देवकोटाकी छाेरी भन्छिन्, पेटको पीडा सहन नसकेर बुबा पीपलको फेदमा पल्टिनुहुन्थ्यो
बुवा पेटको क्यान्सरले ग्रसित हुनुहुन्थ्यो। पेटको पीडा सहन नसकेर उहाँ पीपलबोटमा गएर पल्टिनुहुन्थ्यो।
बुवा काइदासँग राग गाउनुहुन्थ्यो। सांगीतिक वातावरण हुन्थ्यो घरमा। मेरा काकाहरू र ओस्तादहरू पनि घरमा आउनुहुन्थ्यो। कोही तबला बजाउने, कोही थपडी बजाउथे। खुब रमाइलो लाग्थ्यो। कहिलेकाहीँ त बुवा कामबाट घर आउँदा रातको १० बज्थ्यो। त्यति बेला पनि बुवा कोट फुकालेर निधारबाट तरर बगिरहेको पसिना पुछ्नुहुन्थ्यो, अनि हार्मोनियम झिकेर गीत गाउन बसिहाल्नु हुन्थ्यो।
बुवाको स्वर एकदम हाई पिचको। लेडिज भ्वाइसजस्तै सुनिन्थ्यो। त्यति बेला यज्ञराज शर्माले ‘देवकोटाजीको जस्तो सरगम हामीलाई आए हामी कति राम्रो कलाकार हुन्थ्यौं होला’ भनेको मेरो कानमा अझै गुञ्जिरहेको छ। सरगम त कस्तो मीठो गाउनुहुन्थ्यो भने म जिल्ल परेर बुवाको नजिकै बसी सुनिरहन्थेँ।
मेरो संगीतप्रतिको लगाव देखेर बुवाले मलाई चेतनाथ शर्माको घरमा ट्युसन पढ्न पठाउनुभएको थियो। बिहान मुमालाई भान्छामा सघाएपछि तबलामा बसेर संगीतको अभ्यास गर्थें। मैले घरमा संगीत साधना गरेको मैतीदेवी चोकसम्म सुनिन्थ्यो। मैले गीत गाएको मुमालाई मन नपर्ने। ‘मुटु फुटेर मर्छे यो, के साह्रो चिच्याइरहन्छे’ भन्नुहुन्थ्यो।
भारतीय राजदूतावासमार्फत भारतको बरोदामा छात्रवृत्तिमा संगीत पढ्ने अवसर पाएँ। त्यहीँबाट शास्त्रीय संगीतमा स्नातकोत्तर उत्तीर्ण गरेर आएँ। त्यहाँको होस्टेलमा बस्दा कहिले वार्डेनकै बारेमा त कहिले अरूको बारेमा कविता लेखिहाल्थेँ। मलाई त्यहाँ ‘तिम्रो घरमा कोही साहित्यकार छ कि ? ’ भनेर समेत सोध्थे।
बुवाको कोठामा जहिले पनि मानिसको भीड लाग्ने गथ्र्यो। राजनीतिक नेताहरू बीपी कोइराला, गणेशमान सिंहदेखि साहित्य र संगीत क्षेत्रका मानिस पनि आइरहनुहुन्थ्यो। राष्ट्रकविलाई त जहिले पनि उहाँसँगै देख्थेँ। बुवाका हातमा आठ दस हजार पर्यो कि घरमा पार्टी नै चल्थ्यो। थुप्रै मासिन आउँथे, खान्थे र जान्थे।
‘देवकोटाले तलब सबैलाई बाँड्छ रे’ भन्ने हल्ला सुनेर बुवाको एउटा साथीले जाँच गर्ने विचार गर्नुभयो। त्रिचन्द्र कलेजमा पढाउनुहुन्थ्यो बुवा। कलेजको गेटबाट बाहिरिएदेखि जसजसले माग्यो उसैलाई दिँदै हिँड्ने बानी थियो। यसो गर्दागर्दै पैसा सकाउँछ र छोराछोरीकहाँ पुर्याउँदैन भनेर बुवाको साथीले सयको नोट कोटको भित्री खल्तीमा राखिदिनुभएछ। डिल्लीबजार पीपलबोटसम्म आउन्जेल सबै पैसा सकिएछ।
त्यहाँ बसेको एउटा मानिसले पैसा मागेपछि उसलाई दिन अरू पैसा नभएपछि बुवाले भित्री खल्तीको पैसा झिक्नुभएछ। बुवाको साथीले ‘तेरा छोराछोरीले के खान्छन्, यो पैसा दिन पाउँदैनस्’ भन्नुभएछ। ‘म साटेर ल्याउँछु अनि देऊ’ भन्दा पनि बुवा मान्नुभएनछ। बुवाले मेरो उठिसकेको हातलाई नरोक भन्दै सयको नोट दिनुभएछ। उसले जीवनमा सय रुपैया देखेकै छैन। ‘यति पैसा भएपछि दुई छाक त आनन्दसँग खान्छ होला’ भन्दै दिनुभयो रे।
जसले जे माग्यो त्यही दिनुहुन्थ्यो। ‘तिम्रो बज्यै राम्री रहिछिन्। मलाई देऊ भनेर कसैले भन्यो भने पठाउनुहोला नि’ भनेर मुमाले ठट्टा गर्नुहुन्थ्यो। मेरी मुमा मनदेवी देवकोटा पनि राम्री थिइन्। मुमा र बुवाको जस्तो सच्चा प्रेम मैले कसैको पनि देखेको छैन।
