देवानी संहिता कार्यान्वयपछि बढ्यो सम्बन्धबिच्छेद
चौतारा : जुगल गाउँपालिका–२, गोल्चेका कुर्सी स्याङ्बोले भदौ दोस्रो साता श्रीमतीसँग सम्बन्धबिच्छेद गराई पाउँ भनी जिल्ला अदालतमा मुद्दा दायर गरेका छन्। मुलुकी देवानी संहिता लागू भएपछि स्याङ्बोले अनुमतिबिनै आफूखुसी वैदेशिक रोजगारीमा गएको भन्दै श्रीमती कल्पना तामाङसँग छुट्टिन खोजेका हुन्।
देवानी संहिता कार्यान्वयनमा आएको केही दिनमै श्रीमान् पनि सम्बन्धबिच्छेदका लागि सिधै अदालत जान सक्ने प्रावधानको उपयोग गर्दै स्याङ्बोले मुद्दा दायर गरे। नयाँ ऐन प्रारम्भपछि यस्ता मुद्दा लिएर आउने स्याङ्बो पहिलो व्यक्ति भएको जिल्ला अदालतले जनाएको छ। नयाँ संहिता कार्यान्वयनमा आएको दुई महिनामा उनीजस्तै ११ पुरुषले सम्बन्धबिच्छेदको मुद्दा दर्ता गराएका छन्।
तीन वर्षअघि एक छोरी र श्रीमान् छाडेर वैदेशिक रोजगारीमा गएकी तामाङले सामाजिक सञ्जालमार्फत आफूले अर्को विवाह गरेको भनी केटासँग बसेको फोटो पठाएर तनाव दिन थालेपछि सम्बन्ध तोड्नु परेको उनको फिरादमा उल्लेख छ। गोल्चेकै नेत्र दोङले पनि सम्बन्धबिच्छेदका लागि अदालतमा मुद्दा दायर गरेका छन्। वैदेशिक रोजगारमा गएकी श्रीमतीको व्यवहारका कारण आफूले पनि सम्बन्धबिच्छेद चाहेको उनले बताए।
अदालतले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा न्यायाधीश टिकाराम आचार्यले सम्बन्धबिच्छेदका अधिकांश मुद्दा वैदेशिक रोजगारीका कारण आउने गरेको जानकारी दिए। ‘प्रायः यस्ता मुद्दा वैदेशिक रोजगारका कारण सम्बन्ध बिग्रिएर आएका छन्’, आचार्यले भने, ‘ श्रीमान् या श्रीमतीमध्ये एकजना वैदेशिक रोजगारीमा गएकाको सम्बन्ध बिग्रिएर मुद्दा धेरै आउने गरेको पाएका छौं।’
अदालतका स्रेस्तेदार लेखनाथ पौडेलका अनुसार पछिल्लो समय जिल्लामा सम्बन्धबिच्छेदको मुद्दा डरलाग्दो गरी बढेको छ। अभिलेखअनुसार चालु आर्थिक वर्षका लागि अघिल्लो वर्षको जिम्मेवारी सरेको र असोज मसान्तसम्म दर्ता भएका गरी दुई सय दुई थान मुद्दामा ५२ थान सम्बन्धबिच्छेदका छन्। उक्त संख्या कूल जिम्मेवारी सरेका मुद्दाको एक चौथाई भन्दाबढी हो। २०७४÷७५ मा मात्रै जिल्ला अदालतमा सम्बन्धबिच्छेद र घरेलु हिंसाका गरी एक सय ४९ वटा मुद्दा दर्ता भएका छन्। जसमध्ये ९० प्रतिशत भन्दाबढी सम्बन्धबिच्छेदका रहेको उनले बताए।
‘मुद्दा आएपछि पहिलो प्रयास मेलमिलापको हुनेछ’, पौडेलले भने, ‘तर सम्बन्ध स्थापित गराउन सकेको उदाहरण नै छैन।’ अधिवक्ता पुण्य खनालले वैदेशिक रोजगारीबाट फर्किएपछि वा फर्कनुअघि नै बढेको असमझदारी सम्बन्धबिच्छेदको कारण भएको बताए। ‘पुरानो मुलुकी ऐनमा पुरुषले सम्बन्धबिच्छेद चाहेमा स्थानीय तहदेखि आउनु पर्ने झन्झटिलो प्रावधानका कारण कम पुरुषमात्र अदालत पुग्थे’, उनले भने, ‘अबको देवानी संहिताले विभिन्न चार कारण भएमा पुरुष सिधै अदालत जान पाउने प्रावधान भएकाले मुद्दा अझ बढ्ने सम्भावना छ।’