सेजमा उद्योग स्थापना सुरु
भैरहवा : भैरहवामा रहेको विशेष आर्थिक क्षेत्र (सेज) मा उद्योग स्थापना सुरु भएको छ। उद्योगीले सम्झौता गरेर भू–बहाल शुल्क बुझाएसँगै उद्योग स्थापना सुरु गरेका हुन्। सेजमा उद्योग स्थापनाका लागि २४ वटा उद्योगले सम्झौता गरेका थिए। तर, २४ मध्ये ६ वटा उद्योगले भू–बहाल शुल्क नबुझाएपछि सेजले उनीहरूसँग भएको सम्झौता खारेज गर्दै पुनः उद्योग स्थापनाका लागि नयाँ आवेदन माग गरेको छ। बाँकी भू–बहाल शुल्क बुझाएका उद्योगले पूर्वाधार निर्माणको डिजाइनलगायत कार्य सुरु गरिसकेको सेज प्राधिकरणका प्रवक्ता सुन्दर थापाले जानकारी दिए।
‘उद्योग स्थापनाका लागि उद्योगी सम्झौता गरेर आन्तरिक तयारीमा जुटिसकेका छन्’, उनले अन्नपूर्ण पोस्ट्सँग भने, ‘सम्भवत तिहारपछि उद्योग स्थापनाका लागि भौतिक पूर्वाधार निर्माणको क्रम बढ्नेछ।’ हाल सेजमा शक्ति मिनरल्स उद्योगले भौतिक पूर्वाधारको निर्माण धमाधम गरिरहेको छ। मिनरल्स उद्योगले तीन महिनाभित्र उद्योग सञ्चालनमा ल्याउने उनले बताए। सम्झौता गरेका उद्योगले एक वर्षभित्र आफ्नो व्यावसायिक उत्पादन सुरु गरिसक्नुपर्ने भएकाले सेज सञ्चालनमा आउन अब समय नलाग्ने उनको भनाइ छ।
सेज पूर्णरूपमा सञ्चालनमा आउँदा झन्डै पाँच हजार जनाले रोजगारी पाउने र १० अर्बभन्दा बढीको लगानी हुने प्राधिकरणले जनाएको छ। सेजमा उद्योगको पूर्वाधार निर्माणका लागि आवश्यक विद्युत्को समेत प्रबन्ध मिलाइएकाले पूर्वाधार निर्माणमा ढिलाइ नहुने उनले बताए। उनले सेजमा पूवार्धार निर्माणका लागि एक मेगावाट विद्युत् आवश्यक रहे पनि हाल ६ मेगावाट विद्युत् उपलब्ध रहेको जानकारी दिए।
यस्तै ६ वटा सम्झौता खारेज भएको उद्योगमध्ये एउटा किरण सुज म्यानुफ्याक्चर्स उद्योग पनि हो। यो उद्योगले आफ्नो पुरानो उद्योगको मेसिन तथा औजार सेजमा लैजान पाउनुपर्ने माग गर्दै आएको छ। तर, पुरानो मेसिन लैजानका लागि सेजको ऐन बाधक बनेको छ। किरण सुजको हकमा उद्योग मन्त्रालयमा एउटा कार्यदल गठन भएको छ। गठन भएको कार्यदलले प्रतिवेदन पेस गरेपछि उक्त प्रतिवेदनमाथि मन्त्रिपरिषद्ले छलफल गरेर किरण सुजलाई सेजमा पुरानै मेसिनले उद्योग सञ्चालन गर्न दिने÷नदिने विषयमा मन्त्रिपरिषद्ले निर्णय गर्ने प्रवक्ता थापाले बताए।
मन्त्रिपरिषद् निर्णयपश्चात खारेज भएको उद्योगको स्थानमा आवदेन दिएका मध्ये ६ वटा उद्योगसँग पनि सम्झौता हुने उनले बताए। विशेष आर्थिक क्षेत्रमा विशेष गरी वातावरणलाई असर नगर्ने खालका उद्योग सञ्चालन हुनेछन्। सेजमा खाद्य तथा कृषिजन्य उद्योग, हर्बल प्रोडक्ट, छालाका वस्तु, तयारी पोसाक, गलंैचा तथा ऊनीका सामान, पश्मिना तथा रेशम, हातेकागजका वस्तु गरी १७ किसिमका उद्योग रहनेछन्।
सरकारले विशेष आर्थिक क्षेत्र देशमा भएका रुग्ण तथा नेपाली बजारमा उत्पादन भएर पनि विदेशमा माग बढी भएका सामान उत्पादन गर्ने उद्योगलाई प्रोत्साहन गर्न ल्याएको नीति हो। यो क्षेत्रमा स्थापना हुने उद्योगका लागि प्रारम्भिक आधारभूत विकास निर्माण काम सरकारले नै निर्माण गर्छ। यो क्षेत्रमा स्थापना भएका जुनसुकै उद्योगले आफ्नो उत्पादनका ७५ प्रतिशत सामान विदेश निर्यात गर्नुपर्छ।
उद्योगभित्रका कर्मचारीले केही निश्चित वर्षसम्म हड्ताल तथा आन्दोलन गर्न र उद्योग बन्द गराउन पाउँदैनन्। यसका साथै उद्योगले विदेशमा आफ्नो सामान निर्यात गर्दा कुनै पनि भन्सार कर तिनु पर्दैन भने विदेशबाट उद्योगका लागि आवश्यक कच्चा पदार्थ खरिदमा भन्सार छुट हुन्छ। यसका कारण स्वदेशमा उत्पादन भएका वस्तु विदेशमा निर्यात हुनाले बढीभन्दा बढी विदेशी मुद्रा आर्जन गरी देश समृद्ध बनाउने सरकारको उद्देश्य छ। ५२ बिघामा फैलिएको सेजमा ६८ वटा प्लट छन्।