फ्लपमा ह्याट्रिक
काठमाडौं : ‘पशुपतिप्रसाद’ बाट रातारात हिट भएका थिए, खगेन्द्र लामिछाने। पशुपति वरिपरिको सानो कथामा बनेको फिल्ममा खगेन्द्रले लेखक र अभिनेताका रूपमा धेरैलाई आश्चर्यचकित तुल्याएका थिए। तर, यसपछि रिलिज भएका तीनटै फिल्ममा उनले असफलता हात पारेका छन्।
पछिका फिल्ममा न उनको लेखनको जादु देखिएको छ, न अभिनयको। ‘पशुपतिप्रसाद’पछि रिलिज भएको ‘धनपति’ फ्लप हुने शृंखलाको पहिलो कडी थियो। ‘पशुपतिप्रसाद’को क्रेडिट हुँदाहुँदै पनि फिल्मले हलमा दर्शकबाट तिरस्कार खेपेको थियो।
यही नियति यसपछि रिलिज भएको ‘डमरुको डन्डीबियो’ले पनि भोग्यो। फरक कथामा बनेको फिल्म भए पनि दर्शकलाई खगेन्द्रको लेखन र अभिनय फरक लागेन। यो फिल्मले पनि बक्स अफिसमा फ्लपकै ट्याग बोक्यो। हुँदाहुँदा भएभरका कमेडी कलाकारले भरिएको ‘जय भोले’ले अघिल्ला दुई फिल्मलाई नै पछ्यायो।
अघिल्ला दुई फिल्मले तैबिसेक मिश्रित प्रतिक्रिया पाएका थिए तर यो फिल्मले न दर्शक पायो, न गतिलो प्रतिक्रिया। बिदैबिदामा रिलिज हुँदा पनि हलमा दर्शकको चाप देखिएन। रेडियो नाटक छाडेर खगेन्द्र फिल्ममा हानिएका थिए। खगेन्द्रलाई फिल्म हैन, नाटकै पो फाप्ने छाँट देखियो।