पोखरामा डेंगुका बिरामी बढे

पोखरामा डेंगुका बिरामी बढे

पोखरा : पोखरामा डेंगुका बिरामीको संख्या बढ्दै गएको छ। फेवा सिटी अस्पतालमा मात्रै बुधबार ३ बिरामी भर्ना भए। त्यसअघिका गरी डेंगुका १६ बिरामीले उपचार गराइरहेको अस्पतालमा डेंगुका फोकल पर्सन आकाश गौतमले जानकारी दिए। निजी तथा सरकारी अस्पतालमा बुधबार मात्रै डेंगुका १५ बिरामी थपिएका छन्। मंगलबार २२ बिरामी भर्ना भए। डेंगु लागेर उपचार गर्न सबैभन्दा धेरै बिरामी गण्डकी शिक्षण अस्पताल पुगेका छन्।

सरकारी स्वामित्वको पश्चिमाञ्चल क्षेत्रीयलगायत यहाँका निजी अस्पतालमा डेंगुका बिरामी थपिने क्रम बढेको पोखरा महानगरका स्वास्थ्य महाशाखा प्रमुख हेमन्त पौडेलले बताए। पोखराका अस्पतालमा डेंगुका ८४ बिरामी पुगेको जिल्ला जनस्वास्थ्य कास्कीका भेक्टर कन्ट्रोल निरीक्षक याम बरालले बताए।

पोखरामा डेंगु फैलिन थालेपछि शुक्रराज शास्त्री सरुवा रोग अस्पताल काठमाडौंबाट विज्ञ टोली पोखरा आइपुगेको छ। डा. वासु पाण्डे नेतृत्व टोलीले पोखराका सरकारी र निजी गरी ३० अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई डेंगुबारे अभिमुखीकरण गराएको छ। डा. पाण्डेले पोखरामा भएका बिरामीको अवस्था चिन्ताजनक भने नरहेको बताए। ‘लक्षणअनुसार उपचार भइरहेको छ’, उनले भने, ‘भाइरसको उपचार नहुने भएकाले ज्वरो आएकालाई ज्वरोकै र जोर्नी दुख्नेलाई त्यसैको औषधोपचार भइरहेको छ।’

साताअघि एक जनालाई डेंगुको आशंकामा रगत परीक्षण गर्न काठमाडौं पठाउँदा उक्त रोग पुष्टि भएको थियो। त्यसपछि ज्वरो आएर अस्पताल पुगेकाको पनि परीक्षण गर्दा डेंगु देखिएको हो। डा. पाण्डेले पोखराजस्ता पहाडी सहरमा डेंगु देखिनु अनौठो भएको बताए। यो रोग लामखुट्टेको टोकाइबाट लाग्छ।

भारतबाट आएका व्यक्तिलाई टोकेको लामखुट्टेबाट अरूलाई डेंगु सरेको अनुमान गरिएको उनले बताए। ‘परीक्षणबाट पुष्टि भइसकेको छैन। तर, जलवायु परिवर्तनको असरले पोखरामा पनि डेंगु सार्ने लामखुट्टे भेटिन सक्छ’, उनले भने, ‘लामखुट्टे यातायातको साधनमार्फत आइपुगेको हुन सक्छ। मानिसको आवतजावतबाट पनि यो रोग आउँछ।’

डा. पाण्डेले पोखरामा भेटिएका बिरामीको ज्यान जोखिममा नरहेको बताए। ‘तर बिरामीमा जुनसुकै बेला एक्कासि रक्तस्राव हुने समस्या आउन सक्छ’, उनले भने। पोखराबाट उपचार गर्न काठमाडौं रेफर गरी ग्रान्डी र पाटन अस्पताल पुगेका ३ जना बिरामी सामान्य अवस्थामै रहेको भेक्टर निरीक्षक बरालले जानकारी दिए। पोखरा महानगर स्वास्थ्य महाशाखा प्रमुख हेमन्त शर्माले उपचारभन्दा पनि उत्पत्ति रोक्न जरुरी भएको बताए। ‘लामखुट्टेका लार्भा रहने स्थान पहिचान गरी नष्ट गर्ने अभियान वडामा चलाइएको छ’, उनले भने, ‘महानगर मात्र होइन, यसबारे प्रदेश सरकारको पनि ध्यानाकर्षण भएको छ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.