उपराष्ट्रपतिको चियापान मिति परिवर्तन
काठमाडौं : उपराष्ट्रपति कार्यालयले यसअघि सार्वजनिक गरेको चियापानको मिति परिवर्तन गरेको छ।
उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले तिहार, छठ र नेपाल सम्वत्को अवसरमा कात्तिक १६ गते गर्ने भनेको चियापान कार्यक्रमको मिति परिवर्तन भएको हो। उपराष्ट्रपतिको निजी सचिवालयले सूचना सार्वजनिक गर्दै कात्तिक १६ गते नेपाली कांग्रेसको चियापान भएकाले मिति परिवर्तन गरिएको उल्लेख गरेको छ।
‘नेपाली कांग्रेसले समेत २०७५ कात्तिक १६ गते नै जलपान समारोहको आयोजना गरेको सन्दर्भमा सम्माननीय उपराष्ट्रपतिज्यूले आयोजना गर्नुभएको शुभकामना आदन प्रदान तथा जलपान समारोह २०७५ कात्तिक १९ गते सोमबार २ः३० बजे उपराष्ट्रपतिको कार्यालय बहादुर भवनमा आयोजना गर्ने निर्णय गरिएको सार्वजनिक जानकारीका लागि यो प्रेस नोट जारी गरिएको छ’, सूचनामा भनिएको छ।
कांग्रेसको आग्रहमा उपराष्ट्रपति कार्यालयले चियापान कार्यक्रमको मिति परिवर्तन गरेको बताइएको छ।