४० वर्षमा ६० प्रतिशत जीवजन्तु घटे

४० वर्षमा ६० प्रतिशत जीवजन्तु घटे

गत चार दशकमा मानिसका कारण वन्यजन्तुको संख्या ६० प्रतिशतले घटेको विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) ले जनाएको छ। प्रदुषण, वनविनाश, जलवायु परिवर्तनजस्ता कारणले ती जीवजन्तु मारिएका हुन्। मानिसका कारण जीवजन्तु मासिएसँगै मानव सभ्याता नै संकटमा पर्नसक्ने चेतावनी वैज्ञानिकहरुले दिएका छन्।

मानिसका लागि आवश्यक खानाको बढ्दो उत्पादन, उर्जा, जमिन र पानीको बढ्दो मागका कारण यस्तो परिवर्तन भइरहेको हो। दक्षिण र मध्य अमेरिकामा हाड भएका जन्तुको संख्यामा नाटकीय कमी आएको छ। १९७० को तुलनामा अहिले यस्तो जीवको संख्या ८९ प्रतिशत कम भएको छ।

प्लास्टिक प्रदुषणका कारण समुद्री जीवका प्रजाति पनि जोखिममा छन्। तालतलैया, नदी र सिमसारमा बस्ने जीव पनि १९७० को तुलनामा ८३ प्रतिशतले कम भएका छन्। ‘पृथ्वीले सामूहिक प्रजाति लोपकै दरमा आफ्नो जैविक विविधता गुमाइरहेको छ,’ डब्लुडब्लुएफको लिभिङ प्लानेट रिपोर्टमा भनिएको छ। सो रिपोर्ट मंगलबार सार्वजनिक भएको हो। रिपोर्टले दिगो विकासको नयाँ लक्ष्य तय गर्न नीति निर्माताहरुलाई आह्वान गरेको छ। यस्तो रिपोर्ट हरेक दुई वर्षमा प्रकाशित हुन्छ। यसले पृथ्वीमा वन्यजन्तुको अवस्थाको मूल्यांकन गर्छ।

रिपोर्टअनुसार हाल पृथ्वीको तीन चौथाई जमिनलाई मानवीय गतिविधिले प्रभावित तुल्याएको छ। खेतीपातीका लागि जीवजन्तुको प्राकृतिक बासस्थान नष्ट गर्दा वन्यजन्तुमा सबैभन्दा बढी असर परेको हो। पृथ्वीको एक चौथाई जमिन मात्र मानवीय गतिविधिको प्रभावबाट मुक्त छ। सन् २०५० सम्ममा त्यस्तो जमिन १० प्रतिशतमा खुम्चिने चेतावनी पनि दिइएको छ।

वन्यजन्तुको संख्या घट्ने दोस्रो कारण हो, खानाका लागि जीवजन्तु मार्नु। मानिसले खानका लागि मारेकै कारण तीन सय प्रजातिका स्तनधारी लोप हुने खतरामा छन्। त्यसैगरी रासायनिक प्रदुषणका कारण पनि प्रजाति मारिइरहेका छन्।

डब्लुडब्लुएफले ‘प्रकृति र मानिसका लागि नयाँ विश्वाव्यापी सम्झौता’ गर्न आह्वान गरेको छ। विश्वभरका चार हजार प्रजातिको अध्ययनपछि यो रिपोर्ट तयार पारिएको हो। विश्वभरका ५९ वैज्ञानिकले रिपोर्ट तयार गर्न योगदान दिएका थिए। खानाको उपभोग र स्रोतको अत्यधिक दोहनका कारण अर्बौँ वर्षमा तयार भएको जीवनको संरचना नास हुँदै गएको रिपोर्टमा उल्लेख छ।

‘वन्यजन्तुको संख्यामा डरलाग्दो गिरावट आएको छ। हामीले पृथ्वीलाई अत्याधिक दबाब दिइरहेका छौँ, यो त्यसैको अन्तिम सूचक हुनसक्छ,’ डब्लुडब्लुएफका महानिर्देशक मार्को ल्याम्बर्टिनीले भनेका छन्। ‘हामी अहिलेको जस्तो विध्वंसक उत्पादनको मोडेल र जीवनशैलीलाई अब पनि बेवास्ता गर्न हुँदैन,’ ब्याम्बर्टिनी भन्छन्। ‘अनेकौँ अन्तर्राष्ट्रिय अध्ययन भएका छन्। संरक्षण र जैविक विविधताको दीगो प्रयोग अहिलेको विश्वको मुख्य प्राथमिकता हो भनेर नीतिगत सहमति पनि भएका छन्। तैपनि जैविक विविधताको क्षयीकरण हुने प्रक्रिया रोकिएको छैन,’ रिपोर्टमा भनिएको छ।

‘हामी निद्रामै जोखिमतर्फ बढिरहेका छौँ,’ डब्लुडब्लुएफका एक निर्देशक माइक ब्यारेट भन्छन्, ‘यदि मानिसको संख्या ६० प्रतिशतले कम हुने हो भने त्यो उत्तर अमेरिका, दक्षिण अमेरिका, युरोप, अफ्रिका, चीन र ओसेनियालाई खाली गराएबराबर हुन्छ।’ यसअघिका विभिन्न अध्ययनले पनि जैविक विविधता नास हुँदै गएको पुष्टि गरिसकेका छन्। थुप्रै वैज्ञानिकले छैठौँ सामूहिक प्रजाति लोप सुरु भएको बताएका छन्। –एजेन्सी


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.