देवकोटा स्मृतिमा श्यामदास

देवकोटा स्मृतिमा श्यामदास

‘देवकोटा ओछ्यानमा घोप्टो परेर लेखिरहन्थे, मैले उनले लेखेका धेरै रचना साफी गरिदिएको छु। एक खालको अघोषित जागिरे थिएँ म उनकोमा।’

यति बोलेर लामो सास ताने श्यामदास वैष्णवले। आवाज बुझ्न कठिन थियो। उमेरले उकालो चढेपछि एकएक गरी आफ्नै अंगले धोका दिँदारहेछन्। दाँतले साथ छोडेकाले जिब्रो लट्पटिरहेथ्यो उनको। तैपनि स्मृति साथमै थियो। त्यहीं स्मृतिको तरेलीमा थिए महाकवि लक्ष्मीप्रसाद देवकोटा।

देवकोटाका समकालीन वैष्णवसँग कुराकानी गर्ने तारतम्य मिलाइदिएकी थिइन् उनकै छोरी इन्दु वैष्णवले। फोनमै ठेगाना टिपाएकी थिइन् उनले— ज्ञानेश्वरबाट डिल्लीबजार जाने मूल बाटोमा पर्छ ग्यालेक्सी स्कुल। त्यही स्कुलको गेटछेउमा बाटोमुनि पुरानो खालको दुईतले घर– हल्का गुलाफी रङ पोतिएको।

साँघुरो ढोका। ढोकाबाट छिर्नासाथ देखापर्‍यो एउटा सोफा। एक तला माथि उक्लिएपछि आइपुग्यो सानो चिटिक्क परेको कोठा। सम्मानपत्र र पुरस्कारले भित्ता ढाकिरहेका। त्यही कोठामा पत्रिका पढिरहेकी इन्दु। वैष्णव सायद अर्कै कोठामा सुतिरहेका। भित्ताका सम्मानपत्र र प्रमाणपत्रले जनाइरहेथे– कुनै बेला साह्रै दौडियो यो जीवन। अब विश्राम खोजिरहेछ। आजका हुन् र वैष्णव? देवकोटाका पालाका।

उमेर नै ९५ पुगिसक्यो। उनका दोस्तहरू अब कोही छैनन् यो देखिने संसारमा। छन् त केवल सम्झनाको संसारमा। त्यसो त जीवन नै अब सम्झनाको संग्रहालय बनेको छ। त्यही संग्रहालयका अमूल्य निधि हुन्– लक्ष्मीप्रसाद देवकोटा, जो वैष्णवका हितैसी मित्र। समकालीन पुस्ताका लागि देवकोटाका कथा सुनाउने जिउँदो इतिहास।

देवकोटाको बौद्धिक क्षमताबारे तत्कालीन सरकारले कुनै सहयोग नगरेकोमा दुःखी रैछन् वैष्णव।

छोरीको हात समाएर बडो मुस्किलले विस्तारै पाइला चाल्दै आउँछन् उनी। सेतो सुरुवाल र खैरो रङको स्विटर लगाएका। अनुहारभरि रेखा मानौं कुनै दिन नदी हिँडेका थिए त्यहाँ र छन् केवल धर्साहरू। लामो समयदेखि ढाडको बिरामी रहेका उनी विस्तारै हिँड्छन्।

हरेक पाइलामा लाग्छ विगत समय इतिहासको भार बोकेर घस्रिरहेछ। रोगले थलिएको शरीर भएर पनि उनको आवाज भने टाठोटाठो। बसेर गफ गर्न सक्दैनन् उनी। अनि फुक्न थाल्छ देवकोटाको टेप। एकैबाजी धेरै बोल्न हुँदैन। विस्तारै बोल्छन्। लामो सास फेर्छन्।

‘देवकोटा आफ्ना शरीरको विल्कुल ख्याल नगर्ने पात्र थिए। महिनौं कोठामा थुनिएर लेखिरहन्थे।’ देवकोटाको लेखन बानीको प्रशंसा गर्छन् उनी। आफ्ना रचनाले समाजमा जागरण ल्याउनुपर्छ, सबैजना समान हुनुपर्छ भन्ने उदारवादी सोच देवकोटाको रहेको श्यामदास सम्झन्छन्। तर देवकोटाको बौद्धिक क्षमताबारे तत्कालीन सरकारले कुनै सहयोग नगरेकोमा दुःखी रैछन् वैष्णव।

तत्कालीन राजा महेन्द्रले देवकोटाको तलबसमेत रोकिदिएको सुनाए उनले। समकालीन साथीहरूले पनि देवकोटाका अनेक नराम्रा कुरा राजालाई सुनाएर राजा र देवकोटाको सम्बन्ध बिगारिदिएको उनको आरोप थियो।

वैष्णवसँग देवकोटाका विविध पक्षमा कुराकानी गर्ने प्रयास भयो। कुनै प्रसंग आधा मात्र सम्झिए उनले। कुनै घटनाको अन्तिम दृश्य मात्र। सुस्ताउँदै, पर्खंदै र अनुरोध गर्दागर्दै करिब दुई घन्टा बित्यो। छुट्टिने बेला भयो। ‘अचेल मलाई सञ्चो छैन, फेरि आउनुहोस् है’, मुसुक्क मुस्कुराउँदै बिदा गरे उनले।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.