण्डोनेसिया, मलेसिया, साउदी अरब र चीन गरी एक सय २६ गन्तब्यमा उडान भर्छ। यो दक्षिण पूर्वी एसियामा एयर एसियापछिको सबैभन्दा ठूलो सस्तो एयरलाइन्स हो। सन् २००७ मा युरोपेली युनियनले यो एयरलाइन्समाथि प्रतिबन्ध लगाएको थियो। २०१६ मा सो प्रतिबन्ध हटाइएको थियो।
सन् २००२ यता यो एयरलाइन्सका विमान दर्जनभन्दा बढी पटक दुर्घटनामा परिसकेका छन्। सन् २०१६ को मे महिनामा दुई वटा लायन एयरका विमान जकार्ताको सुकार्नो-हाट्टा विमानस्थलमा एकअर्कासँग ठक्कर खाएका थिए। सन् २०१३ मा एउटा लायन एयर जेट बालीको समुद्रमा खस्दा विमान नै दुई टुक्रा भएको थियो।
दुर्घटनाग्रस्त विमान बोइङ ७३७ को अपडेटेड संस्करण बोइङ ७३७ म्याक्स ८ हो। यसलाई सन् २०१७ मा लायन एयरले नै सबैभन्दा पहिले सेवामा लगाएको थियो। अमेरिकी निर्माता बोइङको सबैभन्दा ठूलो ग्राहकमध्ये एक हो लायन एयर। यो कम्पनीले सन् २०११ मा २१.७ अर्ब डलर मूल्यको दुई सय ३० वटा विमानको अर्डर बोइङलाई दिएको थियो।
आफ्नो कम्पनीको नयाँ विमान दुर्घटना भएपछि आवश्यक पर्ने सम्पूर्ण प्राविधिक सहयोगका लागि तयार रहेको बोइङले जनाएको छ।
दुर्घटनाग्रस्त विमानका क्याप्टेन भारतीय नागरिक हुन्। भाव्य सुनेजा नामक ती पाइलटले छ हजार घण्टा उडान भरिसकेको जनाइएको छ। त्यस्तै कोपाइलटले पनि पाँच हजार घण्टा उडान अनुभव लिइसकेको उक्त एयरलाइन्सले जनाएको छ।
हजारौँ टापु भएको देश इण्डोनेसियाको यातायातको प्रमुख साधन हवाइजहाज नै हो। पछिल्ला केही वर्षमा यो देशले हवाई सुरक्षाको मापदण्डमा सुधार गरिरहेको छ। तर दुर्घटनाको क्रम रोकिएको छैन। गत अगष्टमा पूर्वी इन्डोनेसियामा भएको हवाई दुर्घटनामा आठ जना मारिएका थिए। अगस्ट २०१५ मा भएको अर्को दुर्घटनामा विमानमा सवार सबै ५४ जनाको मृत्यु भएको थियो। त्यस्तै २०१४ मा एयर एसियाको विमान दुर्घटनाग्रस्त हुँदा १६२ जनाको ज्यान गएको थियो।
दुर्घटनापछि अष्ट्रेलिया सरकारले आफ्ना कर्मचारीहरुलाई लायन एयरमा उडान नगर्न निर्देशन दिएको छ।