क्यान्सर उपचार अन्तर्राष्ट्रियस्तरको बनाउन कार्यशाला
काठमाडौं : पाठेघर मुखको क्यान्सरसम्बन्धी नेपालमा भइरहेको उपचार र प्रविधिलाई अन्तर्राष्ट्रियस्तरको दाँजोमा पुर्याउन राजधानीमा तीनदिने कार्यशाला गोष्ठी बिहीबार सुरु भएको छ।
नेपाल अर्बुदरोग निवारण संस्था र भक्तपुर क्यान्सर अस्पतालले अमेरिकन सोसाइटी अफ क्लिनिकल अन्कोलोजीसँगको सहकार्यमा उक्त कार्यशाला गोष्ठी भएको हो।
गोष्ठीमा पाठेघर मुखको क्यान्सरको उपचारमा संयुक्त राज्य अमेरिका, चीन र भारतसँगै नेपाल भइरहेको अभ्यास र नयाँ प्रविधिबारे कार्यपत्र प्रस्तुत गरिने छ।
गोष्ठीको साइटिफिक संयोजक एवं भक्तपुर क्यान्सर अस्पतालका मेडिकल डाइरेक्टर प्रा.डा. ऋषिकेशनारायण श्रेष्ठले पाठेघर मुखको क्यान्सरको उपचारमा अमेरिका, चीन र भारतमा भइरहेको अभ्यास र प्रविधि सँगसँगै नेपाललाई पनि पुर्याउने उद्देश्यले कार्यशाला गरिएको जानकारी दिए।
उनका अनुसार गोष्ठीमा अमेरिका र भारतका पाँचपाँच, चीनका तीन र नेपालका २६ जना विशेषज्ञ चिकित्सकहरुले ३० वटा फरकफरक कार्यपत्र प्रस्तुत गर्नेछन्।
पाठेघर मुखको क्यान्सर नेपालमा महिलालाई हुने क्यान्सरमध्ये पहिलो नम्बरमा छ। त्यसमाथि नेपालमा ढिलो उपचारमा आउने भएकाले यसबाट हुने मृत्युदर पनि बढी रहेको क्यान्सर रोग विशेषज्ञ चिकित्सक बताउँछन्।
जनचेतनाकै अभावले क्यान्सर बिरामीहरु ढिलो आउने गरेको गोष्ठीकी संयोजक डा. एलिजा श्रेष्ठले बताइन्।
‘सुरुकै अवस्थामा पाठेघरको मुखको क्यान्सरको पहिचान भए उपचारबाट निको हुन्छ’, उनले भनिन्, ‘तर हामीकहाँ ढिलो गरी अस्पताल पुग्छन्। जसले गर्दा उपचार महंगो हुन जान्छ।’
उनले जतिसक्दो चाँडो उपचारमा आउने वातावरण बनाउने तथा पाठेघरको क्यान्सर हुने अवस्थाका अन्त्य गर्नेबारे गोष्ठी केन्द्रित हुने जानकारी दिइन्।
विकसित देशहरुमा पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप प्रयोगमा आइसकेको छ। ती देशहरुले उक्त खोप निःशुल्कसमेत गरेका छन् तर नेपालमा प्रयोगको रुपमा मात्रै उक्त खोप आएको छ। साथै उक्त खोप महंगो भएकाले सर्वसाधारण महिलाले प्रयोग गर्न सकिरहेका छैनन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. सुशीलनाथ प्याकुरेलले कार्यशाला गोष्ठी उद्घाटन गर्दै सरकारले पनि पाठेघर मुखको क्यान्सरविरुद्धको खोपको सहज प्रयोगतर्फ ध्यान दिने वचन दिए।खोप महंगो भए पनि आवश्यकताअनुसार त्यसलाई प्रयोगमा ल्याइने उनको भनाइ थियो।
‘संविधानमै आधारभूत स्वास्थ्य सेवालाई मौलिक हक मानिसकेको छ’, उनले भने, ‘त्यसैले अब क्यान्सरबाट डराइहाल्नुपर्ने अवस्था छैन।’
कार्यक्रममा अमेरिकन सोसाइटी अफ क्लिनिकल अन्कोलोजीका कार्यक्रम संयोजक प्रा.डा. लिनस चुवाङले सुरुकै अवस्थामा क्यान्सरको पहिचान भए उपचारबाट निको हुने र पहिल्यै खोप दिन सकिए पाठेघरको मुखको क्यान्सरको निर्मूल गर्न सकिने बताए।
उनले नेपालमा पाठेघरको मुखको क्यान्सरको क्षेत्रमा सहयोग गर्न आफूहरुको तयार रहेको वचन दिए।
नेपालमा आठवर्षपछि दोस्रोपटक पाठेघरको मुखको क्यान्सरसम्बन्धी कार्यशाला गोष्ठी भएको हो। सन् २०१० मा चितवनको भरतपुरस्थित वीपी मेमोरियल क्यान्सर अस्पताल र अमेरिकन सोसाइटी अफ क्लिनिकल अन्कोलाजीको संयुक्त आयोजनमा पाठेघरको मुखको क्यान्सरको कार्यशाला गोष्ठी भएको थियो।