महानगरमा बल्ल इजलास
विराटनगर : विराटनगर महानगरपालिकाको न्यायिक समितिले बिहीबारदेखि इजलासबाटै मुद्दाको सुनुवाइ गर्न थालेको छ।समितिकी संयोजक एवं उपमेयर इन्दिरा कार्कीले कार्यकक्ष प्रयोग गर्दै आएकी थिइन्। बिहीबार भने मेयर भीम पराजुली, संयोजक कार्कीसहित समितिका सदस्यले अलग्गै इजलास आरम्भ गरेका हुन्।
‘छुट्टै इजलास नहुँदा समितिका सबै काम मेरै कार्यकक्षमा बसेर गर्नुगरेको थियो’, संयोजक कार्कीले भनिन्, ‘तर, इजलास बनेको छ, यहीं सुनुवाइ सुरु गरेका छौं।’ उनका अनुसार प्रत्येक बुधबार इजलास सञ्चान गरी मुद्दाको सुनुवाइ गर्ने योजना छ।
समितिले देवानी प्रकृतिका मुद्दा निरूपण गर्ने अधिकार पाएको छ। विराटनगरमा कार्कीको संयोजकमा तीन सदस्यीय समिति छ। स्थानीय सरकार गठनपछि समितिमा विभिन्न प्रकृतिका ७१ वटा मुद्दा परेका छन्। सम्बन्धविच्छेदका २३ मुद्दा परेकामा समितिले १५ वटा मोरङ जिल्ला अदालतमा सिफारस गरेको छ। दुई मुद्दामा मेलमिलाप भएको छ भने ६ वटा तारेखमा छन्। घरजग्गा मोहीसम्बन्धी १२ मुद्दामध्ये नौवटा प्रक्रियामा रहेको कार्कीले सुनाइन्। बसोबास र क्षतिपूर्तिसहित शान्ति-सुरक्षासम्बन्धी ३४ मुद्दामध्ये २३ वटा प्रक्रियामा छन्।
समितिले मेलमिलापलाई प्राथमिकतामा राखेर काम गरिरहेको छ। मुद्दामा मेलमिलाप गराउने, नभए मात्र अदालत पठाउने गरिएको उनले सुनाइन्। ‘दुवै पक्षसँग छलफल गरी मुद्दा मिलाउने गरेकी छु’, उनले भनिन्, ‘जग्गा, बाटो विवाद, घरेलु हिंसालगायत पारपाचुके मुद्दा परेका छन्।’
मुद्दाको अध्ययन गर्दा चेतना अभाव, रिसराग, परिवारभित्र उत्पन्न शंका कारक देखिएको उनले बताइन्। उनका अनुसार ज्येष्ठ नागरिकका नाममा रहेको सम्पत्ति लिएर अपहेलना गरेको मुद्दा पनि परेको छ। ‘सातामा तीनवटा मुद्दा दर्ता हुन्छन्’, उनले भनिन्।