फेरिएको गाउँ
प्रत्येक वर्ष दसैंमा अघिपछिभन्दा अलि लामै समय गाउँमा बस्ने मेलेमेसो जुर्छ। यसपालि गाउँ जाँदा दसैंको टीकाको दिन पनि किसानहरू धान काट्न व्यस्त भएको देखियो। निश्चित समयमा कार्यालयको काम गरेर सुस्ताउने बानी भएका हामीलाई किसानहरूले गरेको अहोरात्र परि श्रमले गिज्याएझैं लाग्यो।
मेरो गाउँ दाङदेउखुरीको छुटकी घुम्नामा करिब ५ दर्जन घर छन्। एकाध घरबाहेक सबै पक्की भएको देख्दा गाउँको मुहार पूरै फेरिएझैं लाग्यो। पुरानो घरको मौलिकता अब गाउँमा रहेन। गाउँको अगुवा बरघर र गाउँको संरक्षक गुरुबा बाहेकको हातबाट टीका लगाउनेहरूको निधार कम हुँदै गएको देखियो। अनि दसैँमा नाचिने परम्परागत सखिया, झुमरा नाचको मादलको ताल, मञ्जिराको छन–छन सुन्न पाइएन।
बरु युवा क्लबहरूको संयोजनमा हुने गाउँको मध्य भागमा मञ्च निर्माण गरेर डीजे घन्काउँदै कर्कश ध्वनिमा गीत घन्काउँदै डिस्कोमा रमाउनेको भीड बढ्दै गएको पो देखियो। यसले घर निर्माणको मौलिकता हराउने क्रम बढेसँगै संस्कृति पनि खुम्चिँदै गएको आभास भयो।
पहिले गाउँमा जाँदा मोही, कागती–चिनीको सर्वतले स्वागत गर्थे। अब ‘कोक कल्चर’ले साम्राज्य जमाइसकेको रहेछ। गाउँको घरबना मद (रक्सी)को ठाउँमा ‘बियर कल्चर’ छ्यालब्याल देखियो। युवाहरू तासको पत्ती फाल्दै बियरको चुस्कीमा रमाउँदै गरेको देख्दा मन कटक्क खायो। हाम्रो पालामा मनोरञ्जनको रूपमा खेलिने तास अब ‘जुवा’ भइसक्यो।
दसैँमा थारूहरूले अनिवार्य लोकल भाले बलि चढाउँथे। अब लोकल पाइनै छाडे। गाउँकै कुखुरा फार्मबाट ल्याइएका ब्रोइलर कुखराले गुर्वावा देउता खुसी मान्ने अवस्था आएछ। नवमीको दिन पितृ सम्झिँदै महिलाहरू ‘पित्तर’ संस्कारमा घरबाहिर खुला रूपमा दिल खोलेर पिउन पाउँछन्, यो संस्कार भने हराएको रहेनछ। बरु एक अधबैंसे महिलाले आफ्नो आङको लेहंगासमेत सम्हाल्न नसक्ने गरी पिएको देख्दा आकाशको जून पनि लजाएको देखियो।
गाउँका डगर फराकिला हुँदै गएका छन्। गाउँगाउँमा अटो पुग्छ। एक पाइला हिँड्नु पर्दैन। तर, टाउकोमा छिटवामा तरकारी राखेर स्थानीय लमही बजारमा बेच्न लाने चलन अझै हराएको रहेनछ। चाडबाडमा रक्सीले मात्तिएर श्रीमती कुट्ने चलन जिउँदै रहेछ।
थारूहरूले दसैंमा लगाउने शान्तिको प्रतीक ‘सेतो टीका’को ठाउँमा ‘रातो टीका’ले सर्वत्र ठाउँ पाएको देखियो। नातिहरू हजुरबा, हजुरआमासँग बसिबियाँलो गरेको दृश्य दुर्लभ हुँदै गएको छ। वृद्घवृद्घाहरू हामीसँग बोलचाल गर्ने नि कोही छैनन् भनेर तनावमा देखिए। ससाना फुच्चाफुच्ची पनि मोबाइलको भिडियो गेममा रमाएका देखिए। हाम्रो पालामा गाउँमा आयोजना गरिएका विविध खेलकुद प्रतियोगिताका कार्यक्रम एकादेशका कथा पो हुने हो कि भन्ने लाग्यो।
गाउँको डगर फराकिलो भएसँगै गाउँको मौलिकता खतरामा देखियो। कोक, बियर अनि डिस्को संस्कृतिले मेरो प्यारो गाउँलाई पनि खर्लप्पै निलेको देख्दा अब गाउँमा के पो मौलिकता खोज्न जाऊँ भन्ने दोधार भयो। यसपालि नियालेर फेरिएको गाउँलाई हेर्दा मेरो गाउँले अब म सहरियालाई खुच्चिङ गर्र्दै भनेझैँ लाग्यो, ‘बुझिस्, अब त म पनि सहर। बिरानो सहरमा कति बस्छस्। लु अब छिट्टै आफ्नै गाउँठाउँ आइज।’