पोखरा प्रिमियर लिग : फेरि हार्यो बुटवल, धनगढी २० रनले विजयी
काठमाडौँ : पोखरा प्रिमियर लिग अन्तर्गत विहीवार भएको दोस्रो खेलमा पनि बुटवल ब्लास्टर्सले हार ब्यहोरेको छ । आजको दोस्रो खेलमा बुटवल धनगढीसँग २० रनले पराजित भएको हो ।
यससँगै प्रतियोगिताको समूह चरणको अंक तालिका रोमाञ्चक बनेको छ। बुटवललाई लगातार दोस्रो हार चखाउने टस जितेर पहिले ब्याटिङ गरेको धनगढीले २० ओभरमा ४ विकेट गुमाउदै एक सय ६१ रन बनाएको थियो ।
जितका बाबजुद धनगढीको ओपनिङ राम्ररी चल्न सकेन । १४ रनमै पहिलो विकेट गुमाएको धनगढीले ३९ रनमा तीन विकेट गुमायो । त्यसबेलासम्म दिलिप नाथ र सुबिन्धु पाण्डेले व्यक्तिगत १०-१० रनमा आउट भए । अघिल्ला खेलमा लय समातेका विदेशी खेलाडी पिटर ट्रेगो १४ रनमै आउट भए ।
धनगढीको पारी सम्हाल्ने क्रममा चौथो विकेटका लागि कप्तान दीपेन्द्र ऐरी र डेन लरेन्सले सतकीय साझेदारी गरे । दुवैले एक सय ८ रनको शानदार साझेदारी गरे ।
यो प्रतियोगिताको अहिलेसम्मकै ठुलो साझेदारी हो । लरेन्स ५२ रनमा आउट भएको अवस्थामा धनगढीले १४७ रनमा चौथो विकेट गुमाउन पुग्यो । दीपेन्द्रले नटआउट रहँदै ५६ रन बनाए । अन्तिममा सौरभ खनालले चार बलमा १३ रन हानेपछि धनगढीले गतिलो स्कोर बनायो । उता बलिङतर्फ भने विपिन खत्रीले दुई विकेट लिए ।
जवाफी व्याटिङमा उत्रेको बुटवल २० ओभरमा ६ विकेट गुमाउँदै एक सय ४१ रनमै समेटियो । सुरुदेखि नै कम्जोर सावित भएको बुटवलले ८ रनमै पहिलो विकेट गुमाउन बाध्य भयो । लगातार विकेट गुमाएको बुटवलले ६४ रनको अवस्थामा ५ विकेट गुमाइसकेको थियो ।
बुटवलका लागि चिराग सुरीले सर्वाधिक ७९ रन बनाए । बुटवलका रोहन मुस्तफा २० रनमा आउट भए । अर्कातिर भरपर्दा भनिएका सागर पुनले केबल एक रन बनाए । भीम सार्की ५ रनमा पेभेलियन जाँदा शंकर राना शून्यमै फर्किए । बुटवलका सिद्धान्त लोहनी १२ रनमा पेभेलियन गए । यो खेलपछि अंक तालिकामा ५ टिमको चार-चार अंक भएको छ ।