पाकिस्तानमा ‘तालिवानका पिता’को हत्या
इस्लामाबाद : पाकिस्तानी राजनीतिज्ञ तथा धार्मिक नेता समी अल हक एक अज्ञात समूहको आक्रमणमा मारिएका छन् । रावलपिण्डीको उत्तरी सहरस्थित आफ्नै निवासमा बसिरहँदा समीमाथि आक्रमण भएको हो ।
परिवार तथा स्थानीय सरकारी अधिकारीका अनुसार उनी आफ्नै निवासको ओछ्यानमै रहेको अवस्थामा मारिएका हुन् । समीका सुरक्षागार्ड केही बेरका लागि बाहिर गएर फर्किँदा उनी मारिएको अवस्थामा भेटिएको बताइएको छ ।
८० वर्षे समी मुटुका विरामी पनि थिए । उनी ओछ्यानमा आराम गरिरहेको अवस्थामा आक्रमण भएको उनका छोरा हमिदुल्लाहलाई उद्धृत गर्दै स्थानीय संचारमाध्यमले उल्लेख गरेका छन् ।
अलगाववादी नेताको रुपमा चिनिने हक ‘तालिवानका पिता’ भनी चिनिन्थे । उनले लामो समयदेखि ‘मुजाहिद्धीन फोर्स’ गठनको लागि आफ्नै समूहभित्र सैद्धान्तिक संघर्ष गर्दै आएका थिए । पाकिस्तानको उत्तरी सहर अकोरा खत्तकस्थित ‘डारुल उलुम हक्कानिया सेमिनेरी’ को प्रमुख रहेका हक कट्टर दक्षिणपन्थी धार्मिक नेता थिए ।