वैदेशिक रोजगारीका कारण बढ्दै सम्बन्ध बिच्छेद

वैदेशिक रोजगारीका कारण बढ्दै सम्बन्ध बिच्छेद

चौतारा : सिन्धुपाल्चाेककाे जुगल गाउँपालिका–२, गोल्चेका कुर्सी स्याङ्बोले भदौको दोस्रो साता श्रीमतीसँग सम्बन्ध बिच्छेद गराईपाउँ भनी जिल्ला अदालतमा मुद्दा दायर गरे ।

मुलुकी देवानी संहिता लागु भएपछि स्याङ्बोले आफ्नो अनुमती बेगर आफूखुसी वैदेशिक रोजगारीमा गएको भन्दै श्रीमती कल्पना तामाङसँग सम्बन्ध बिच्छेदका लागि मुद्दा दर्ता गराएका हुन् ।

देवानी संहिता कार्यान्वयनमा आएको केही दिनमै उक्त संहिताले श्रीमान पनि सम्बन्ध बिच्छेदका लागि सिधै अदालत जानसक्ने प्रावधानको उपयोग गर्दै स्याङ्बोले मुद्दा दायर गरेका थिए ।

नयाँ ऐन प्रारम्भपछि सम्बन्ध बिच्छेदको मुद्दा लिएर आउने स्याङ्बो पहिलो व्यक्ति भएको अदालतले जनाएको छ । नयाँ संहिता कार्यान्वयनमा आएको दुई महिनामै स्याङ्बो झैँ ११ पुरुषले सम्बन्ध बिच्छेदको मुद्दा लिएर अदालतमा आएका छन् ।

तीन वर्षअघि एक छोरी र श्रीमान छाडेर वैदेशिक रोजगारीमा गएकी श्रीमतीले सामाजिक सञ्जाल मार्फत आफूले अर्को बिवाह गरेको भनी केटासँग बसेको फोटो पठाएर टर्चर दिन थालेपछि सम्बन्ध बिच्छेद गर्नुपरेको उनको फिरादमा उल्लेख छ ।

गोल्चेकै नेत्र दोङले पनि केही साताअघि सम्बन्ध बिच्छेदका लागि अदालतमा मुद्दा दायर गरेका छन् । वैदेशिक रोजगारीमा गएकी श्रीमतीको व्यवहारका कारण आफूले सम्बन्ध बिच्छेद चाहेको उनी बताउँछन् ।

जिल्ला न्यायधीश टीकाराम आचार्यका अनुसार सम्बन्ध बिच्छेदका अधिकांश मुद्दा वैदेशिक रोजगारका कारण आउने गरेको छ । ‘सम्बन्ध बिच्छेदका प्राय मुद्दा वैदेशिक रोजगारका कारण सम्बन्ध बिग्रिएर आएका छन्’, आचार्यले भने, ‘श्रीमान या श्रीमतीमध्ये एक जना वैदेशिक रोजगारीमा गएकाहरुको सम्बन्ध विभिन्न कारणले बिग्रिएर मुद्दा धेरै आउने गरेको उदाहरण भेटिन्छ ।’ अदालतका स्रेस्तेदार लेखनाथ पौडेल भन्छन्, ‘अचेल जिल्लामा सम्बन्ध बिच्छेको मुद्दा डरलाग्दो गरी बढेको छ ।’

जिल्ला अदालतको अभिलेख अनुसार चालु आर्थिक वर्षको लागि अघिल्लो वर्षको जिम्मेवारी सरेको र असोज मसान्तसम्म दर्ता भएका गरी दुई सय दुई थान मुद्दामा ५२ थान सम्बन्ध बिच्छेदका छन् ।

उक्त संख्या कुल जिम्मेवारी सरेका मुद्दाको एक चौथाई भन्दा बढी हो । आर्थिक वर्ष २०७४÷७५ मा मात्रै जिल्ला अदालतमा सम्बन्ध बिच्छेद र घरेलु हिंसाका गरी एक सय ४९ वटा मुद्दा दर्ता भएका छन् ।

दर्ता भएकामध्ये ९० प्रतिशत भन्दा बढी सम्बन्ध बिच्छेदका मुद्दा रहेको स्रेस्तेदार पौडेलले जानकारी दिए । घरमा सँगै बस्न नसक्ने भएपछि सहमतिमै आएर मुद्दा दर्ता गरी भोलीपल्टै मिलापत्रको माध्यमबाट सम्बन्ध बिच्छेद गर्ने प्रवृत्ति पनि बढिरहेको पौडेल बताउँछन् ।

श्रीमान वा श्रीमतीमध्ये एक जना वैदेशिक रोजगारीबाट फर्किएपछि असमझदारी बढेर सम्बन्ध बिच्छेदको अवस्थासम्म पुग्ने गरेको बताइन्छ । अधिवक्ता पुण्य खनालका अनुसार वैदेशिक रोजगारीबाट फर्किएपछि ग्रामीण जनजीवनमा अभ्यस्त नहुने परम्परा पनि एक समस्याको रुपमा देखिएको छ ।
 
वैदेशिक रोजगारीबाट फर्किएपछि वा फर्कनु अघि नै बढेको असमझदारी सम्बन्ध बिच्छेदको अवस्थामा पुग्ने गरेको खनाल बताउँछन् । ‘पूरानो मुलुकी ऐनमा पुरुषले सम्बन्ध बिच्छेद चाहेमा स्थानीय तहदेखि आउनुपर्ने झन्जटिलो प्रावधानका कारण कम पुरुष मात्र अदालत पुग्थे’, खनालले भने, ‘अव देवानी संहिताले विभिन्न चार कारण भएमा पुरुष सिधै अदालत जान पाउने प्रावधान भएकाले मुद्दा अझ बढ्ने सम्भावना रहन्छ ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.