रसिलो चाड
नेपाली समाज, अझ भन्नुपर्दा सम्पूर्ण हिमालेसियाली समाजको जीवन–धारामा मानव जीवनको उत्कर्ष र अपकर्षका अनेक गाथा पाइन्छन्। हाम्रा पुराण, उत्सव र चाडपर्वहरू, केवल धार्मिक पूरा कथा वा कर्मकाण्ड मानियो भने हिमालेसियाली चिन्तन परम्परा र जीवनपद्धतिसित अपरिचित रहन्छ। यसलाई सामाजिक चिन्तनको विकासको हिसाबले स्वस्थ्यकर मान्न सकिन्न।
यतिखेर मलाई आफ्नो गाउँघरको त्यतिखेरको तिहारको सम्झना हुन्छ। महोत्तरी जिल्लाको उत्तरी भेगको बिजलपुरा गाउँमा मेरो जन्म र त्यसै ठाउँमा बाल्यकाल बित्यो। त्यतिखेर मेरा लागि तिहार साह्रै उत्साहपूर्ण हुन्थ्यो। दसैंले मेरो लागि उति महत्व राख्दैनथ्यो। किनभने मासु म खान्न थेँ। तर, तिहार मेरो लागि साह्रै नै खुसी र आनन्दको क्षण हुने गर्थ्यो। हाम्रो ग्वाहालीमा सयभन्दा बढी गाईहरू थिए र त्यस्तै दस, बाह्र जति हलो जोत्ने गोरुहरू थिए।
तिनलाई लक्ष्मी पूजा र गोरु पूजाको दिन सिङमा तेल लगाएर कुभिण्डोको टुक्रामा कपेर छाप बनाउँथ्यौं र सबै गाईगोरुको जिउमा रातो, पहेँलो छाप लगाउँथ्यौँ। गाउँमा मगरहरूको बाहुल्य थियो। मगर समुदायका स्त्रीजन भैली खेल्न आउँथे, पुरुषजन द्यौसी खेल्थे। भाइटीकाको दिन दिदीहरूले हामी दुई भाइलाई पञ्चरंगी टीका लगाइदिएर सेल, अनरसा, मिश्रि र नरिवल छोहोरा खानदिनु हुन्थ्यो। अत्यन्त रमाइलो हुन्थ्यो।
प्रस्तुत आलेख त्यही तिहारको उल्लासपूर्ण उत्सवको विषयमा केन्द्रित रहेर लेखिँदै छ।
भौगोलिक अवस्थिति र बसोबासको विविधताले नेपाललाई दक्षिण एसियामा अलग्गै चिनारी दिएको छ। चार जात छत्तीस वर्णको अनेकतामा नेपालीको राष्ट्रिय पहिचान प्रतिविम्बित भएको यथार्थ यहाँका धार्मिक सांस्कृतिक चाडपर्वहरूले पनि पुष्टि गर्छन्। नेपाली समाजले दसैंपछि मनाउने गरिमायुक्त अर्को ठूलो चाड यमपञ्चक हो, जसलाई नेपालीहरूले तिहार (मैथिली समाजले सुखरात्रि र प्राचीन परम्परामा दीपमालिका) को नामले चिनिन्छ।
तिहार एक किसिमले चाडहरूको समूह हो। यो चाड कुनै एउटा देवताको पूजा आराधनामा सीमित छैन। यसमा मानव जीवनसँग जोडिएका विभिन्न कृत्य र अनेक देवता, पशुपंक्षी, पर्वत एवं मानिसको समेत पूजा गरिन्छ।
तिहारका अनेक नाम छन्। यमपञ्चक, दीपालिका, तिहार, सुखरात्रि, आदि नामहरू स्थान विशेष र युगअनुसार दिइयो। युग परिवर्तनका साथै यसको उत्सव विधिमा पनि फरक पर्दै आएको पाइन्छ। (पा.वा. काँणे, धर्मशास्त्रका इतिहास, खण्ड ४, पृष्ठ ७३, ७४)।
