चाउचाउ वृत्तान्त
चाउचाउको परिकार नेपालमा पनि निकै लोकप्रिय छ। नपकाइकनै त्यसै पनि खान मिल्ने भएकाले केटाकेटीको खाजाको रोजाइमा चाउचाउ अग्रस्थानमा आउँछ। यहाँ चाउचाउबारे केही रोचक जानकारी पस्किएको छ।
सन् २००२ मा चीनको क्युंघाई प्रान्तमा झन्डै चार हजार वर्षपहिले चाउचाउको इतिहास फेला प¥यो। योभन्दा पहिला चाउचाउको इतिहास २५ देखि २२० एडीमा बनाइएको भेटिएको थियो। यो रेकर्ड पनि चीनमै पाइएको हो। यो इतिहास पुस्तकमा पाइएको थियो।
जर्मन भाषाबाट नामकरण
चाउचाउको जन्म एसियाबाट भए पनि यो शब्द भने जर्मन भाषाबाट लिइएको हो। जर्मन भाषाको ‘न्युडेल’ बाट नुडल्स बनेको मान्यता छ।
भोक हटाउने तयारीले जन्म
जापानले दोस्रो विश्व युद्धमा हारेपछि खाद्य संकट निम्तियो र खानेकुराका लागि अमेरिकासँग भर पर्नुप¥यो। मोमोफुकुले जापानमा रहेको त्यो खाद्य संकटलाई अन्त्य गर्न रातदिन खानेकुराका बारेमा सोच्दै काम थाले। उनको मेहनतले तयारी चाउचाउ जन्मियो। तयारी चाउचाउ सन् १९५८ मा बिक्रीवितरण हुन थालेको हो।
चाउचाउ खाँदाको आवाज भद्र
तयारी चाउचाउ खाँदा आवाज निस्किनुलाई जापानीहरू प्रशंसायोग्य खुबी मान्छन्। आवाज आउनुमा उनीहरू असभ्यता देख्दैनन्। चपस्टिकले चाउचाउ खाँदा आवाज आउनु स्वाभाविक हो। आवाज निकाल्दै चाउचाउ खानुभएको छ भने तपाईं खानेकुरासँग रमाइरहनु भएको छ भन्ने अर्थ लाग्छ।
दीर्घ जीवनको अर्थ
चीनमा परम्परागत रूपमै चाउचाउलाई दीर्घ जीवनको रूपमा लिइन्छ। ‘नङभिटी नुडल्स’ अन्य चाउचाउभन्दा लामो आकारको हुन्छ। यसलाई ब्वाइल र फ्राई दुवै गर्न सकिन्छ। चीनका विभिन्न उत्सवहरूमा पाहुनाहरूलाई यो चाउचाउ खुवाइन्छ।
तीन किलोमिटर लामो चाउचाउ
चाइनिज फुड कम्पनीले अहिलेसम्मकै सबैभन्दा लामो चाउचाउ बनाएर गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाएको छ। छिङनियन फुड कम्पनीका स्टाफहरूलाई यो चाउचाउ पूर्ण रूपमा बेर्न १७ घन्टा लागेको थियो। यो चाउचाउ बनाउन ४० किलो पिठो, २६.८ लिटर पानी, ०.६ किलो नुन खर्च गरिएको थियो।