चालू खाता र शोधनान्तर घाटा बढ्यो
काठमाडौं : सरकारको चालू खाता घाटा बढेकोे छ। चालू आर्थिक वर्षको साउनमा २५ अर्ब ३८ करोड रहेको यस्तो घाटा भदौमा ३५ अर्ब ५६ करोड रुपैयाँ पुगेको छ। नेपाल राष्ट्र बैंकका अनुसार गत आवको भदौमा यस्तो घाटा १९ अर्ब ७४ करोड थियो।
पेट्रोलियम पदार्थ, सवारीसाधन, औद्योगिक सामग्रीलगायतको आयात उच्च बनेका कारण घाटा बढ्दै गएको छ। पूर्वअर्थसचिव डा.शान्तराज सुवेदीले आयातको तुलनामा निर्यात अत्यन्त कम हुँदा त्यसको असर चालू खातामा परेको बताए।’ चालू आवको पहिलो दुई महिनामा दुई खर्ब ३२ अर्ब ३५ करोडको आयात भएको छ। निर्यात भने १४ अर्ब ७० करोड मात्रै छ। साउन र भदौमा शोधानान्तर घाटा पनि बढेर २५ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ। यस्तो घाटा गत वर्षको सोही अवधिमा पाँच अर्ब ८७ करोड रुपैयाँ थियो।
डलरको मूल्य बढ्दा ऋण भुक्तानीमा धेरै रकम खर्चभइ चालू र शोधानान्तर घाटा वृद्धि भएको हो। चालू खाता बलियो बनाउने मुख्य उपकरण रेमिटेन्स हो। चालू आवमा रेमिटेन्समा वृद्धि भए पनि यसले उच्च आयात थेग्न नसकेको पूर्वसचिव सुवदी बताउँछन्। दुई महिनामा एक खर्ब ५४ अर्ब रेमिटेन्स आएको छ। यो गत वर्षको यसै अवधिको तुलनामा ३३.४ प्रतिशत बढी हो।
विदेशी मुद्रा आउनेभन्दा जाने क्रम बढ्दा चालू खाता र शोधानान्तर घाटामा जान्छन्। घाटा कम गर्न निर्यात बढाउनु पर्छ। चालू खाता र शोधनान्तर स्थिति घाटामा देखिए पनि नगद प्रवाहमा आधारित सरकारको बजेट भने ५५ अर्ब ९३ करोड बचत छ। गत वर्षको भदौमा यस्तो बचत १९ अर्ब १८ करोड थियो। नगद प्रवाहमा आधारित कुल सरकारी खर्च ६६ अर्ब ३३ करोड पुगेको छ। अघिल्लो वर्ष सोही अवधिमा ७२ अर्ब ३८ करोड खर्च भएको थियो।
यसैबीच भदौसम्ममा विदेशी मुद्रा सञ्चिति बढेर ११ खर्ब १७ अर्ब ४६ करोड पुगेको छ। नेपाली रुपैयाँमा बढे पनि अमेरिकी डलरमा भने सञ्चिति घटेको छ। डलरको मूल्य वृद्धिका कारण रुपैयाँमा विदेशी सञ्चिति बढेको हो।