बाबुरामको नजरमा नेकपा कुहिएको फर्सी, ओली दम्भी र गफाडी !

बाबुरामको नजरमा नेकपा कुहिएको फर्सी, ओली दम्भी र गफाडी !

पार्टी बैठकमा संयोजकको राजनीतिक प्रतिवेदन पेस

काठमाडौं : नयाँ शक्ति पार्टीले प्रधानमन्त्री केपी ओलीको स्वभाव गफाडी, अनुत्तरदायी एवं दम्भी देखिएको आरोप लगाएको छ। नयाँ शक्तिका संयोजक तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले संघीय बैठकमा बुधबार पार्टीको राजनीतिक प्रतिवेदन पेस गरेका छन्। उखानटुक्का भनेर जनतालाई भ्रममा पार्न सक्नु नै राजनीतिक कौशल हो भन्ने मनोवैज्ञानिक भ्रमबाट प्रधानमन्त्री ग्रस्त रहेको उनको भनाइ छ।

सरकार जनअपेक्षाअनुसार काम गर्न असफल भएको नयाँ शक्तिको निष्कर्ष छ। सरकार अर्कमण्यता, भ्रष्टाचार एवं यथास्थितिको दलदलमा फसेकाले आफ्नै पार्टीकै नेताकार्यकर्ताबाट आलोचना हुन थालेको उसको विश्लेषण छ। प्रधानमन्त्रीको कार्यशैली र सरकारका गतिविधिले सत्तारूढ नेकपा पनि अधपतनको दिशामा गएको पनि भट्टराईको विश्लेषण छ।

सरकार भित्रैभित्रै कुहिएको फर्सी बाहिरबाट राम्रो देखिएको जस्तो मात्र भएको पनि उनको भनाइ छ। ‘आफूलाई कम्युनिस्ट, सर्वहारावादी, जनवादी, गरिबमुखी, समाजवादी, साम्यवादी आदि भन्न रुचाउनेको पहिलो बहुमतको सरकार बन्दा केही हुन्छ कि भन्ने आशा सर्वसाधारणमा जाग्रित हुनु अस्वभाविक थिएन’, बाबुरामले आफ्नो राजनीतिक प्रतिवेदनमा भनिएको छ, ‘हाम्रो पार्टीलाई राम्रोसंग थाहा थियो कि यिनीहरु भित्रैभित्रै कुहिएको फर्सी बाहिरबाट सगल्तो देखिएका मात्र हुन्। यिनीहरुले जनसमुदायमा भ्रम छर्न र भोट प्राप्त गर्न सके पनि देशको दीर्घकालीन हित र भविष्यका लागि कुनै सार्थक योगदान गर्न सक्ने छैनन्।

प्रधानमन्त्रीले घरघरमा ग्यास पाइप पुर्‍याउने योजना दुईचार घरको गोबरग्यास उद्घाटन गरेर तुष्टिकरण गरेको र केरुङ–काठमाडौं–लुम्बिनी रेलवेको वचन फेसबुकमा जयनगर–जनकपुर रेलवेको फोटो पोस्ट गरेर भुलाउन खोज्ने काम भात्र भएको भट्टराईको आरोप छ।

नेकपाभित्रको गुटबन्दी र स्वार्थ समूहको टक्कर झनै नांगो हुँदै गएको उनको भनाइ छ। सत्ता स्वार्थका लागि जे पनि गर्न सक्ने राजनीतिक दलालका रूपमा नेकपा प्रस्तुत हुन खोजेको उनको टिप्पणी छ। 

लोकतन्त्रका सामान्य मूल्यमान्यता एवं मर्यादालाई समेत ख्याल नगरी सरकार पतनको बाटोमा उद्यत भएको भट्टराईको आरोप छ।

कुन पार्टी कस्ता ?

भट्टराईले पेस गरेको राजनीतिक प्रतिवेदनमा अन्य राजनीतिक शक्तिलाई पुरातन एवं यथास्थितिवादीका रूपमा विश्लेषण गरिएको छ। नेकपालाई एकाकी र एकमानावादीका रूपमा चित्रण गरिएको छ।

कांग्रेसले प्रतिपक्षी धर्म निर्वाह गर्ने नसकेको नयाँ शक्तिको निष्कर्ष छ। सरकारको असफलताबाट अर्को चुनावमा स्वतः सरकारमा फर्किने मुख मिठ्याएर बसेको पार्टीका रूपमा कांग्रेसलाई अथ्र्याइएको छ। 

‘कांग्रेसको विकल्प कम्युनिस्ट र कम्युनिस्टको विकल्प कांग्रेस हुनै सक्दैन’, भट्टराईले भनेका छन्, ‘यी दुवै परम्परावादी दल एउटै सिक्काका दुई पाटो मात्र हुन्।’ राजपा र फोरमलाई क्षेत्रीय दलका रूपमा मात्र सीमित पार्टी रहेको उनको भनाइ छ।

महाधिवशेन एक वर्षपछि !

नयाँ शक्ति पार्टीको महाधिवशेन एक वर्षपछि गर्न भट्टराईले प्रस्ताव गरेका छन्। फागुनमा पार्टी महाधिवशेन गर्ने योजना बनाए पनि तयारी नपुगेकाले एक वर्षपछि गर्नुपर्ने उनको भनाइ छ। बिहीबारसम्म बस्ने संघीय बैठकले भट्टराईको राजनीतिक प्रतिवेदनमाथि निर्णय लिनेछ।  


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.