महाकवि जिन्दावाद !

महाकवि जिन्दावाद !

मदन क्षेत्री भए पनि किन मैलेचाहिँ उसको घरको र समाजको वर्णन पढ्दा नेवार संस्कृति र समाजको गन्ध मगमगाइरहेको पाउँछु?


देवकोटा भन्नेबित्तिकै महान् व्यक्तित्वको गरिमामयी स्वरूप सल्बलाउँछ मेरो मानसपटलमा। उनीबारे कथिएका कथा दिमागमा खेल्न थाल्छन्। उनले सात दिनमै महाकाव्य लेखेका; कथा, कविता लेख्दालेख्दै चुरोटको ठुटाले उनका औंला पोलिएको कथा, आफूले लगाइरहेको कोट भिखारीलाई दिएर हिँडेको कथा— यस्ता कथाको सूची अझ लामो हुनसक्छ।

उनको पहिलो कवितासँग मेरो साक्षात्कार स्कुल पढ्दै भएको हो। कविताको शीर्षक थियो ‘सुनको बिहान’ र सम्झिएको हरफ हो ‘सुनको एक दिन उदाउँछ रे’। त्यसैताका मैले पढेको उनको दोस्रो कविता थियो, ‘नटिप्नु हेर कोपिला नचुँड्नु पाप लाग्दछ’। त्यसपछि मेरा बाले हो मलाई देवकोटाको परिचय दिएको, ‘कुन मन्दिरमा जान्छौ यात्री’। र, पछि मैले फेला पारेको कविता थियो, ‘जरुर साथी म पनि पागल’।

एकताका मैले देवकोटाका विभिन्न संग्रह थुपारेको थिएँ र एकएक गरी पढेको थिएँ। बाले र गुरुले दैवीकरण गरिदिएका कविका पढ्दै जाँदा कवितामार्फत कविप्रतिको आदर गुमाउन थालेँ। बालकृष्ण समको प्रशंसक म, सबैमा ऊनीजस्तै गुण खोज्थेँ सायद। त्यसैले म उनका कृतिप्रति झन्झन् क्रिटिकल हुँदै गएँ।

सर्रर जे आयो त्यही लेखिदिने र त्यसलाई केलाउने अनि निफन्ने कामप्रति उदासीन देखेँ मैले महाकविलाई। भलो होस् मेरो, ममा आएको एउटा विचारको झिल्कोको। उनले लेखेका रचनाहरूको चाङबाट केही कविता जस्तो कि ‘यात्री’ र ‘पागल’ नै पर्याप्त छन् उनको कविता चेत के थियो भनेर बुझ्न।

त्यस्तो प्रगतिशील चेत भएका कविले जे लेखे पनि त्यही चेतअन्तर्गत लेख्छन् भन्ने धारणा बन्यो त्यसपछि उनका रचना र उनीप्रति मेरो। कुनै विशिष्ट व्यक्तिलाई कि देव बनाउने कि दानव बनाइदिने हाम्रो समाज भावुक छ। तर, मलाई देवकोटालाई कुन कोटिमा राख्ने भन्ने धारणा यो समाजले दिए पनि मैले आफ्नै तरिकाले देवकोटालाई मनमा प्रेमपूर्वक सजाएको छु। ऊनका ती दुई कविता मैले पढ्न पाउनु मेरो सौभाग्य भन्ठान्छु।

अन्त्यमा एउटा कुरा भन्न मन छ। देवकोटा भन्नेबित्तिकै ‘मुनामदन’को सम्झना अनायास आउनु स्वाभाविक हो। मुनामदन त्यतिखेर पढ्दा वा त्यसका गीतहरू सुन्दा एक प्रकारको आनन्द आएको हो मलाई। बिस्तारै यो सहरमा हुर्किएँ। दोहोर्‍याएर पढेँ। अनि एउटा प्रश्न उठ्यो मनमा। किन क्षेत्रीको छोरो बनाए मदनलाई महाकविले ? ल्हासामा गएर व्यापार गर्ने त नेवार मूलका नेपाली थिए त्यतिखेर।

अरू कुनै मूलका मानिस तिब्बतमा गएर व्यापार गरेको मैले कतै पढेको छैन। के नेपालका सुसंस्कृत जातिमध्ये एक नेवारहरू तत्कालीन समाजमा नायक बन्न योग्य थिएनन् ? मदन नेवार भएको भए पाठकले त्यसलाई स्वीकार्न सक्दैनन् भन्ने महाकविलाई लाग्यो होला कि? या त्यस बखतको समाज बडो कठोर, निष्ठुर र निर्दयी थियो कि जातपातको मामिलामा? क्षेत्रीको छोरोले भोटमा बस्ने भोटेको पाउ छुँदा दिन सकिने जातपात विरोधी सन्देशका कारण उनले मदनलाई नेवार बनाउने आँट नगरेका हुन् कि ? र, मदन क्षेत्री भए पनि किन मैलेचाहिँ उसको घरको र समाजको वर्णन पढ्दा नेवार संस्कृति र समाजको गन्ध मगमगाइरहेको पाउँछु ? कुन्नि, उनले भूमिकामा यो कथा नेवार परिवारको घटनामा आधारित भनेर लेखिदिएको भए मेरा प्रश्नले जवाफ पाउँथे कि?

देवकोटाको लेखनप्रति नतमस्तक मैले मुनामदनबारे उब्जिएका यी खुल्दुलीको जवाफ भने सायदै पाऊँला। महाकवि जिन्दावाद ! मैले भन्न संकोच मान्नु हुँदैन, उनैले खनेका बाटा हुँदै मेरो काव्ययात्रा यहाँसम्म पुगेको हो र आफ्नो खुल्दुली पोख्न सक्ने आँट ममा आएको हो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.