मेरो पठनमा देवकोटा
देवकोटा पढ्नु न रुद्री पुराण पढेजस्तो हो न त हरेक दिन राष्ट्रिय गीत गाउनुजस्तो हो। देवकोटा पढ्नु त एउटा क्षितिज पुग्दै अर्को क्षितिज भेट्टाउनु हो जुन अविछिन्न चलिरहने चेतना र ज्ञानको संघर्षमय यात्रा हो।
त्यतिबेला म विद्यालय भर्ना भएकै थिइनँ। पाँच वर्षको भएपछि मात्र विद्यालय जान थालेको हुँ। यद्यपि बुवा शिक्षक भएको हुनाले मलाई सानैदेखि घरमा नै पढाइएको भने थियो। त्यसैले विद्यालय नजाँदै म सजिला बालकविता र ठूला अक्षरमा लेखिएका चित्रकथा पढ्न सक्ने भइसकेको थिएँ। त्यतिबेलैको कुनै समय मैले कक्षा ४ को नेपाली किताबमा पढेको थिएँ–
छेत्रीको छोरो यो पाऊ छुन्छ घिनले छुँदैन
मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन।
मैले यी हरफका बृहत् अर्थ त बुझ्न सकिनँ तर ‘छेत्रीको छोरो’ले मलाई विशेष छोयो किनभने म स्वयं एक क्षेत्रीको छोरो थिएँ। बुवा–काकाले बारम्बार क्षेत्रीको छोरो भएपछि यस्तो हुनुपर्छ उस्तो हुनुपर्छ, बहादुर हुनुपर्छ भनेको कुराले मेरो बालमनमा गहिरो छाप परेको थियो। क्रमशः समयले आफ्नो गति लिँदै गयो। म गाउँ छाडेर सहरमा पढ्न थालेँ। बोर्डिङ स्कुलको कक्षा १ मा पढ्दाको कुरा हो। पहिलोपल्ट ‘जनरल नलेज’ (जीके)को किताब पढ्नुपर्ने भयो। त्यही किताबमा मैले दुई–तीन ठाउँमा देवकोटाको फोटो देखेँ र त्यसमुनि कतै ‘ग्रेट पोयट’ त कतै ‘पोयट’ मात्र लेखेको पाएँ। विद्यालयको पहिलो तल्लाको करिडोरमा पनि देवकोटा, लेखनाथ पौड्याल र भानुभक्त आचार्यका स्केचसहितका ठूल्ठूला फोटो राखिएका थिए। ती फोटो मेरो घरमा किताब राख्ने दराजजत्तिकै ठूला थिए।
यसरी बाल्यकालीन दिनमै देवकोटा मेरा लागि चिरपरिचित भइसकेका थिए। कक्षाका भर्याङ उक्लँदै जाँदा प्रत्येक श्रेणीमा देवकोटा पढ्नै पर्ने भयो। कविताप्रतिको मोहले ५ कक्षा पढ्दा ‘मुनामदन’ किनेँ, २० रुपैयाँमा। त्यो २० रुपैयाँ जुटाउन मलाई तीन दिन लागेको थियो। सायद मेरा दिदीहरूले पढेको ‘मुनामदन’ घरबाट कसैले लगेको वा हराइसकेको थियो। नत्र मैले अझै कम उमेरमा ‘मुनामदन’ पढ्न पाउने थिएँ। यसरी विद्यार्थी जीवनभरि नै देवकोटा मेरो लागि प्रिय भएर आइरहे आइरहे। परीक्षामा पनि आइरहे, मैले जानेको देवकोटाका कविताका हरफहरूका अर्थ लेखिरहेँ।
जब म कवितातर्फ आकर्षित भएँ तब फेरि देवकोटासँग दोस्ती गाँस्नुपर्ने भयो। यसक्रममा मैले उनका कविता खोजीखोजी पढ्न थालेँ। जब ‘लक्ष्मी निबन्धसंग्रह’ पढेँ, तब देवकोटाको बृहत् साहित्यिक क्षमता र कल्पनाशक्ति देखेर आश्चर्यमा परँ। उनका ‘भलाद्मी’, ‘कला र जीवन’, ‘दाडिमको रूखनेर’, ‘निद्रा’, ‘गधा बुद्धिमान कि गोरु’जस्ता निबन्धले सधैंभरि तानिरहे।