पुराणअनुसार, बलिराज्यमा तीन दिनसम्म आजको तिहारको पूर्वरूप कौमुदी महोत्सव मनाइन्थ्यो। पछि यम, विष्णु, बलि, यक्ष, लक्ष्मीलाई यस उत्सवसँग गाँसियो। नेवारीमा यसलाई स्वन्ति नःख चाड भनिन्छ (नेवार, नेपाली, अंग्रेजी शब्दकोश, नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठान), जस्को अर्थ तिहारको चाड हो। यो चाड कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म फरकफरक दिनमा विभिन्न धार्मिक र सांस्कृतिक विधिकासाथ मनाइन्छ। ती दिनमा काग, कुकुर, गोवद्र्धन पर्वत, गाईगोरु आदि घरपालुवा जनावर एवं पक्षीको पूजा गरिन्छ।
त्रयोदशीका दिन मानिसका लागि अत्यन्त हितकारी मानिएको काग पक्षीको पूजा गरिन्छ। यसै दिन आयुर्वेदिक चिकित्सकहरूले भैसजशास्त्रका प्रणेता धन्वन्तरीको जयन्ती पनि मनाउँछन्। चतुदर्शीका दिन बिहान सकालैमा नदी वा जलाशयमा स्नान गरेपछि यमराजको आराधना गर्दा दियो बालेर जलप्रवाहन गरिन्छ। त्यसपछि कुकुरलाई पूजन गरिन्छ। पुराणअनुसार, काग र कुकुर दुवै यमका दूत हुन्।
औंसीको प्रबोधकाल अर्थात् प्रातः कालमा स्नान गरेर स्त्रीजनहरू देवी लक्ष्मीलाई जागा गराएर उनको पूजा गर्छन्। त्यसपछि बिहान लक्ष्मीको अंश मानिएको गाईको पूजन गरिन्छ। त्यसै साँझ यक्ष र लक्ष्मीको पुजोत्सव गर्ने शास्त्रीय विधान छ। यहाँ ध्यान दिनुपर्ने कुरा के छ भने आश्विन प्रतिपदादेखि नौ दिनसम्म नवरात्रको देवी पूजन पुरुषले नै गर्नुपर्छ।
स्त्रीजनले देवी स्थापना गरेको घर वा पूजनस्थलमा प्रवेश गर्न निषिद्ध गरिएको हुन्छ। तर, यमपञ्चकमा भने धेरैजसो पूजनकार्य र आराधना स्त्रीजनबाट नै सम्पन्न गर्ने प्रचलन छ। औंसीको रात्रिमा चामलको पीठोमा अबिर र अरू रङ मिसाएर बनाएको मण्डलमा लक्ष्मी र यक्षलाई प्रतिष्ठापित गरी ती दुवै देव–देवीको विधिपूर्वक पूजन गरिन्छ।
दुवै देव–देवी धन र यशका देवता भएकाले सबै हिन्दु धर्मावलम्बीले श्रद्धाका साथ यो पर्व मनाउँछन्। तर उद्योग–व्यवसायी वर्गले यो पर्वलाई विशेष महत्वका साथ मनाउने भएकोले यसलाई वैश्यजनकोे पर्व भनेर पनि बुझ्ने गरिएको छ। अनु श्रुति के छ भने ब्रह्माले रक्षाबन्धन ( श्रावण पूर्णिमा)लाई ब्रह्मणजनको, विजयदशमीलाई क्षेत्रीयजनको र फागु पर्वलाई शुद्रजनको भने झैं वैश्यजनलाई दीपावली पर्व भनेर दिएका हुन्।
औंसी र कात्तिक शुक्ल प्रतिपदाको मध्यकालजसोमा गोरुको पूजा गरिन्छ। प्रतिपदाकै दिन गोवद्र्धन पर्वतको पूजन गरेर विरोचनको छोरा बलिराजको अभ्यर्थना गरिन्छ। जसको मन्त्रपाठ यस प्रकारको छ– ‘विरोचनका छोरा बलि, तिमीलाई प्रणाम छ। देवको शत्रु एवं भविष्यको इन्द्र, यो पूजा स्वीकार गर’
