३३ टोलीबाट ल्यान्डफिल अवलोकन
धनकुटा : ६ महिना अवधिमा स्थानीय तहका ३३ टोलीले धनकुटा नगरपालिकास्थित ल्यान्डफिल साइट अवलोकन गरेका छन्। उनीहरूले यहाँ आएर फोहोरमैला व्यवस्थापनबारे जानकारी लिने गरेका हुन्। ‘यहाँ आउनका लागि स्थानीय तहका पदाधिकारीले फोनमा सोधीखोजी गर्छन्’, वातावरण शाखा प्रमुख उपेन्द्र खनालले भने, ‘केही स्थानीय तहले भ्रमण तालिका तय गरी मिति बुक गरेका छन्।’
नगरपालिकाले वडा नम्बर ६ स्थित सल्लेरी वनमा ल्यान्डफिल बनाई आठ वर्षदेखि फोहोर व्यवस्थापन गर्दै आएको छ। यहाँ प्रवेशका लागि प्रत्येक टोलीले ५ हजार रुपैयाँ शुल्क बुझाउनुपर्छ। गत वैशाखदेखि हालसम्म प्रवेश शुल्कबापत १ लाख ६५ हजार रुपैयाँ संकलन भएको शाखा प्रमुख खनालले बताए।
उनका अनुसार भ्रमण टोलीलाई सुरुमा फोहोरमैला व्यवस्थापनबारे प्रस्तुतीकरण दिइन्छ। त्यसपछि उनीहरूले यो ठाउँको अवलोकन गर्छन्। यहाँजस्तै फोहोर व्यवस्थापनको काम गर्ने प्रतिबद्धता जनाउने गरेको उनले सुनाए। ‘उनीहरूले सुरुमा फोहोर व्यवस्थापनलाई चुनौतीपूर्ण भन्ने गरेका छन्’, उनले भने, ‘केन्द्र अवलोकनपछि भन योे काम सहज रहेछ भन्छन्।’ भरतपुर महानगरपालिका, हेटौंडा, नेपालगन्ज उपमहानगरपालिकालगायत स्थानीय तहको टोली यहाँ आएको उनले बताए।
४० रोपनी जग्गामा २०६७ मा ल्यान्डफिल निर्माण गरिएको थियो। यसका लागि २ करोड १० लाख रुपैयाँ खर्च भएको थियो। यही क्षेत्रमा ४० फिट गहिरो खाडल फोहोरले भरेर २०७१ सालमा बगैंचा बनाइएको थियो। बगैंचामा दिनहुँ आन्तरिक तथा बाह्य पर्यटक आउने गरेको नगरपालिकाले जनाएको छ।