पुनर्कर्जामा १६ अर्ब लगानी
काठमाडौं : चालु आर्थिक वर्षको भदौमा राष्ट्र बैंकले १५ अर्ब ८३ करोड रुपैयाँ पुनर्कर्जा दिएको छ। उत्पादनशील क्षेत्रतर्फ लगानी र निर्यात विस्तारमा सहयोग पुर्याउने उद्देश्यले राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई सहुलियत ब्याजमा पुनर्कर्जा दिन्छ। बैंक तथा वित्तीय संस्थाले गत भदौमा पुनर्कर्जामार्फत सात अर्ब १४ करोड लगानी गरेका थिए।
पुनर्कर्जाको माग पछिल्लो समय बढेको राष्ट्र बैंक अनुसन्धान विभाग प्रमुख नरबहादुर थापाले जानकारी दिए। ‘बैंक तथा वित्तीय संस्थाले साधारण पुनर्कर्जा चार प्रतिशत र विशेष तथा निर्यात पुनर्कर्जामा १ प्रतिशत ब्याजमा पाउँछन’, उनले भने, ‘यस्तो कर्जामा बैंक तथा वित्तीय संस्थाले बढीमा साधारणतर्फ ९ प्रतिशत र विशेष तथा निर्याततर्फ साढे चार प्रतिशतभन्दा बढी ब्याज लिन पाउँदैनन्।’
यो व्यवस्थाअनुसार उत्पादनमूलक क्षेत्रमा ऋण प्रवाह गरेका बैंक तथा वित्तीय संस्थाले सस्तो ब्याजमा राष्ट्र बैंकबाट ऋण सुविधा पाउँछन्। यसरी प्राप्त गरेको ऋण राष्ट्र बैंकले तोकेको क्षेत्र र ब्याजदर सीमाभित्र रहेर लगानी गर्नुपर्छ। राष्ट्र बैंकले सामान्यतया एक वर्षका लागि पुनर्कर्जा सुविधा दिँदै आएको छ। कर्जाको प्रकृति र आवश्यकताअनुसार थप एक वर्ष नवीकरण गर्न सकिन्छ। राष्ट्र बैंकले गरेको व्यवस्थाअनुसार केही उत्पादनमूलक क्षेत्रमा प्रवाह भएको पुनर्कर्जा ६÷६ महिनामा पनि नवीकरण गर्नुपर्ने हुन्छ।
राष्ट्र बैंक स्थापना भएको करिब ६ वर्षपछि सहुलियतपूर्ण कर्जा सुविधा कार्यान्वयनमा ल्याएको हो। सोही बेलादेखि राष्ट्र बैंकले उत्पादनशील क्षेत्र, विपन्न वर्ग, निर्यातलगायत क्षेत्रमा सहुलियतपूर्ण कर्जा प्रदान गर्दै आएको छ। राष्ट्र बैंकले साधारण, विशेष, निर्यात, भूकम्पपीडितलगायत क्षेत्रमा विभिन्न दरमा पुनर्कर्जा सुविधा दिने गरेको छ। ‘पछिल्ला वर्ष पुनर्कर्जामा बैंक तथा वित्तीय संस्थाको आकर्षण बढेकाले ऋण प्रवाह वृद्धि भएको छ’, थापाले भने।
उत्पादनशील क्षेत्रतर्फ लगानी र निर्यात विस्तारमा सहयोग पुर्याउने उद्देश्यले राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई सहुलियत ब्याजमा पुनर्कर्जा दिन्छ।
पुनर्कर्जाको ब्याज सस्तो हुने भएकाले गत वर्ष तरलता संकटको बेलामा धेरै बैंक तथा वित्तीय संस्थाले उक्त सुविधा उपयोग गरेको थिए। माग बढेपछि राष्ट्र बैंकले पुनर्कर्जा कोषको आकार ३५ अर्ब बनाउने भएको छ। यो व्यवस्था गर्न लागिएको जानकारी राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत जानकारी गराएको हो।
समीक्षा अवधिमा राष्ट्र बैंकले दुई प्रतिशत ब्याजमा उपलब्ध गराउँदै आएको भूकम्पपीडित आवसीय घर निर्माण पुनर्कर्जामा दुई अर्ब १८ करोड रुपैयाँ उपयोग भएको छ। भदौमसान्तसम्म एक हजार दुई सय ३१ जना लाभग्राहीले सो सुविधा उपयोग गरेका हुन्। गत वर्षको भदौसम्म ९० करोड ४७ लाखमात्रै यस्तो कर्जाको उपयोग भएको थियो।
राष्ट्र बैंकले चालु आवको साउन अन्तिम साताबाटै भूकम्पपीडितको कर्जाका फाइल नबुझेका कारण कम देखिएको हो। यदि राष्ट्र बैंकले भदौमा पनि भूकम्पपीडितको कर्जा सुविधाको फाइल बुझेको भए यो अझ बढ्ने थियो। असोज अन्तिम साता भने यस्तो फाइल बुझेको छ।