(बलिराज नमस्तुभ्यं विरोचन सुतप्रभो, भविष्यन्द्र सुराराते पूजयं प्रतिगृह्यताम्) पद्म पुराण, अध्याय– १२४/३२। त्यसपछि प्राचीन वीरहरूको गाथा गायन, नृत्य, नाट्य आदि रातभरिजसो नै अवलोकन गरिन्छ। नेपालको पहाडी समाजमा र खासगरी पश्चिमका मगर गुरुङ र पूर्वका किराँत समुदायमा द्यौसी, भैलो, सोरठी, मारुनी, घाँटु आदि लोक गीतिनाट्य आदिको मनोरञ्जन गर्नु उपर्युक्त सांस्कृतिक कृत्यको स्थानीय रूप हो।
गोवद्र्धन पूजाकै साँझ नेवार समुदायमा म्हःपूजा अर्थात् आफ्नो देहलाई आत्माको बासस्थान मानेर पूजा गर्छन्। यसरी आफ्नै देहलाई पूजन गर्ने प्रचलन समृद्ध प्राचीन संस्कृतिका धनी नेवार समुदायमा बाहेक दक्षिण एसियाको अन्यत्र समाजमा रहेको सुनिएको छैन।
तिहारको अन्तिम उत्सव यम द्वितीयामा पहाडी समाजले मनाउने भाइतिहार हो, जसलाई भ्रातृद्वितीया पनि भन्ने गरिन्छ। पूर्वकालमा कात्तिक शुक्लद्वितीयाका दिन यमुनाले यमराजलाई आफ्नो घरमा सत्कारपूर्वक आमन्त्रण गरी भोजन गराएकी थिइन्। त्यसैले यो तिथि तीनै लोकमा यम द्वितीयाको नामले विख्यात भयो।
अतः विद्वत्जनले त्यस दिन घरमा भोजन गर्नु हुँदैन। उनीहरू आफ्ना दिदीबहिनीको घरमा भोजन गरून्। दिदीबहिनीको हातबाट बनाएको मिष्ठान्न र अन्न भोजन ग्रहण गर्नुपर्छ (भविष्य पुराण, पद्म पुराण,१२४/३४)। बिहे भएर गएका दिदीबहिनीसित धेरै कालसम्म भेट नहुँदा यमद्वितीयालाई कौमुदी महोत्सवको उल्लासमय वातावरणसँग पछि जोडिएको हुनुपर्छ। दिदीबहिनीले यस दिन मांगलिक मण्डपमा यम, गणेशको पूजासँगै दाजुभाइलाई पञ्चविधिले पूजा गर्छन्।
आर्य संस्कृतिअनुुसार, कात्तिक शुुक्ल प्रतिपदादेखि नयाँ वर्षको प्रारम्भ हुुने भएकोले त्यसको खुुसीयालीमा दीपोत्सवको प्रथा चलेको अनुुश्रुुति ध्यानयोग्य छ।
तदुपरान्त उनीहरूको निधारमा पञ्चरंगी (चलनमा सप्तरंगी पनि) टीका लगाइदिएर दाजुभाइको स्वस्थ जीवन र चिरायुको कामना गर्छन्। दाजुभाइले पनि आफ्नो गच्छेअनुसार लुगा, गरगहना वा नगद भेटी दिएर दिदीबहिनीलाई प्रसन्न तुल्याउँछन्। यसरी पाँच दिनको तिहार अर्थात् यमपञ्चक पर्व समापन हुन्छ। पाँचै दिन दीपमालिका सजाइन्छ।
यमपञ्चकसित अनेक पौराणिक र लोकमिथक जोडिएका छन्। तर, यहाँ तिनको चर्चा गरिने छैन। आर्य संस्कृतिअनुसार, कात्तिक शुक्ल प्रतिपदादेखि नयाँ वर्षको प्रारम्भ हुने भएकोले त्यसको खुसीयालीमा दीपोत्सवको प्रथा चलेको अनु श्रुति भने ध्यानयोग्य छ। नेपाल सम्बत्को वर्ष प्रारम्भ यसै दिनदेखि हुने गरेको हामीलाई अवगत नै छ।
पौराणिक आख्यान र यससँग जोडिएका मिथकलाई हेर्दा तिहारको प्रचलन कृषि सभ्यताको प्रारम्भकालदेखि सुरु भएको हुनुपर्छ। किनभने मानव उपयोगी काग तिहार, कुकुर तिहार, गाई र गोरु तिहार, गोवद्र्धन पर्वत पूजाजस्ता सांस्कृतिक चर्या कृषि जीवनसित जोडिएका छन्। यी अनुष्ठान समाजको सांस्कृतिक चेतनासँग पनि जोडिएका छन्।
