अफगानिस्तानमा नियन्त्रण गुमाउँदै सरकार
वासिङ्टन : अफगानिस्तानमा सरकारको नियन्त्रण गुम्दै गएको निष्कर्ष अमेरिकाले निकालेको छ। पछिल्ला महिनामा ठूलो संख्यामा सुरक्षाकर्मीको मृत्यु भएको छ। अमेरिकाको एक सरकारी संस्थाले गरेको अध्ययनअनुसार तालिबानविरुद्धको संघर्षमा पनि सरकारले कुनै प्रगति गर्न सकेको छैन।
केही समययता अफगानी सुरक्षा फौजलाई तालिबानको गति रोक्न मुस्किल भइरहेको छ। १७ वर्षअघि अमेरिकाले अफगानिस्तानमा आक्रमण सुरु गरेको थियो। त्यसयता अफगान युद्ध अनपेक्षित रुपमा लम्बिइरहेको छ। जसका कारण शान्तिको प्रयास असफल भइरहेको छ। अहिले तालिबानको प्रभाव निरन्तर बढिरहेको छ।
नेटोको विवरणअनुसार पछिल्लो चार महिनामा चार सय सात जिल्लामध्ये दुई सय २६ वटामा मात्र सरकारको नियन्त्रण र प्रभाव देखिन्छ। अर्थात्, देशको कूल भू-भागको करिब ५५ प्रतिशत हिस्सामा मात्र सरकारको पूर्ण नियन्त्रण वा प्रभाव छ।
सिगार नामक अमेरिकी नियोगले पनि पछिल्लो चार महिनामा सरकारी नियन्त्रण घटेको निष्कर्ष निकालेको छ। नोभेम्बर २०१५ यता सरकार सबैभन्दा कमजोर अवस्थामा देखिएको छ।
सिगारका अनुसार बाँकी जिल्लामध्ये ४९ वटा (१२ प्रतिशत) मा विद्रोहीको पूर्ण नियन्त्रण वा प्रभाव छ। अन्य एक सय ३२ वटा जिल्लामा भने सरकार, तालिबान वा अन्य विद्रोहीमध्ये कसको नियन्त्रण छ, स्पष्ट छैन। अहिले ६५.२ प्रतिशत जनसंख्यामा सरकारको नियन्त्रण छ।
गतवर्ष अमेरिकी जर्नेल जोन निकोल्सनले दुई वर्षभित्र ८० प्रतिशत जनसंख्या सरकारको नियन्त्रण आइपुग्ने दाबी गरेका थिए। उनको दाबी गलत ठहरिएको छ। ‘अफगान सेनाले कुनै नाटकीय सफलता प्राप्त नगरे त्यो अमेरिकी प्रतिबद्धता पूरा हुने सम्भावना छैन,’ अफगान मामिला विज्ञ बिल रोज्जियोले भने।
पछिल्लो समय सुरक्षा व्यवस्था पनि अत्यन्त कमजोर बन्दै गएको छ। अक्टोबर महिनामै कान्दाहार प्रहरी प्रमुख अब्दुल रजिक मारिए। सुरक्षाकर्मीले नै उच्चस्तरीय बैठकमा गोली चलाउँदा तीन जना घाइते भएका थिए।
त्यो बैठकमा नेटो कमाण्डर अमेरिकी जर्नेल स्कट मिल पनि सहभागी थिए। उनी भाग्यले बाँचेका थिए। सो आक्रमण पनि तालिबानले नै गराएको थियो।
एक वर्षअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगान योजना परिवर्तन गर्ने घोषणा गरेका थिए। उनले देशको सुरक्षा व्यवस्था पूरै अफगान फौजलाई हस्तान्तरण गर्ने बताएका थिए। त्यस्तै अमेरिकी सेनाले अफगान फौजलाई तालिम एवं परामर्श दिने पनि प्रतिबद्धता उनले गरेका थिए।
सिगारका अनुसार हरेक वर्ष पाँच हजारभन्दा बढी अफगानी फौज मारिने गर्छन्। केही समययता क्षति अझ बढिरहेको छ। ‘यसवर्षको मेदेखि अक्टोबर सेप्टेम्बरसम्म अफगान फौजमा सबैभन्दा बढी क्षति भएको छ,’ सिगारको प्रतिवेदनमा भनिएको छ।
अगस्ट र सेप्टेम्बरमा मात्र एक हजारभन्दा बढी अफगानी फौज मारिएको अमेरिकी रक्षामन्त्री जेम्स म्याटिसले बताएका छन्।
अमेरिकामा ११ सेप्टेम्बर २००१ को हमलापछि बुस प्रशासनले अफगानिस्तानमाथि आक्रमणको निर्णय गरेको थियो। अमेरिकी र बेलायती सेनाले त्यसबेला सत्तामा रहेको तालिबानलाई हटाएको थियो। राजधानीबाट लखेटिएको तालिबानले त्यसयता अनेक प्रकारको युद्ध सञ्चालन गरिरहेको छ। सन् २००६ मा पूरै अफगानिस्तानको सुरक्षाको जिम्मेवारी नेटोले लिएको थियो।
अफगानिस्तानमा आक्रमणको १० वर्षपछि अलकायदा प्रमुख ओसामा बिन लादेन मारिए। सन् २०१२ मा नेटोले आफ्नो फौज फिर्ता गर्ने रणनीति तय गर्यो। २०१४ मा नेटोले औपचारिक रुपमा अफगान युद्ध समाप्त गर्यो। तर सरकारलाई सघाउन अमेरिकी र बेलायती सेना त्यहीँ रह्यो।
इस्लामिक स्टेटको जन्मपछि अफगानिस्तान युद्धको बाटो मोडियो। गत केही वर्ष तालिबान अझ बलियो भएर आएको छ।
युद्ध सुरु भएपछि जन्मेको पुस्ता अहिले लडाइँमा सामेल भइसकेको छ। तर युद्धको अन्त्य अझै देखिँदैन। अफगानिस्तानको सम्पूर्ण स्रोत युद्धमा हेलिएको छ। जसले गर्दा देशको अवस्था जर्जर बन्दै गएको छ।
अफगानिस्तानलाई लिएर ट्रम्प प्रशासनको रणनीति पनि स्पष्ट छैन। अमेरिकाले चाहेर अहिले न युद्ध जित्न सक्छ, न रोक्न सक्छ न छोड्न नै। यस्तोमा सरकार कमजोर हुनु अफगानिस्तानको भविष्यका लागि एकदमै खराब संकेत हो।