रवीन्द्र झाको यात्रा : मैथिली रंगमञ्चदेखि नेपाली सिनेमासम्म

रवीन्द्र झाको यात्रा : मैथिली रंगमञ्चदेखि नेपाली सिनेमासम्म

नेपाली सिनेजगत्मा अहिले एउटा मधेसी अनुहारले निकै चर्चा पाएको छ। ठूलो ब्यानरमा बन्ने अधिकांश नेपाली सिनेमामा हेर्न सकिने यो अनुहार हो, जनकपुरधामका रवीन्द्र झा (३८) को। हाल दर्शकमाझ निकै रुचाइएका कलाकार झाको कलाकारिता यात्रा जनकपुरको रंगमञ्च हुँदै लन्डनसम्म पुगेको छ।

करिब ३० करोडको लगानीमा सम्राट् बस्नेतद्वारा निर्देशित नेपाली सिनेमा ‘पासवर्ड’को छायांकनका क्रममा एकमहिने लन्डनको बसाइपछि नेपाल फर्केका रवीन्द्र अहिले अन्य सिनेमाको छायांकनमा व्यस्त छन्। ‘पासवर्ड’ सिनेमामा प्रहरीको भूमिकामा रहेका झा अपराधी खोज्न लन्डन पुगेका थिए।

हालसम्म १७ वटा नेपाली सिनेमामा अभिनय गरिसकेका रवीन्द्रको सातवटा सिनेमा रिलिज भइसकेको छ। ‘जात्रा’ सिनेमामा दमदार प्रस्तुतिका कारण दर्शकमाझ लोकप्रिय भएका झाले ‘सुनकेशरी’ फिल्मको छायांकनका क्रममा एक महिना अस्ट्रेलियामा बिताएका थिए। उनको ‘२ रुपैयाँ’, ‘फाटेको जुत्ता’, ‘रामकहानी’, ‘मिस्टर भर्जिन’ र ‘शेरबहादुर देउवा’ हिट फिल्म हुन्। उनी अभिनीत ‘कोहलपुर एक्सप्रेस’ भने खासै चलेन।

मूल घर धनुषा, जटहीका उनी स्व. उमाकान्त झा र आमा लीलादेवीका तीन सन्तानमध्ये माइलो छोरा हुन्। सानैदेखि नाटक र सिनेमा हेर्न रुचाउँथे उनी। स्कुल पढ्दादेखि नै झाले गीत गाउनुका साथै अभिनय पनि गर्थे। कलाप्रतिको रुझान हुँदाहुँदै पनि घरपरिवारले उनको कलाकार बन्ने सपनालाई खासै बुझ्न सकेन। कक्षा १२ को पढाइका लागि जब उनी जनकपुरबाट काठमाडौं पुगे, उनको अभिनय यात्रा सुरु भयो।

नेपाल कमर्स क्याम्पस पढ्थे उनी। त्यस बेलाका चर्चित निर्देशक अरुणकुमार झा र निर्माता अशोक चौधरीले ‘महाकवि विद्यापति’ टेलिसिनेमा बनाउन लागेको जानकारी साथीभाइबाट रवीन्द्रले थाहा पाए। उनी सोधीखोजी गर्दै अडिसन दिन पुगे। नभन्दै उनले ‘महाकवि विद्यापति’मा अभिनयको मौका पाए। कान्तिपुर र नेपाल टेलिभिजनले सो टेलिसिनेमा प्रसारण गरे। टेलिसिनेमाले ख्याति पनि कमायो।

१२ सम्मको पढाइ सकाएर जनकपुर फर्केका रवीन्द्रलाई अरू कामतर्फ रुचि नै गएन। उनले टेलिसिनेमामा अभिनय गरेको देखेपछि जनकपुरका सो बेलाको चर्चित नाट्य संस्था ‘आकृति’ले उनलाई नाटक खेल्न आमन्त्रण गर्‍यो।

पहिलोपटक रंगमञ्चमा मैथिली नाटक ‘आगी धधैक रहल छै’बाट पाइला चाले। त्यसपछि उनको पहिलो नाटकमा गरिएको अभिनयको स्थानीय स्तरमा निकै प्रशंसा र चर्चा भएको थियो। त्यसपछि रंगमञ्चलाई नै कर्मक्षेत्र बनाएर अघि बढे। ‘आकृति’को ब्यानरमा दुइटा नाटक खेलिसकेपछि उनको यात्रा जनकपुरको निकै चर्चित र नेपालकै पुरानो नाट्यसंस्था मध्येको मिथिला नाट्यकला परिषद् (मिनाप)तर्फ मोडियो।

मिनापमा आबद्ध भई उनले दर्जनौं नाटकमा अभिनय गरे। यसले उनको मन अघाएन। फलस्वरूप सन् १९९८ मा अभिनय अध्ययनका लागि भारतको दिल्ली पुगे। त्यहाँ ‘अकाटी नाट्य दृष्टि’ संस्थाबाट तीन वर्षको अभिनय कार्स गरेर पुनः जनकपुर फर्किए।

झाले नेपाल र भारतका विभिन्न मञ्चमा ५० वटाभन्दा बढी स्टेज नाटक गरिसकेका छन्। त्यसैगरी उनले हजारौं सडक नाटक गरेका छन्। रेडियो ड्रामामा समेत मुख्य भूमिका निर्वाह गरेका झाले निकै चर्चित मैथिली भाषाको रेडियो नाटक ‘संगोर’का मूल लेखक थिए। त्यस्तै ‘हिलकोर’ रेडियो नाटकको मुख्य निर्देशक भएर काम गरे।

कामप्रतिको निरन्तर मेहनतका कारण एक सशक्त अभिनेताको पहिचान बनाउन सफल झा भन्छन्, ‘मान्छेको पहिचान उसको काम हो। सच्चा लगनले कुनै पेसा अपनाइयो भने त्यसले मानिसलाई सफलताको शिखरमा एक दिन अवश्य पुर्‍याउँछ।’

झाको अभिनय यात्रालाई अझ बढी सहज बनाउन उनको जीवनसंगिनीको पनि महत्वपूर्ण भूमिका छ। रंगमञ्चकी चर्चित कलाकार प्रियंका झासँग वैवाहिक बन्धनमा बाँधिएका झालाई उनको सहयोगले समेत अभिनय यात्रा निर्बाध अघि बढाउन सजिलो भएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.