‘पाण्डुलिपि’ साहित्यिक मासिकको प्रथम अंकमै देवकोटाले तत्कालीन सोभियत संघको तासकन्दमा भएको अफ्रो एसियाली लेखक सम्मेलनमा दिएको भाषणको कृष्णप्रकाश श्रेष्ठले गरेको नेपाली अनुवाद प्रकाशित थियो। कवि श्यामलको टिप्पणीसहितको त्यो लेख पढेपछि देवकोटाप्रतिको मेरो धारणामा अर्को आयाम थपियो। देवकोटा कवि मात्रै नभएर समग्र साहित्य, भाषा कला र भौगोलिक संस्कृतिको गहन अध्येता पनि रहेछन्। मेरो पठनमा देवकोटा हरेक पटक क्रमशः नयाँनयाँ क्षितिज बनेर देखा पर्छन्। जतिजति उनका रचना पढिन्छ, केही समयपछि ‘अझ धेरै र धेरैपटक उनलाई पढ्न बाँकी छ’ भन्ने लागिरहन्छ।
देवकोटाका सन्दर्भमा कविवर माधवप्रसाद घिमिरेको धारणा सुनेपछि उनको गद्य कविताको विशालता झनै बुझ्ने अवसर मिल्यो। घिमिरेका अनुसार, ‘जरुर म पागल’ भन्दै देवकोटाले आफ्नो अवचेतन मनका शाश्वत धारणा अत्यन्त लयात्मक र गेयात्मक तवरले यसरी व्यक्त गरे कि त्यसलाई कुनै पद्य कविताले भेट्टाउन मुस्किल छ : जरुर साथी म पागल/यस्तै छ मेरो हाल/मैले नवाबको मदिरालाई खुन भनेको छु/छिमेकी रण्डीलाई लास भनेको छु/राजालाई गरिब/सिकन्दरलाई मैले गाली दिएको छु/महात्मा भनाउँदाको निन्दा गरेको छु/नगण्य व्यक्तिलाई/तर, सातौं आसमानसम्म/तारिफको पुल चढाएको छु।
क्रिया विशेषण र क्रियापदको उत्कृष्ट अनुप्रासमा लेखएका यी पंक्ति गद्य कविताकै श्रेष्ठ रचना हुन् भनेर बालकृष्ण समले पनि बारम्बार उल्लेख गरेका छन्। धेरैपटक पढेपछि मैले बुझेँ– मनका सांगीतिक अभिप्सालाई कवितामा ढालिएको रहेछ।
कविता र निबन्ध उनको प्रमुख विधा थियो– त्यसबाहेकका उनको सम्पादन, अनुवाद, पाठ्यपुस्तक लेखन, भाषण लेखन र शैक्षिक लेखन आज पनि केशर पुस्तकालय वा त्रिभुवन विश्वविद्यालयको पुस्तकालय भेटिन सक्छ। नेपालमा विश्वविद्यालयको महत्व र आवश्यकतासम्बन्धी देवकोटाको एउटा लेख पढेपछि उनको शिक्षामन्त्रीको कार्यकाल कति उर्वर रहेछ भन्ने थाहा पाएँ। आफू विद्यालय र क्याम्पस पढ्दा शिक्षकहरूले दिएको ‘देवकोटा त मन्त्रालयको टेबुलमा घुँडा धसेर कविता लेख्थे’ भन्ने उट्पट्याङ लेक्चर कति अफवाह रहेछ भन्ने थाहा पाएँ। देवकोटामाथि निबन्धकार शंकर लामिछाने, उपन्यासकार हृदयचन्द्रसिहं प्रधान, जनकलाल शर्मालगायतका पोट्रेट र आलेख पढेपछि उनीमाथिको दृष्टि अझ विशद पाउँदै गएँ। यसरी मेरो पठनले के बोध गराएको छ भने हामीले देवकोटा पढ्न अझ बाँकी छ। फेरि देवकोटा पढ्नु न रुद्री पुराण पढेजस्तो हो न त हरेक दिन राष्ट्रिय गीत गाउनुजस्तो हो। देवकोटा पढ्नु त एउटा क्षितिज पुग्दै अर्को क्षितिज भेट्टाउनु हो जुन अविछिन्न चलिरहने चेतना र ज्ञानको संघर्षमय यात्रा हो।