मृगेन्द्रशमशेरका चिठी र छातछुत
अरु धर्मका मानिससँग छातछुत भए पनि उपचारमा बाधा मान्नु हुँदैन भनी मृगेन्द्रले देवकोटालाई सम्झाउनु परेको छ।
कवि लक्ष्मीप्रसाद देवकोटाको लोकोक्ति बनिसकेको काव्यपंक्ति छ– ‘मानिस ठूलो दिलले हुन्छ, जातले हुँदैन।’ यो १९९२ सालमा प्रकाशित उनको सर्वाधिक पाठकप्रिय खण्डकाव्य ‘मुनामदन’को कवितांश हो। भोट जाँदा बिरामी परेको मदनको उपचार त्यतैको तिब्बतेली व्यक्तिले गरेपछि उपचारकको शरण परेर मदनले भन्छ– छेत्रीको छोरो यो पाउ छुन्छ घिनले छुँदैन, मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन !
बिरामी पर्ने व्यक्ति छेत्री छ। उसलाई उपचार गर्ने व्यक्ति तिब्बती, जसलाई देवकोटा भोटे नामले सम्बोधन गर्छन्। र, मानिस ठूलो जातले हुँदैन भनेर छेत्री मदनले भन्छ। यो खण्डकाव्यको काल्पनिक कथा हो। देवकोटाको वास्तविक जीवनमा पनि यस्तै घटना छ। तत्कालीन सन्दर्भमा देवकोटाका लागि त्यो घटना जटिल देखिन्छ। तर, अहिले पढ्दा यो रोचक पनि लाग्छ।
सन्दर्भ के हो भने देवकोटा बिरामी पर्छन्। उपचार गर्न उनलाई राँची लैजानुपर्छ। तर, अरु धर्म र जातका मानिससँग छुतछात हुन्छ भनी उनी जान मान्दैनन्। त्यसका लागि उनलाई सम्झाउनु पर्छ। धेरैलाई थाहै छ, देवकोटा पण्डित हुन्। उनलाई सम्झाउने व्यक्ति चाहिँ छेत्री नै छन्, छेत्री अर्थात् राणा। राणा मृगेन्द्रशमशेर। यो देवकोटाको मुनामदन प्रकाशन भएको तीन वर्षपछिको घटना हो, अर्थात् १९९५ सालको (हेर्नुस्, दुई चिठी)।
मृगेन्द्रशमशेरले देवकोटाका भाइ मधुसुदनलाई लेखेको चिठीमा भनेका छन्, ‘त्यहाँ बस्दा छातछुतको हकलाई औषधिको निमित्त केही लाग्दैन भनी सम्झाउनुपर्दछ।’ देवकोटालाई नै लेखेको चिठीमा त देह शुद्ध भनेको केही होइन, मनशुद्ध पो वास्तविक चिज हो भनेर समेत मृगेन्द्रले कविलाई सम्झाएका छन्। उनले शरीर वा भित्री पेटको कुरामा पवित्र र अपवित्र भन्नु आफ्नो बुद्धि र समाजलाई होच्याउनु हो समेत भनेका छन्। यो घटना हुनुअघि नै ‘मुनामदन’मा देवकोटाले लेखेका थिए, ‘मानिस ठूलो दिलले हुन्छ, जातले हुँदैन।’ यसले बताउँछ– देवकोटाको लेखन–संसार र जीवन–व्यवहारबीच कति ठूलो अन्तरविरोध थियो !
०००
हिन्दू धार्मिक चेतना, आर्य सभ्यताप्रतिको मोह, नेपाली राष्ट्रवादप्रतिको प्रतिबद्धता, ब्राह्मणविशेष चिन्तन देवकोटाका निबन्ध, गद्यलेखन र कवितामा सराबरी फेला पर्ने तत्व हुन्। उनका रचनामा मानवतावाद, विद्रोह, क्रान्तिकारी स्वर, समानताको आह्वान पनि उत्तिकै भेटिन्छ। नेपाली साहित्यमा सबैभन्दा धेरै देवकोटाबारे नै अध्ययन–अनुसन्धान भएको हुनुपर्छ तर उनको अन्तरविरोधी देखिने हाँगाविँगापूर्ण लेखन र तिनको एकै फेदको पत्तो बताउने अध्ययन–निष्कर्ष थोरै अध्येताको मात्रै छ।) यहाँ प्रस्तुत गरिएका चिठीबाट उनमा (एक समय) छोइछिटोको डर कतिसम्म थियो भन्ने थाहा लाग्छ। यसबारे जनकलाल शर्माले लेखका छन्, ‘देवकोटा छुवाछुतका कट्टर समर्थक पनि देखिन्छन्। त्यसै कारण त मृगेन्द्रशमशेरले उनलाई आकाश–पाताल देखाएर सम्झाउनुपर्यो पत्रमा। देवकोटाको प्रतिभाको महत्व मृगेन्द्रशमशरले बुझेका थिए। नत्र तिमीले देशलाई धेरै दिनु र गर्नु छ भनेर त्यस समयका जल्दाबल्दा राणाले कहिल्यै लेख्ने थिएनन्। मृगेन्द्रले देवकोटालाई उपचारमा छुवाछुतको ख्याल नगर भनेर मात्रै सम्झाएका छैनन्, देवकोटाको राँची जाने र बस्ने खर्च सर्वाधिक मृगेन्द्रशमशेरले बेहोरेको देखिन्छ भने ब्रह्मशमशेरले पनि केही सघाउ पुर्याएकै देखिन्छ।’
लक्ष्मीप्रसाद देवकोटा एक ऐतिहासिक पात्र हुन्। खास इतिहासद्वारा निर्मित। खास सामाजिक संरचनाका उत्पाद। समयक्रमसँगैका उतारचढावका यात्री। एक रचना वा एक घटना हेरेर मात्रै उनको समग्र व्यक्तित्वको मूल्यांकन गर्नु हतारको काम लतार हुन्छ। त्यसका लागि साहित्यलाई समाज र इतिहासको कसीमा राखी अध्ययन–मूल्यांकन गर्ने परिपाटी चाहिन्छ। समीक्षकहरूमा इतिहास–दृष्टि र समाजशास्त्रीय चेत खाँचो पर्छ। लिखित रचनाको सङ्कथन बुझ्न समाज र इतिहासका सन्दर्भहरूमा प्रवेश गर्ने लेठो पनि बेसाउनुपर्छ। अहिले त देवकोटालाई उनका केही कविता वा निबन्ध पढेर मात्रै बुझ्ने पाठकको बहुमत छ। (हाम्रो लोकतन्त्रमा बहुमत नै शासनको हकदारी हुन्छ, यो पनि सम्झनीय छ)। धेरै पाठकका लागि उनका कवितै नै मुख्य खुराक हुन्। राष्ट्रिय अभिलेखालयमा बुझाइएका र जनकलाल शर्माको ‘महाकवि देवकोटाः एक व्यक्तित्व, दुई रचना’ पुस्तकमा समावेश देवकोटासम्बद्ध चिठीहरू पनि कवि देवकोटा र उनको रचनाधर्मिता बुझ्न सघाउने सयौं सन्दर्भ सामग्रीमध्येका केही अवश्य हुन्।