विराटनगरविरुद्ध सन्नी पटेल चम्किएपछि चितवन चार विकेटले विजयी
पोखरा : पोखरा प्रिमियर लिग (पीपीएल) अन्तर्गत शनिबारको दोस्रो खेलमा चितवन राइनोज विजयी भएको छ। विराटनगर टाइटन्सले दिएको १४६ रनको लक्ष्य चितवनले ६ विकेटको क्षतिमा तीन बल बाँकी हुँदा भेट्टाएको हो।
चितवनका लागि सन्नी पटेलले नटआउट ५१ रन बनाए। उनले २४ बल खेल्दै चार चौका र चार छक्काको मद्दतमा अर्धशतकीय पारी खेलेका हुन्। चितवनको जितका लागि उनको खेल बरदान सावित भयो।
सन्नीसँगै चितवनका आरिफ सेखले ३५ र स्मित पटेल २१ रन जोडे भने अनिल साहले १३ रन जोडे। सँगै सोनु तामाङले ११ रन जोडे। अन्य ब्याट्सम्यानले भने दोहोरो अंक जोड्न सकेनन्। कप्तान पारस खड्का ७ रनमै आउट भएका थिए। पारसलाई विराटनगरका कप्तान सन्दीपले बोल्ड गरेका थिए।
टस जितेर पहिलो ब्याटिङ गरेको विराटनगरले पूरै २० ओभर खेल्दै पाँच विकेटको क्षतिमा एक सय ४५ रन बनाएको थियो।
विराटनगरका लागि पाकिस्तानी खेलाडी मुहम्मद जेइद आलमले अर्धसतक बनाए। उनले ६ चौका र दुई छक्काको मद्दतमा ४७ बलमा ५१ रन जोडे। त्यसैगरी सुनिल धमलाले ४७ रन बनाए भने प्रदिपसिंह ऐरी र पुष्प थापाले ११–११ रन मात्र जोडे।
चितवनका लागि कप्तान पारस खड्का र स्मित पटेलले दुईदुई विकेट लिए भने करण केसीले एक विकेट लिए।