विमान दुर्घटनाको कारण पत्ता लागेन
जकार्ता : सोमबार इण्डोनेसियामा भएको विमान दुर्घटनाको कारण अझै पत्ता लागेको छैन। एक सय ८९ जना यात्रुसहितको विमान जकर्ताबाट उडेको केही समयपछि समुद्रमा खसेको थियो। सबै यात्रुको मृत्यु भएको छ।
मंगलबार दिनभर खोजीकार्य जारी रह्यो। समुद्रको विशाल क्षेत्रमा विमानका टुक्राटुक्री तथा यात्रुका सामान छरिएका छन्। तिनलाई जम्मा गर्ने काम भइरहेको छ। विमानको मुख्य हिस्सा तथा फ्लाइट डेटा रेकर्डर फेला पारिएको छैन।
हालसम्म २६ शव वटा फेला पारिएको छ। तिनलाई पोस्टमार्टमका लागि अस्पताल पठाइएको प्रहरीले जनाएको छ। शव क्षतविक्षत भएकोले पहिचानमा कठिनाइ आउनसक्ने बताइएको छ। यात्रुका परिवारका एक सय ३२ सदस्यबाट शवको पहिचानका लागि डीएनए नमुना संकलन गरिएको छ।
समुद्रमा चार सय माइल वर्गमाइल क्षेत्रमा खोजी भइरकेको छ। खोजमा ३५ वटा जहाज, ५० जना गोताखोरसहित आठ सयभन्दा बढी व्यक्ति परिचालन गरिएको छ। राष्ट्रपति जोको विडोडो आफैँ खोजी दलमा सामेल भएका छन्। मंगलबार उनी तान्जुङ प्रियोकमा पुगे। दुर्घटना क्षेत्रबाट प्राप्त टुक्राटुक्री र सामान सोही स्थानमा जम्मा पारिएको छ।
लायन एयरको फ्लाइट ६१० दुर्घटको कारणबारे यात्रुका आफन्तजन प्रश्न गरिरहेका छन्। बांका टापुको पांकाल पिनाङका लागि उडेको विमान दुर्घटना भएको थियो। सो बोइङ ७३७ म्याक्स ८ नयाँ थियो।
सो विमानले उडेको केही समयपछि नै फर्किने अनुमति मागेको थियो। एयर ट्राफिक कन्ट्रोलले फर्किने अनुमति दिएपछि विमानको सम्पर्क विच्छेद भएको थियो। अघिल्लो दिन सो विमान उडिरहँदा समस्या आएको थियो। एजेन्सी