कांग्रेस महासमिति भेला सर्ने सम्भावना

कांग्रेस महासमिति भेला सर्ने सम्भावना

काठमाडौं : कांग्रेसका नेताहरूले मंसिर ५–९ गते काठमाडौंमा हुने महासमिति भेला सर्ने सम्भावना बढेको बताएका छन्। पार्टीको विधान मस्यौदामा आन्तरिक सहमति जुटाउन र अन्य तयारीका लागि करिब दुई साता समय अझै चाहिने भएकाले मंसिर अन्तिम साता भेला गर्नेबारे शीर्ष तहमा छलफल भइरहेको उनीहरूले जानकारी दिएका छन्।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले महासमिति, विधान मस्यौदा र केन्द्रीय कार्यसमिति बैठकबारे सभापति र वरिष्ठ नेताबीच छलफल भइरहेको बताए। उनले भने, ‘महासमिति सर्नेबारे केन्द्रीय समितिको बैठकले मात्र टुंगो लगाउनेछ।’ उनका अनुसार केन्द्रीय समिति बैठकको टुंगो चाँडै नै लगाउने तयारी भइरहेको छ।

महामन्त्री शशांक कोइरालाले गत शुक्रबार पार्टीको चियापानमा सञ्चारकर्मीसँग तय मितिमा महासमिति हुने सम्भावना नरहेको बताएका थिए। उनले दसैं, तिहार र छठका कारण भेलाको तयारी गर्न केही समय अझै आवश्यक भन्दै भेला केही साता पछि सर्न सक्ने बताएका थिए। कांग्रेसका अर्का नेता गगन थापाले पनि मंसिर ५ मै महासमिति हुनेमा आफू विश्वस्त नरहेको भनेका थिए। उनले महासमितिको तयारीस्वरूप केही समय चाहिने बताएका थिए।

कांग्रेसले महासमिति सर्नेबारे केही नभने पनि नेताहरू पार्टीको शीर्ष तहमा अनौपचारिक छलफल सुरु भइसकेको बताउँछन्। गत बिहीबार वरिष्ठ नेता रामचन्द्र पौडेलको निवासमा सभापतिइतर पक्षको छलफल भएको एक नेताले बताए। छलफलमा पौडेलसहित कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, अर्जुननरसिंह केसी, नविन्द्रराज जोशीलगायत विधान समितिमा रहेका दिलेन्द्रप्रसाद बडू र मीनेन्द्र रिजाल सहभागी थिए। त्यसपछि वरिष्ठ नेता पौडेल र सभापति शेरबहादुर देउवाबीच छलफल भएको छ।

‘महासमिति सर्नेबारे केन्द्रीय समितिको बैठकले मात्र टुंगो लगाउनेछ।’
–विश्वप्रकाश शर्मा, प्रवक्ता, कांग्रेस

गत असोज २१ मा बसेको केन्द्रीय समिति बैठकमा शीर्ष नेताबीच विवाद देखिएपछि बैठक नै अनिश्चित बन्दै गएको छ। एक शीर्ष नेताका अनुसार छठपछि मात्र केन्द्रीय समिति बैठक बोलाउने गृहकार्य सभापतिले थालेका छन्। त्यसअघि उनले वष्ठि नेता पौडेलसहित असन्तुष्ट नेताहरूसँग विधानलाई अन्तिम रूप दिन अनौपचारिक गृहकार्य गर्न खोजेका छन्। विधान समिति संयोजक तथा महामन्त्री पूर्णबहादुर खड्काले यसका लागि आन्तरिक दौडधुप सुरु गरिसकेका छन्। उनले वरिष्ठ नेता पौडेल र सिटौलासँग अनौपचारिक संवाद थालेका छन्।

महासमितिकै तयारीस्वरूप भन्दै उपसभापति विमलेन्द्र निधि नेतृत्वको राजनीतिक प्रस्ताव लेखन समिति, महामन्त्री कोइराला नेतृत्वको संगठनात्मक अवस्थाको प्रतिवेदन लेखन समिति र सहमहामन्त्री डा.प्रकाशशरण महत नेतृत्वको आर्थिक नीतिसम्बन्धी समितिले काम थालेका थिए। समितिहरूको काम अघि बढे पनि विधानको अन्तिम मस्यौदामा सहमति खोज्न कांग्रेसको महासमिति भेला कम्तीमा पनि दुई सातापछि धकेलिने देखिएको हो।
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.