गाडी किन्न संसद्ले माग्यो थप बजेट

गाडी किन्न संसद्ले माग्यो थप बजेट

काठमाडौं : संघीय संसद् सचिवालयले पदाधिकारी र समिति सभापतिलाई महँगा गाडी किन्न सरकारसँग करोडौं रकम मागेको छ। चढिरहेका गाडी पुराना भएको भन्दै उसले अर्थ मन्त्रालयमा बजेट मागको प्रस्ताव पठाएको हो। सचिवालयले वार्षिक बजेटभन्दा बाहिरबाट रकम मागी गाडी, मोटरसाइकल र कम्युटर खरिद गर्न लागेको हो। नयाँ गाडी राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सेना, उपसभामुख शिवमाया तुम्बाहाम्फे, राष्ट्रियसभा उपाध्यक्ष शशिकला दाहालका लागि किन्न लागेको सचिवालयले जनाएको छ।

राष्ट्रियसभा अध्यक्ष तिमिल्सेनाका लागि १ करोड ७५ लाख, उपसभामुख र उपाध्यक्षका लागि १ करोड २५ लाख पर्ने २ वटा गाडी खरिदको प्रस्ताव अर्थ मन्त्रालयमा पठाइएको छ। राष्ट्रियसभा अध्यक्षले प्रधानमन्त्री कार्यालयले उपलब्ध गराएको गाडी चढिरहेका छन्। प्रतिनिधिसभा, राष्ट्रियसभा र दुवै सदनका संयुक्त समिति सभापति, सत्तापक्ष र विपक्षी दलका नेता, प्रमुख सचेतक र सचेतकका लागि २० वटा स्कारपियो गाडी खरिदको प्रस्ताव सचिवालयले अर्थमा पठाएको छ। प्रतिनिधिसभा समिति सभापतिका लागि ७० लाखका दरले २० वटा गाडी किन्ने सचिवालयको तयारी छ।

सचिवालयले गाडी खरिदका लागि १७ करोडभन्दा बढी रकम अर्थसँग मागेको छ। ‘पुराना गाडी मर्मत गरेर सचिवालयले पदाधिकारी र समिति सभापतिज्यूहरूलाई उपलब्ध गराएको छ,’ संसद् सचिवालयका प्रवक्ता एवं सहसचिव डा. रोजनाथ पाण्डेले भने, ‘तर गाडी पुराना हुँदै गएकाले नयाँ किन्न अर्थसँग रकम माग गरेका हौं।’ पर्याप्त गाडी भएपनि नयाँ र सुविधायुक्त गाडी चाहिने भन्दै समिति सभापतिहरूले दवाव दिएपछि नयाँ खरिदको प्रस्ताव गरिएको सचिवालयका अधिकारीहरू बताउँछन।

कर्मचारीका लागि ३० वटा मोटरसाइकल खरिद गर्ने भन्दै सचिवालयले अर्थसँग रकम माग गरेको छ। कर्मचारीले विगतमा ८० प्रतिशत प्रोत्साहन भत्ता र दैनिक ६ सय ५० खाजा भत्ता लिइरहेका छन्। नयाँ शाखा अधिकृतका लागि मोटरसाइकल किन्न खोजिएको सचिवालयका प्रवक्ता डा.पाण्डेले जानकारी दिए। मोटरसाइकल खरिदका लागि झण्डै एक करोड रकम अर्थसँग मागिएको छ। सचिवालयले समिति बैठक रेकर्डिङका लागि भन्दै ४३ कम्युटर खरिदको प्रस्ताव पनि अर्थमा पठाएको छ। ‘राष्ट्रिय सभाका समितिमा रेकर्डिङ सिस्टम नै छैन,’ प्रवक्ता पाण्डेले भने, ‘नयाँ कम्युटर किनेर रेकर्डिङ सिस्टम राम्रो बनाउन खोजेका छौं।’

विगतको ‘क्यासेट’ सिस्टम रेकर्डिङ झन्झटिलो, अव्यवहारिक भएकाले कम्युटर सिस्टममा जान लागिएको पाण्डेले जानकारी दिए। प्रतिनिधिसभाका १०, राष्ट्रियसभाका ४ र संयुक्त सदनका २ गरी १६ जना समिति सभापतिलाई ल्यापटप किन्ने प्रस्ताव पनि सचिवालयले तयार गरेको छ।

विगतमा संविधानसभामा पाइरहेको प्रोत्साहन भत्ता निरन्तर हुनुपर्ने भन्दै कर्मचारीले दबाब दिएपछि सचिवालयले प्रोत्साहन भत्ता स्वीकृतिका लागि अर्थमा पठाएको फाइल अझै स्वीकृत भएको छैन। अर्थबाट सहमति प्राप्त नभएकाले कर्मचारीको प्रोत्साहन र खाजा भत्ता पनि रोकिएको सचिवालयका अधिकारीहरू बताउँछन्।

सचिवालयले फर्निसिङ, सोफा, टेलिभिजन, कम्युटरलगायतका व्यवस्था गरेर समिति सभापतिका कार्यकक्ष तयारीमा करोडौं खर्च गरे पनि कतिपयले चित्त नबुझेको भन्दै गुनासो गरिरहेका छन्। सभापतिहरूको गुनासो बढ्दै गएपछि सभामुख कृष्णबहादुर महराले मंगलबार समिति सभापतिरुका नयाँ कार्यकक्षको अवलोकन गरेका थिए। सभापतिहरूको कार्यकक्ष बनाउने काम लगभग सकिएको र केही सभापतिका गुनासा सम्बोधन हुने क्रम पनि चलिरहेको सभामुख महराले जनाए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.