खक्राैला मूल भन्सारमा स्तरोन्नति
टीकापुर : कैलालीको दक्षिणी सीमानाका खक्रौला मूल भन्सारमा स्तरोन्नति भएको छ। घोषणा भएको तीन महिनापछि खक्रौला छोटी भन्सार मूल भन्सारका स्तरोन्नति भएको हो। स्तरोन्नतिपछि कार्यालय प्रमुखको रूपमा बसन्तकुमार केसी कार्यरत छन्। अधिकृतको नेतृत्वमा १७ जना कर्मचारीको दरबन्दी कायम गरिएको छ।
भन्सार प्रमुख केसीले कामको चापअनुसार दरबन्दी थप गरिने बताए। ‘कामको चाप बढेसँगै आवश्यक परे कर्मचारी पनि थपिँदै जानेछन्’ केसीले भने, ‘भर्खरै मूल भन्सारको रूपमा काम भइरहेकाले काम अनुसार अहिले पर्याप्त जनशक्ति छ।’ गत असारको मन्त्रिपरिषद् बैठकले साउन १ गतेदेखि नै लागू हुने गरी पाँचवटा छोटी भन्सारलाई मूल भन्सारका रूपमा स्तरोन्नति गरेको थियो।
यसअघि नायक सुब्बाको नेतृत्वमा उक्त भन्सार कार्यालय सञ्चालनमा थियो। केसीको नेतृत्वमा हाल तीन जना नायब सुब्बा, एक लेखापाल, एक कम्प्युटर अपरेटर, एक चालक र नौ जना कार्यालय सहयोगी छन्। पहिलो दिनमै चार लाखभन्दा बढी राजस्व संकलन भएको छ।
चोरी तस्करी नियन्त्रण गरी राजस्व संकलनलाई प्राथमिकता दिने रणनीति अख्तियार गरिएको उनले बताए। केसीले सशस्त्र प्रहरीसँगको सहकार्यमा चोरी तस्करी हुने सबै नाकामा कडाई गरिने उल्लेख गरे। भन्सार कार्यालयको सुरक्षाका लागि सशस्त्र प्रहरीले भन्सार गुल्मअन्तर्गत अस्थायी बेसक्याम्प निर्माण गरिसकेको छ।
मूल भन्सारबाट एलसी खोलेर सामान आयात गर्ने, मुद्दा दर्ता गर्ने, पक्राउ गर्नेलगायत काम हुनेछन्। ‘सामान जाँचपासका सबै प्रक्रिया हुनेछन्’, केसीले भने, ‘यो क्षेत्रको आर्थिक विकासका लागि भन्सारको ठूलो भूमिका रहनेछ।’ खक्रौला नाका भारतको सीमावर्ती बजार तिकुनियासँग जोडिएको छ।
व्यवसायीले लामो समयदेखि मूल भन्सार बनाउनुपर्ने माग गर्दै आएका थिए। भन्सार विभागले छोटी भन्सारको स्तरोन्नतिका लागि अघिल्लो वर्ष करिब तीन बिघा जमिन अधिग्रहण गरेको थियो। उक्त जग्गामा यसै वर्ष सुविधा सम्पन्न कार्यालय भवन निर्माण गरिएको छ भने गोदामलगायत संरचना निर्माण गर्ने तयारी हुँदै छ।