सत्ता-विपक्षी दलहरुबीच सहकार्यमा जोड

सत्ता-विपक्षी दलहरुबीच सहकार्यमा जोड

काठमाडौं : दसैं, तिहार र छठको अवसरमा कांग्रेसले शुक्रबार आयोजना गरेको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा नेताहरूले राजनीतिक सहकार्यमा जोड दिएका छन्। कांग्रेस पार्टी कार्यालय सानेपामा आयोजित चियापानमा सतारुढ नेकपा, राजपासहित विभिन्न राजनीतिक दलका नेतालगायत अन्य क्षेत्रका व्यक्तिहरूको बाक्लो उपस्थिति थियो।

कार्यक्रममा नेकपाका अध्यक्ष पुष्पकमल दाहालले सञ्चारकर्मीमाझ बोल्दै राजनीतिक मेलमिलाप र एकताको पुनः खाँचो रहेको बताए। दहालले भने, ‘सबै मिलेरै संविधान बनाएका छन्।कार्यान्वयनमा पनि एकजुट हुनुपर्छ।’ दाहालले चियापानले राजनीतिक सहकार्यको संस्कारलाई थप जीवन्त बनाउने विश्वास व्यक्त गरे।

कांग्रेस सभापति शेरबहादुर देउवाले पनि संविधान कार्यान्वयनमा दलहरूको एकता आवश्यक भएको बताए। त्यसको पहल सतारुढ घटकबाटै हुनुपर्नेमा उनले जोड दिए। सतारुढ दलमा बहुमतको दम्भ देखिएको भन्दै त्यसले समस्या निम्त्यिाएको देउवाको धारणा थियो। उनले भने, ‘राजनीतिक संवाद र सहकार्यको वातावरण निर्माण भए देखिएका सबै अन्योल हट्नेछ।’

नेकपाका वरिष्ठ नेता झलनाथ खनालले देशमा सशक्त प्रतिपक्षीको भूमिकाको खाँचो औंल्याए। उनले भने, ‘एमाले र माओवादी मिले पनि एकता भने राम्रो सँग हुन सकेन, यस्तो अवस्थामा प्रतिपक्षीको भूमिका झनै मजबुत हुनुपर्छ।’ नेकपाकै महासचिव विष्णु पौडेलले दलहरूको बीचमा राजनीतिक सहकार्य हुनुपर्नेमा जोड दिए। नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले पछिल्लो समय नेकपा र कांग्रेसबीच दूरी बढ्दै गएको बताए। साथै यस्तो चियापानले संवाद र सहकार्यमा मद्दत पुग्नेमा जोड दिए।

२०३३ सालमा बीपी कोइरालाले राष्ट्रिय मेलमिलापको नीतिसहित नेपाल फर्केदेखि नै कांग्रेसले दसैंलगतै कोजाग्रत पूर्णिमाका दिन चियापानको थिति बसाएका थिए। यस वर्ष नेता चक्र बास्तोलाको निधनका कारण कांग्रेसले चियापान सारेको हो। कार्यक्रममा नेकपा नेता दाहाल, खनाल, पौडेल र श्रेष्ठसँगै वामदेव गौतम, मन्त्री रवीन्द्र अधिकारीसहित नेता पुगेका थिए। राजपा संयोजक महन्थ ठाकुर, अध्यक्षमण्डलका नेता शरदसिंह भण्डारी, लक्ष्मणलाल कर्ण र अनिल झा पनि कार्यक्रममा उपस्थित थिए।

राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशम्शेर राणासहित विभिन्न दलका नेता तथा सासंद पनि कार्यक्रममा थिए। नेपालस्थित भारतीय राजदूत मन्जिभसिंह पुरीसहित विभिन्न विदेशी निकायका नेपालस्थित प्रतिनिधिहरू समेतको पनि कार्यक्रममा उपस्थिति थियो। त्यस्तै प्रहरी प्रमुख सर्वेन्द्रनाथ खनाल, व्यापारी, कलाकार अन्य थुप्रै विधाका व्यक्तिहरू पनि कार्यक्रममा देखिएका थिए। यस पटक कांग्रेसले केन्द्रसँगै सर्लाहीबाहेक सबै जिल्लामा चियापान तथा शुभकामना कार्यक्रम गरेको छ। सर्लाहीमा तीन दिनअघि भएको गोलीकाण्डका कारण चियापान स्थगित भएको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.