नामसँगै दाम कमाउँदै युवा क्रिकेटर सन्दीप
काठमाडौं : नेपाली युवा क्रिकेटर सन्दीप लामिछाने अस्ट्रेलियाको प्रतिष्ठित बिग बास लिग क्रिकेटका लागि अनुबन्धित भएको समाचारले खेल जगत्लाई फेरि तताएको छ। ६ महिनाअघि मात्र इन्डियन प्रिमियर लिग (आईपीएल) खेल्ने पहिलो नेपाली क्रिकेटर बनेका १८ वर्षीय यी लेगस्पिनरको बिग बासमा ‘डेब्यु’को समाचारले नेपाली खेल क्षेत्रलाई तरंगित पारेको हो।
आईपीएलमा दिल्ली डेयरडेभिल्सले सन्दीपका लागि २० लाख भारतीय रुपैयाँ खर्चिएको थियो। दिल्लीको अन्तिम तीन खेलमा पाँच विकेट लिएर उनले आफ्नो बलियो प्रभाव छाडेका थिए। त्यसयता सन्दीपले छोटो अवधिमा एकपछि अर्को छलाङ मारिरहेका छन्। उनलाई विश्वका अन्य चर्चित लिगमा अनुबन्ध गर्न विदेशी क्लबहरूको होडबाजी नै चलेको छ। सँगसँगै सन्दीपको आम्दानीले पनि सफलताको सिँढी चढिरहेको छ। नामसँगै दाम पनि कमाइरहेका उनी ६ महिनामै करोडपति नेपाली खेलाडीको सूचीमा दरिन पुगेका छन्।
केही महिनाअघि विश्व–११ को सूचीमा परेका सन्दीपलाई अहिले बिग बास क्रिकेट लिगका लागि अस्ट्रेलियाको मेलबर्न स्टार्सले अनुबन्ध गरेको छ। उनी यो लिग खेल्ने एसोसिएट राष्ट्रकै पहिलो खेलाडी बन्नेछन्। मेलबर्नबाट खेल्दा उनको पारि श्रमिक कम्तीमा ६० हजार अमेरिकी डलर हुने अनुमान गरिएको छ। यद्यपि आईपीएलमा जस्तो बिग बासमा उनको निश्चित पारि श्रमिक तोकिएको छैन। सन्दीपका व्यवस्थापक रमन सिवाकोटीका अनुसार उनले बिग बासमा खेल्ने खेलका आधारमा मात्र रकम पाउने छन्।
सन्दीपले बिग बासअघि बंगलादेश प्रिमियर लिग (बीपीएल)समेत खेल्नेछन्। बीपीएलमा सिलेट सिक्सर्सबाट खेल्न लागेका सन्दीपले त्यहाँ पनि ठूलो रकम हात पार्नेछन्। सन्दीपले यसअघि क्यानडामा ग्लोबल टीट्वेन्टी क्रिकेट लिग खेल्दा ४० हजार अमेरिकी डलर पाएका थिए। सन्दीप भर्खर अफगानिस्तान प्रिमियर लिग (एपीएल) खेलेर स्वदेश फर्किएका छन्। सन्दीपलले एपीएलमा नान्गहरबाट एक खेल खेलेका थिए। त्यहाँ उनको पारि श्रमिक १५ हजार अमेरिकी डलर थियो।
उनी शुक्रबारदेखि सुरु भएको पोखरा प्रिमियर लिग (पीपीएल)मा विराटनगर टाइटन्सबाट खेल्दैछन्। उनी टोलीका ‘मार्की’ खेलाडी हुन्। सन्दीपले यसअघि क्यारेबियन प्रिमियर लिग पनि खेलेका थिए। त्यहाँ उनको पारिश्रमिक पाँच हजार अमेरिकी डलर थियो। आगामी नोभेम्बरमा यूएईको शारजहामा आयोजना हुने टी–१० लिगमा केरला किङ्समा अनुबन्धित सन्दीपले त्यहाँ खेल्दा ३० हजार अमेरिकी डलर पारिश्रमिक पाउने छन्।
हालै मलेसियामा सम्पन्न सन् २०२० मा अस्ट्रेलियामा आयोजना हुने आईसीसी टीट्वेन्टी विश्वकपअन्तर्गत पहिलो चरणको एसियाली छनोटमा उनले सर्वाधिक विकेट लिने नेपाली खेलाडीको नयाँ कीर्तिमान बनाएका थिए। उनले एउटै प्रतियोगिताको ६ खेलमा २४ विकेट लिएका थिए। विश्वचर्चित ठूला लिगमा एकपछि अर्को अनुबन्धनको होडबाजी चलेपछि सन्दीपको खेलतालिका मिलाउन व्यवस्थापक रमनलाई समेत अहिले भ्याइनभ्याइ छ।