ओली सरकारकै कारण संघीयता धरापमा छ : नेता कोइराला
गाईघाट : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेतृत्वको अकर्मण्यता र सम्वादहिनताले पार्टी चरम गुटबन्दीमा फसेको बताएका छन् ।
नेपाल प्रेस युनियन उदयपुरले बिहीबार गाईघाटमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै कोइरालाले सबै पंक्षलाई मिलाएर लैजाने समयमा पार्टी नेतृत्वले संम्वादका ढोका बन्द गर्दा र विवेक नपुर्याउँदा गुटबन्दी मौलाएको दावी गरे ।
उनले पार्टी नेतृत्वलाई फराकिलो दृष्टिकोणले सबैलाई समेट्न पनि आग्रह गरेका छन् । साथै नेतृत्व परिवर्तन नगरी कांग्रेस सुध्रन नसक्ने उनको दावी छ । कोइरालाले २०७६ साल फाल्गुण महिनाभित्र कुनै पनि हालतमा कांग्रेसले महाधिवेशन गर्न जरुरी रहेको जिकिर गरेका छन् । नत्र लोकतन्त्र र गणतन्त्र धरापमा पर्ने निश्चित भएको ठोकुवा गरेका छन् ।
यसबाहेक कांग्रेस केन्द्रीय सदस्य कोइरालाले वर्तमान सरकारप्रति कटाक्ष गर्दै दुईतिहाई बहुमतको ओली सरकार असफल भइसकेको दावी गरे । प्राकृतिक स्रोत व्यवस्थापन, बित्त आयोग, अन्तरप्रदेश परिषद् निर्माण, प्रदेशस्तरीय प्रहरी र प्रशासनको व्यवस्थापन लगायत काम सरकारले गर्न नसक्दा संघीयता नै असफल हुने अवस्था आउन लागेको औंल्याए ।
कोइरालाले भने, ‘वर्तमान सरकारका सबै तहबाट अराजकता बढेकाले संघीयता धरापमा परेको छ । नेपाल प्रहरीको संरचना संघीय सरकारको मातहतमा राखेर प्रदेश प्रहरी ऐन बनाउन नदिनु, प्रदेशमा प्रयाप्त कर्मचारी दिन र पठाउन नसक्नु, कर बढाउनु यो सरकारको ठूलो कमजोरी हो ।’