प्रधानमन्त्री ओलीलाई भेट्न अस्पताल पुगे अध्यक्ष दाहाल
काठमाडौँ : त्रिवि शिक्षण अस्पतालमा उपचाररत प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीलाई अर्का अध्यक्ष पु्ष्पकमल दाहाल प्रचण्डले शुक्रबार भेटेका छन् ।
त्रिवि, चिकित्साशास्त्र अध्ययन संस्थान, मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लाण्ट सेण्टरमा पुगेर दाहालले प्रधानमन्त्री ओलीको स्वास्थ्यावस्थाबारे जानकारी लिएका हुन् ।
त्यस क्रममा दुई अध्यक्षबीच मुलुकको समसामयिक अवस्थाबारे पनि कुराकानी भएको नेता दाहालका प्रेस सल्लाहकार विष्णु सापकोटाले बताएका छन् । अस्पतालले प्रधानमन्त्रीको स्वास्थ्य परीक्षणका प्रतिवेदन राम्रो रहेको र स्वास्थ्य स्थिति सामान्य भएको शुक्रबारै जनाएको छ ।
प्रधानमन्त्री ओलीलाई भेट्न नेकपाका महासचिव विष्णुप्रसाद पौडेल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारी, प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेललगायत अस्पताल पुगेका थिए ।
प्रधानमन्त्रीको उपचारमा सक्रिय उनका निजी चिकित्सक डा. दिव्या सिंहले प्रधानमन्त्रीको स्वास्थ्य सामान्य हुँदै गएकाले आज बेलुकासम्ममा डिस्चार्ज दिन सकिने बताएकी छन् ।