बार्सिलोनासँग लज्जास्पद हारपछि मड्रिडका प्रशिक्षकको जागिर गयो
काठमाडौँः एल क्लासिकोमा चिरप्रतिद्वन्द्वी बार्सिलोनाको हातबाट ५–१ को लज्जास्पद हार व्यहोरेपपछि स्पेनिस क्लब रियल मड्रिड प्रशिक्षक जुलेन लोपेटेगुईलाई बर्खास्त गरेको छ ।
क्याम्प नोउमा बार्सिलोनासँग फराकिलो हार भागे लगत्तै रियल मड्रिड व्यवस्थापनले यस्तो कदम उठाएको हो । लगातार तीन वर्ष च्याम्पियन्स लिगको उपाधि जिताएपछि विदा भएका फ्रान्सेली प्रशिक्षक जिनेदिन जिदानको स्थान लिएका जुलेनले साढे ४ महिनामै बर्खास्त हुनु परेको हो ।
रियलले पछिल्ला ६ मा ५ खेलमा लगातार पराजय ब्यहोरेपछि रियलले बर्खास्ता गरेको हो । रोनाल्डोले छाडेपछि आइतवार भएको बार्सिलोनासँगको खेल रियलका लागि वास्तविक परीक्षा थियो । तर यो परीक्षामा सान्टियागो बर्नाबाओको टोली रियल मड्रिडको सबै कम्जोरी एकसाथ छताछुल्ल भयो ।
५२ वर्षीय जुलेनको बर्खास्तीसँग उनको स्थानमा तत्कालका लागि रियलकै पूर्वखेलाडी सान्टियागो सोलारीले लिनेछन् । जुलेनलाई बर्खास्त गरेपछि रियलले बेल्जियमका प्रशिक्षक रोबर्टो मार्टिनेज, चेल्सीका पूर्वप्रशिक्षक एन्टेनियो कोन्टे र टोटनह्यामका प्रशिक्षक पोचेटिनोलाई प्रशिक्षका रुपमा भित्र्याउने प्रयास गरिरहेको छ ।