डोल्पा चिनाउने चलचित्र 'म्हेन्दु' प्रर्दशनको तयारीमा
त्रिपुराकोट,डोल्पा : विकट हिमाली जिल्ला डोल्पामा छायाङ्कन गरिएको नेपाली कथानक चलचित्र 'म्हेन्दु' प्रर्दशनको अन्तिम तयारीमा रहेको छ। सुन्दरी, परी वा फूलको अर्थ बोकको चलचित्र म्हेन्दुको सम्पादन,डबिङलगायतको काम सम्पन्न भइसकेको छ।तीहारको अवसर पारेर डोल्पामा च्यारीटी शो गर्ने र डोल्पापछि अस्ट्रेलिया,दुबई,कतार, मलेसिया, जापान, अमेरीकालगायतका देशमा समेत प्रर्दशन गर्ने निर्माणपक्षले जनाएको छ।
नेपालका हलमा माघको दोस्रो साता पछि प्रर्दशन गर्ने बताइएको छ।डोल्पाको मौलिकतालाई झल्काइएको चलचित्र म्हेन्दुको छायाङ्कन नेपालकै प्रशिद्ध शक्तिपीठ त्रिपुरा सुन्दरी मन्दिर,मान्छेको बली दिने इतिहास बोकेको ऐतिहासिक क्षेत्र राजारानी लगायतका प्रमुख पर्यटकीय गन्तव्य स्थलमा गरिएको हो।
डोल्पालीको जीवनशैली र उनीहरुको यथार्त परिदृष्यमा आधारित रहेर छायाँकन गरिएको चलचित्र म्हेन्दुले समग्र हिमाली क्षेत्रको वास्तविकतालाई प्रतिनिधित्व गरेको छ। चलचित्र म्हेन्दुमा डोल्पालीको जनजीवन मात्रै नभई डोल्पाको अनुपम प्राकृतिक सौन्दर्यतालाई समेत पर्दामा उतार्ने प्रयास गरिएको निर्माणपक्षको दावी छ।
आफ्नै ठाउँमा खिचिएको र डोल्पालीको दु:ख, पीडालाई कथात्मक ढङ्गले चलचित्रमा उतारिएकाले डोल्पाली चलचित्र प्रदर्शनको बेग्र प्रतिक्षामा छन्। देशकै सुन्दर पर्यटकीय गन्तव्य भित्रपर्ने डोल्पालाई चलचित्र म्हेन्दुले देश विदेशमा चिनाउने डोल्पालीको अपेक्षा छ। डोल्पामा छायाँकन गरिएको यो दोस्रो चलचित्र हो योभन्दा पहिला क्याराभान फिल्मको छाँयाङ्कन माथिल्लो डोल्पाको जनजीवनमा आधारित रहेर गरिएको थियो।
त्यतिमात्रै नभई भौगोलिक विकटताको कारण सामान्य औषधि उपचार नपाएरै ज्यान समेत गुमाउपर्ने हिमाली महिलाको वास्तविकतालाई समेत चलचित्रले उजागर गर्न खोजेको निर्देशक देव नेपालले जानकारी दिए। नेपालको लेखन तथा निर्देशन रहेको चलचित्र म्हेन्दुलाई करिब एक करोड लागतमा निर्माण गरिएको निर्माता अर्जुनप्रसाद डोटेलले बताए।
मारोन मुभिज एण्ड इन्टरटेन्टमेन्टको व्यानरमा निर्माण गरिएको चलचित्र म्हेन्दुमा स्थानीय कलाकार लक्ष्मण देवकोटा,भोला तिमल्सेना, सोनु राई, रमेश सोडारी, शान्ति घिसिङ्,चन्द्रमनी मुडभरी,कालुराना,बिन्दा थिङ,प्रतिक्षा खतिवडा,एस राज कुमार,बाबुराजा शाक्यलगायतका कलाकारको अभिनय रहेको छ।
रोहित विक्रम कार्कीले छायाङ्कन गरेको चलचित्र म्हेन्दुमा ,द्धन्द निर्देशन राजु किँरातीले गरेका छन् भने बिमल डाँगी, सरोज कोइराला र कुमार लामा योञ्जनले चलचित्रलाई संगीतवद्ध गरेका छन्।