प्रधानमन्त्रीको स्वास्थ्य अपडेट : अस्पतालले भन्यो- 'छिट्टै सामान्य अवस्थामा'
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली छिट्टै सामान्य अवस्थामा फर्किने अस्पतालले जनाएको छ। अस्पतालले बिहीबार बिहान १० बजे विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको स्वास्थ्यस्थिति 'सन्तोषजनक रहेको' जानकारी दिएको हो।
मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरका कार्यकारी निर्देशक प्रा.डा.उत्तमकृष्ण श्रेष्ठद्वारा जारी विज्ञप्तिमा बिहान गरिएका स्वास्थ्य परीक्षणका रिपोर्टहरू सामान्य रहेको जनाइएको छ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले ट्विटरमा विज्ञप्ति सेयर गर्दै प्रधानमन्त्रीको स्वास्थ्य अवस्था 'लगभग सामान्य' देखिएको जनाएका छन्।
ओलीको उपचारको नेतृत्व डा. अरुण सायमीले गरेका छन् । त्यसैगरि निजी चिकित्सक डा. दिव्या सिंह र अर्का चिकित्सक सन्तकुमार दास ओलीको उपचारमा जुटेका छन् ।