बुवा तलब लिएर घर आइपुग्दा साथमा एक पैसा पनि हुँदैन थियो। पैसा सकिएपछि मुमालाई ‘यसो वल्लोघर पल्लोघर माग न, म तिरिहाल्छु नि’ भन्नुहुन्थ्यो। मुमा घर चलाउन छिमेकीसँग सापट माग्न जानुहुन्थ्यो। बुवाका विद्यार्थी घरमै पढ्न आउँथे। पैसा दिन नसक्ने पनि आउँथे। थपक्क आएर बस्ने, पढ्ने र जाने। बुवाले पैसा माग्नुहुन्न थियो र उनीहरूले पनि दिँदैन थिए। केहीले दिए केहीले दिएनन्। कोही कोहीले दिएका पैसा मुमाले राख्नुहुन्थ्यो। पैसा पाएको थाहा पाएर छिमेकी र गाउँले आफूले दिएको सापटी माग्न आउँथे। मुमा छैन भन्नुहुन्थ्यो। बुवा ‘बजैले झुठ बोलिरहेकी छन्, उनीसँग पैसा छ’ भन्नुहुन्थ्यो।
बुवाको कोठामा सधैं उत्तिकै भीड। हामीलाई पढाउन कहिल्यै नभ्याउने। महिनामा एक दिन बुवाले पढाउन लाग्नुभयो भने पनि ‘मैले छोराछोरी पढाउन लागेँ, लौ को को आउने हो पढ्न आओ’ भन्दै दाजुभाइ, छरछिमेक र गाउँलेका छोराछोरीलाई पनि बोलाउनुहुन्थ्यो।
एसएलसीको परीक्षा दिने बेलासम्म मलाई केही पनि पढ्न आउँदैन थियो। एक दिन बुवाको कोठा सफा गर्दागर्दै एसएलसीको नोटबुक फेला पारेँ। सबै कण्ठ पारेँ। जाँचमा त्यही लेखेर पास पनि भएँ। विद्यार्थीलाई पढाउन सायद बुवाले लेख्नुभएको होला त्यो नोट।
एकजनालाई घरमा काम गर्न राखेका थियौं। उनको नाम लालबहादुर हो। घरको कामभन्दा उनी बुवाकै मुख हेरेर बसिरहन्थे। बुवा पनि ‘लालबहादुर त्यो किताब ले त। त्यो मसी ले त’ भन्नुहुन्थ्यो। बेलुकी लालटिन लिएर बुवालाई लिन उनी नै जान्थे। लालबहादुरले लप्टनको पसलबाट घरसम्म आइपुगुन्जेल मुमाविरुद्ध धेरै कुरा सुनाउँदा रहेछ। यो चर्किंदै गएर एक दिन त बुवाले ‘ए लालबहादुर गुन्टा बान्। तँ र म अब होटेलमा गएर बस्ने, महिनाको कति चाहिन्छ म यिनलाई दिन्छु’समेत भन्नुभयो। बुवा निस्किएपछि मुमाले रिसले लालेलाई लौरोले हान्दै निकालिदिनुभयो।
म जहिल्यै बुवाको पछि लाग्थँे। ‘त्रिभुवन विश्वविद्यालय यहाँ बन्ने भयो’ भन्दै कीर्तिपुर लगेर मलाई देखाइदिनुभएको याद छ। कपडा किन्न जाँदा पनि ‘तँलाई जे जे चाहिन्छ किन्’ भन्नुहुन्थ्यो। एक दिन म धागो लिएर स्वेटरको पेटी बुन्दै थिएँ। त्यो देखेर बुवा ‘ए बजै, अम्बिकाले धागोले लुगा बनाइछ, हेर हेर’ भन्दै खुसी हुनुभएको थियो।
बुवा चीनबाट फर्कंदा सिन्दूरे जात्रा नै भएको थियो। रसिया र अरू देशमा गएर देशको नाम राख्नुभएको रे भन्ने मैले सुनेको थिएँ।
बुवालाई मुमाले पकाएको डुकु असाध्यै मन पथ्र्यो। घरमा दालभात डुकु खाएर बुवा एउटा कार्यक्रममा जानुभएको थियो। भारतका चर्चित साहित्यकार राहुल सांकृत्यायन नेपाल आएकाले उनकै अध्यक्षतामा कार्यक्रम भइरहेको थियो। हतारमा निस्कनुभएकाले घरबाट कविता लान बिर्सनुभएछ। त्यहीँ बसेर चुरोटको खोलमा दालभात डुकु कविता लेखी त्यसैलाई वाचन गर्नुभयो। कविता राम्रो थियो। बुवाको बोली मीठो अनि स्पिच साह्रै राम्रो। कार्यक्रमको अन्त्यमा अध्यक्षको मन्तव्य राख्दै राहुलले काठमाडौंमा कविहरू छैनन् भन्ने आफूले सोचेको भए पनि किड्स, सेली र सेक्सपियर मिलाएर एउटा देवकोटा बनेका रहेछन् भनेका थिए। यो त महाकवि रहेछ भनेर उहाँले भनेदेखि सबैले बुवालाई महाकवि भन्न थालेछन्।
बुवा पेटको क्यान्सरले ग्रसित हुनुहुन्थ्यो। हामीलाई साह्रै पीडा हुन्थ्यो। मुमा भान्छामा काम गरिरहने। बुवालाई हेर्ने जिम्मा मलाई दिनुहुन्थ्यो। सुतिरहेका बुवा त एकैछिनमा कता हो कता। यसो खोज्दै जाँदा त पीपलबोटमा गएर डङ्रंग लडिरहेको भेटिन्थ्यो। पेट दुखेको पीडा सहन नसकेर उहाँ त्यसरी हिँड्नुभएको रहेछ। त्यो क्षण सम्झँदा मलाई अहिले पनि पीडा हुन्छ।
(देवकोटाकी माइली छोरी रिमालसँग रामकला खड्काले गरेको कुराकानीमा आधारित)