धनवन्तरी जयन्ती आयुर्विज्ञानसँग सम्बन्धित छ। भाइटीका वा यमद्वितीया दिदीबहिनीको दाजुभाइप्रतिको प्रेम र सम्मानभाव प्रकट गर्ने दिवस हो। यमपञ्चकमा काग, कुकुर, गाई गोरु, पर्वत र मानिसको पूजन गर्ने प्रचलनलाई संस्कृतिविद् एवं ज्योतिषाचार्य डा.जगमान गुरुङ मानव सभ्यताको विकास चरणसित जोड्छन्। उनी भन्छन्, ‘काग घुमन्ते आखेट युगको, कुकुर आखेट र पशुपालन युगको तथा गाई, गोरु र गोवद्र्धन पर्वत कृषि युगका प्रतीक हुन्। उनी दाजुभाइको पूजन कृषि सभ्यतासँगै स्त्री–पुरुषको औपचारिक सम्बन्ध आफ्नो परिवारभन्दा बाहिर गाँस्ने विवाह पद्धतिको प्रचलनको संकेत हो।’
विवाह पद्धतिको प्रचलनको सुरुआतको विषयमा डा. गुरुङको मान्यता तर्कपूर्ण छ र दृष्टिकोण विकासवादी सिद्धान्तमा आधारित छ। अघिपूर्व वैदिककालमा सरण्यु र सूर्यबाट जुम्ल्याहा जन्मिएका यम र यमी दाजुबहिनी थिए। यौवनावस्थामा यमीले दाजु यमलाई सम्भोगको आग्रह गर्दा दाजु यमले भगिनी सम्भोग अधर्म हो भनेर उसलाई निराश पार्यो।
बहिनी यमीको ‘यो अघिदेखि प्रचलमा रहेको हो, फेरि यहाँ कसले पो देख्छ र !’ भन्ने तर्कलाई यमले सुनवाई गर्दैन (ऋग्वेद, १०/१०)। यस वैदिक आख्यानलाई विवेचना गर्दा के बुझिन्छ भने त्यो समयमा विवाहको प्रचलन शुरु भएको थियो तर पूर्णरूपमा समाजले अंगीकार गरिसकेको थिएन। र, त्यो संक्रमणकोे अवस्था थियो। यस वैदिक आख्यानले डा. जगमानको स्थापनलाई पुष्टि गर्ने आधार दिन्छ। तर, पनि हाम्रो समाजको ऐतिहासिक पृष्ठभूमि र विकासको चरण अरूभन्दा केही फरक भएकोले यसमा थप अध्ययनको खाँचो छ।
भाइ तिहारमा पञ्चरंगी टीका लगाउने प्रचलन नेपाली समाजमा कसरी र कहिले प्रवेश ग¥यो यो खोजीको विषय हो। वैदिक साहित्य, महाभारत, पुराण र अरू प्राचीन साहित्यमा यसबारेमा कतै पनि उल्लेख भएको देखिँदैन। यो अनुष्ठान हिन्दुहरूको हो भनेर पनि प्रश्नको सही उत्तर निस्किँदैन।
किनभने हिन्दुहरूकै बाहुल्य भएको विशाल भारतमा वा अन्यत्रको हिन्दु समाजमा यस्तो प्रचलन देखिँदैन। त्यसो हो भने दाजुभाइलाई दिदीबहिनीले पञ्चरंगी टीका लगाइदिने चलन नेपालको आफ्नो मौलिक चलन हो भन्न सकिने आधार प्रशस्त छन्। तल यसै विषयलाई अलि विस्तार दिइन्छ।
नेपालका मगर समुदायको राजनीति गर्ने स्व. गोरेबहादुर खपांगी भाइ तिहारको उत्सव–विधि मगरहरूको मौलिक परम्परा हो भन्ने दाबी गर्थे। वज्रयानी बौद्धहरू पञ्चतत्वलाई पञ्चबुद्धको पहेँलो, हरियो, रातो, सेतो र नीलो पाँच रङका रूपमा लिन्छन्। ती पाँचै रङका अलगअलग ध्वजा बौद्ध मन्दिर र आआफ्ना घरमा डोरी बाँधेर झुन्ड्याउने गरिन्छ।
