'प्रेसरकुकरमा सिठी लगाए प्याडका कीरा मर्छन्'
गरिमा श्रेष्ठ पेसाले चिकित्सक हुन्। उनी मेडिकल अफिसरका रूपमा शिक्षण अस्पताल महाराजगन्जमा कार्यरत छिन्। एलकेजी र यूकेजीमा पढ्दा नै ‘उपकार’ र ‘सिउँदोको सिन्दूर’ फिल्ममा अभिनय गरिसकेकी गरिमाको हालै एक म्युजिक भिडियो पनि रिलिज भएको छ। उनले कक्षा ६ पढ्दादेखि किड क्विन, मिस लिटिल नेवालगायतका सौन्दर्य प्रतियोगितामा विभिन्न टाइटल अवार्ड जितिसकेकी छिन्।
गत वर्ष रिलिज भएको ‘तिम्रो ओठको हाँसो’ बोलको म्युजिक भिडियोमा पनि गरिमाले मोडलिङ गरेकी छिन्। मोडलिङ उनको शौक हो भने सामाजिक काममा लाग्नु उनको चाहना। विगत केही समययता महिलाको महिनावारी स्वास्थ्य र सुरक्षाको अभियानमा लागेकी उनै मोडल एवं चिकित्सक गरिमासँग रामकला खड्काले गरेको कुराकानीः
स्यानिटरी प्याड बनाएर बाँड्नुहुन्छ रे, अरूको भन्दा के फरक छ तपाईंको प्याडमा?
हामीले बनाउने प्याड पुनप्र्रयोग गर्न मिल्ने र वैज्ञानिक हो। सामान्य प्याडभन्दा यो अलि फरक हुन्छ। गाउँघरका महिलाले पनि यसलाई बनाउन सक्छन्। फलाटिनको कपडालाई प्याडको आकारमा काटेर त्यसको भित्र कोराको कपडा पट्ट्याएर राखिन्छ। यसलाई पेन्टीमा अड्काउन बटन पनि राखिएको हुन्छ। फलाटिन नरम हुने भएकाले प्रयोग गर्न सुरक्षित हुन्छ र रगत राम्ररी सोस्छ। नाइलन र सिल्कको कपडाले इनफेक्सन र एलर्जी हुन सक्छ।
यस्ता प्याडलाई कीटाणुमुक्त पार्ने तरिका छ कि?
प्याडलाई साबुन पानीले धोएर घाममा सुकाउँदा जम्मा १० देखि २० प्रतिशत मात्रै ब्याक्टेरिया मर्छन्। आइरनले तताउँदा पनि ४० देखि ५० प्रतिशत मात्रै कीटाणु मार्न सकिन्छ। जसरी हामीले अस्पतालमा प्रयोग गर्ने औजारलाई कीटाणुमुक्त पार्न अटोक्लेभ गरिन्छ, त्यसगरी प्रेसरकुकरको प्रयोगले घरायसी रूपमा सामानलाई स्टेरेलाइज गर्न सकिन्छ। महिनावारी हुँदा प्रयोग गरिएका कपडालाई धोएर एउटा प्लास्टिकमा राख्ने र थोरै पानी हालेर प्रेसर कुकरमा एक सिठी लगाउने। यसो गर्दा शतप्रतिशत कीटाणु नास हुन्छन्। यही प्रयोजनका लागि एउटा कुकर छुट्ट्याएर राख्न सकिन्छ।
आफ्नो मौलिक प्रयोगलाई कसरी विस्तार गर्दै हुनुहुन्छ?
करिब एक महिना अगाडि वसुन्धरास्थित माउन्ट ग्लोरी इन्टरनेसनल बोर्डिङ स्कुलका कक्षा ६ देखि १० सम्मका किशोरीलाई यस्तो प्याड बनाउने तालिम दिएको थिएँ। त्यसैगरी शिक्षण अस्पतालमा पनि पहिलो वर्षदेखि अन्तिम वर्षसम्मका एमबीबीएस, बीएस्सी नर्सिङ, बीपीएचलगायतका विषय पढिरहेका छात्रालाई प्याड बनाउने र प्रयोग गर्ने तरिका सिकाइयो। झोरस्थित बोडेश्वर झोर उच्च माविमा पनि प्याड बनाउने तालिमका साथै एक सय २५ वटा प्याड वितरण पनि गरियो।
महिनावारी स्वास्थ्यमा भविष्यमा अरू केही गर्ने लक्ष्य राख्नुभएको छ?
स्यानिटरी प्याड निर्माण र वितरणका लागि हामीले फन्ड रेजिङका लागि पहल गरिरहेका छौं। केही ठाउँबाट सहयोग गर्न तयार पनि भइसकेका छन्। सिन्धुपाल्चोकलगायतका भूकम्पपीडित ठाउँका महिलालाई महिनावारी स्वास्थ्यका विषयमा जानकारी दिने, वैज्ञानिक प्याड बनाउने तालिम दिनुका साथै स्यानिटरी प्याड वितरण गर्ने सोच पनि राखेकी छु।
एमबीबीएस गरेको विद्यार्थी यस्तो विषयमा लाग्न कसरी प्रेरित हुनुभयो?
कहिलेकाहीँ पढाइकै क्रममा विभिन्न विषयको खोजी गर्दा युनिसेफ, डब्लूएचओेलगायतका संस्थाका वेभसाइटमा नेपाली महिला अझै पनि यस्ता विषयमा सचेत छैनन् भन्ने उल्लेख गरिएको देखेँ। त्यसपछि महिनावारी स्वास्थ्यसम्बन्धी धेरै अध्ययन र खोज गरेँ। आफ्नो विचार ममीलाई सुनाए। मेरो सोच र ममीको डिजाइनमा प्याड तयार गरियो। त्यसपछि माउन्ट ग्लोरीका दुई शिक्षक र सात विद्यार्थीसहितको टोली तयार पारेर विभिन्न ठाउँमा तालिम दिने अभियान अगाडि बढ्यो।
चिकित्सा क्षेत्रमा आफ्नो आदर्श कसलाई मान्नुहुन्छ?
म ममीको गर्भमा छँदा उल्टो बसेको थिएँ रे। वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा.भोला रिजालले अपरेसन गरेर मलाई निकाल्नुभएको हो। त्यसैले म सानैदेखि उहाँबाट निकै प्रेरित भएकी छु। तर मेरो लक्ष्य सर्जन बन्ने हो। मेरो सफलताको श्रेय मेरो बाबा गणेश श्रेष्ठ र र ममी विद्यालाई जान्छ, उहाँहरू पनि मेरा आदर्श हुनुहुन्छ।
फुर्सदमा के गर्न रुचाउनुहुन्छ?
घुमफिर गर्न र उपन्यास पढ्न मन लाग्छ। म किताब डिजिटल्ली नै पढ्न रुचाउँछु। अहिले पनि वाटप्याडमा टुइलाइटको कथा पढिरहेको छु।
सपिङमा कत्तिको सौखिन हुनुहुन्छ?
मलाई ड्रेसअप सधैं ‘पर्फेक्ट’ हुनुपर्छ। त्यसैले धेरै खर्च लुगामै हुन्छ। किनमेलका लागि प्रायः दरबारमार्ग जाने गरेकी छु।