प्रदेश पदाधिकारीलाई नेकपाको दुई बुँदे निर्देशन

प्रदेश पदाधिकारीलाई नेकपाको दुई बुँदे निर्देशन

काठमाडौं : केन्द्रीय सदस्यको कार्यविभाजन र प्रदेश सदस्य चयन गर्न नेकपाले बनाएको ‘शक्तिशाली कार्यदल’ ले प्रदेश पदाधिकारीहरूलाई दुईबुँदे निर्देशन दिएको छ। कार्यदलले ३ दिनयता सातै प्रदेशका पदाधिकारीलाई अलग–अलग बोलाई दुईबुँदे निर्देशन दिन थालेको हो।

नेकपाले केन्द्रीय सदस्यको कार्यविभाजन र तल्लो कमिटी एकताका लागि गृहकार्य गर्न सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापा र महासचिव विष्णु पौडेल रहेको कार्यदल गठन गरेको थियो। नेकपामा ४ सय ४१ जना केन्द्रीय सदस्य छन्। यी सबैको कार्यविभाजनको खाका यही कार्यदलले तयार पार्नेछ। सातै प्रदेशमा गरी कुल १४ सय नेतालाई प्रदेश कमिटीको जिम्मेवारी दिने गरी नामसमेत यही कार्यदलले चयन गर्नेछ। ८ कात्तिकको सचिवालय बैठकले कार्यदल गठन गरेको थियो।

सातै प्रदेशमा इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिव रहेको चार सदस्यीय पदाधिकारी भने ५ साउनमै सचिवालय बैठकले चयन गरिसकेको थियो। ‘हामीलाई कार्यदलले दुईबँुदे निर्देशन गरेको छ’, प्रदेश १ का सचिव सुरेशकुमार राईले भने, ‘केन्द्रीय सदस्यको कार्यविभाजन र प्रदेश कमिटी सदस्य चयनमा सहयोग गर्न निर्देशन आएको छ।’

उनका अनुसार प्रदेशबाट बनेका केन्द्रीय सदस्यहरूलाई दिने जिम्मेवारीका लागि नाम सिफारिस गर्न प्रदेश पदाधिकारीसँग कार्यदलले आग्रह गरेको छ। ‘स्थायी समिति सदस्यबाहेक प्रदेशबाट केन्द्रीय सदस्य बनेका नेताहरूलाई जिल्ला इन्चार्ज, सह–इन्चार्ज र प्रतिनिधिसभा निर्वाचन क्षेत्र इन्चार्जसम्मको जिम्मेवारी दिनका लागि नाम सिफारिस गर्न र विगत कार्यदलले प्रदेश कमिटीका लागि गरेको बाँडफाँड संख्यामा आधारित रहेर दुवै पूर्वघटकबाट वरिष्ठताका आधारमा अन्तिम नामावली सिफारिस गर्न निर्देशन गर्नु भएको छ’, उनले भने।

–स्थायी समिति सदस्यबाहेक प्रदेशबाट केन्द्रीय सदस्य बनेका नेतालाई जिल्ला इन्चार्ज, सहइन्चार्ज र प्रतिनिधिसभा निर्वाचन क्षेत्र इन्चार्जसम्मको जिम्मेवारीका लागि नाम सिफारिस गर्नुस्।

कार्यदलले सोमबार प्रदेश १ का पदाधिकारीसँग सानेपास्थित एउटा होटलमा छलफल गरेको थियो। उसले प्रदेश ३ र गण्डकी प्रदेशका पदाधिकारीसँग यसअघि छलफल गरी त्यस्तै निर्देशन गरेको थियो। ‘उहाँहरूले हामीलाई पनि केही काम दिनुभएको छ’, प्रदेश ४ का अध्यक्ष हितराज पाण्डेले भने, ‘तर हामीले त्यो काम गर्न बाँकी छ।’ प्रदेश ५ र प्रदेश २ सँग मंगलबार कार्यदलले छलफल गर्दैछ। प्रदेश ६ र ७ सँग भने उसले छलफल गरिसकेको छैन। छलफलमा बोलाउने सन्देश भने ती दुवै प्रदेशका पदाधिकारीलाई कार्यदलले पठाएको छ।

‘तिहारअघि नै नाम बुझाउनुहोस्’

नेकपाको तल्लो तहको एकता लम्बिँदा पार्टीभित्र असन्तुष्टि चुलिए पनि एकीकरण अझै पछि धकेलिने देखिएको छ। कार्यदलले प्रदेश पदाधिकारीलाई फेरि काम दिएकाले प्रक्रिया लम्बिने भएको हो। ‘तिहारअघि काम सक्नुपर्ने बाध्यात्मक अवस्था देखाउँदै १५,१६ भित्रै दिइएको जिम्मेवारी पूरा गर्न हामीलाई निर्देशन छ’, प्रदेश १ का सचिव राईले बताए।

उनका अनुसार, प्रदेश पदाधिकारीले सुझाव सहितको सिफारिस बुझाएपछि कार्यदलले त्यसलाई अन्तिम निर्णय लिँदै तयार पार्ने प्रस्ताव सचिवालयमा बुझाउने तयारी छ। कार्यदलले प्रस्ताव सचिवालयमा बुझाएपछि त्यसलाई अन्तिम रूप दिएर स्थायी समिति बैठकमा पेश गर्ने र छलफल गरी कार्यान्वयनमा लैजाने तयारी नेकपाको छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.