पञ्चरंगलाई सांख्य दर्शनको पञ्च महाभूत, यथा आकाश, वायु, तेज, जल र पृथ्वीको प्रतीकको रूपमा पनि लिने गरिन्छ। अर्कोतिर बौद्धको पञ्चस्कन्ध, यथा रूप, वेदना, संज्ञा, संस्कार तथा विज्ञानलाई ज्ञानको प्रक्रियाको अर्थमा पनि लिने ठाउँ छ। तिहारको पञ्च वा सप्तरंगी टीकालाई इन्द्रधनुको विम्बको रूपमा पनि लिने गरिएको छ। तर, खासमा यो बौद्धको पञ्चबुद्ध वा पञ्चस्कन्धको प्रतीक पाँच रङलाई भाइटीकामा सांकेतिकको रूपमा ग्रहण गरिएको हुनुपर्छ।
यसरी त्यस पाँच रङको अलगअलग अर्थ र भाव तर्कसंगत मात्रै होइन पूर्वीय दर्शनसँग जोडिन्छ र हाम्रो संस्कृतिको अभिन्न अंग बनेको छ। त्यसै प्रचलनलाई मगर, गुरुङ, किराँत, नेवार, खस आदि समुदायले ग्रहण गरेका हुन् भनेर ठोकुवा गर्न सकिन्छ। दसैंमा दही अक्षता मुछेको सेतो, रातो टीका लगाउने चलन पनि मगर, गुरुङ वा किराँतबाट खस वा नेवार आदि समुदायले लिएको हुनुपर्छ। स्थानको संकुचनले यहाँ त्यससम्बन्धी थप चर्चा गरिन्न।
नेपाली संस्कृति मि श्रणको संस्कृति हो। यसमा स्थानीय नेवार, मगर, गुरुङ, किराँत आदि समुदायका सांस्कृतिक–धार्मिक व्यवहारको गहिरो प्रभाव खस भाषी ब्राह्मण, क्षेत्री, शुद्र र अन्य समुदायमा परेको छ। त्यसैमध्येको भाइटीका चाडले खसभाषी समुदायमा प्रविष्टि पाएको हो भनेर समाजशास्त्रीय हिसाबले भन्न सकिन्छ।
खस शासकहरूले यहाँका जनजाति र अन्य समुदायमा हिन्दु धर्म थोपरेको आरोप जातीय पहिचानको राजनीति गर्नेहरूले लगाउने गरेका छन्। नेपाली संस्कृतिको मिश्रित चरित्र र बहुपक्षीय स्वरूपलाई आरोप लगाउनेहरूले इमानदारीपूर्वक बुझ्ने चेष्टा गरेका भए उनको आरोप कति निराधार रहेछ भन्ने कुराको पुष्टि पाउने थियो।
यहाँका खसभाषी हिन्दुहरूले आफ्ना भाषा र संस्कृतिमा मगर, गुरुङ, नेवार किराँती, मैथिल आदि समुदायका असंख्य भाषिक शब्द र सांस्कृतिक बिधि नजानिँदो गरी प्रविष्ट गराएर मौलिकता र समृद्धि थपेका छन्। यस सम्बन्धमा माथि केही उल्लेख भइसकेको छ। अनर्गल प्रचारमा अल्मलिनुभन्दा सम्बन्धित विज्ञहरूको यसतर्फ ध्यान जानु आवश्यक छ।
अन्त्यमा, तिहार सामाजिक जीवनसँग र आर्थिक, सामाजिक, धार्मिक र जनस्वास्थसँग जोडिएको चाड हो। त्यसैले यो सम्पूर्ण नेपालीको आनन्द, खुसी, आपसी सद्भाव र भातृत्वको चाड हुन सक्यो। दसैँ, छट्ठी, फागु, ल्होसार, वैशाख पूणिमा आदि झैँ तिहार पनि नेपाली राष्ट्रियताको एक सांस्कृतिक पहिचान हो र एकताको सूत्र पनि।