अमेरिका हामीसँग हार्यो : खामेनी
तेहरान : इरानका सर्वोच्च नेता आयातोल्लाह अलि खामेनीले गत ४० वर्षमा अमेरिका आफ्नो देशसँग पराजित भएको बताएका छन् । उनले ट्रम्पका कारण अमेरिकाको इज्जत गुम्दै गएको पनि बताए ।
सन् १९७९ को नोभेम्बर ४ मा तेहरानस्थित अमेरिकी दूतावासलाई इस्लामिक विद्रोहीले कब्जा गरेका थिए । ‘संसारले ट्रम्पको हरेक निर्णयको विरोध गर्छ,’ खामेनीले शनिबार भने, ‘विगत ४० वर्षको शत्रुतामा अमेरिका इरानसँग सँधै पराजित हुने गरेको छ ।
इरान सँधै विजयी बनेको छ ।’ उनले अमेरिकाको उद्देश्य इरानमा सन् १९७९ अघिको जस्तै आधिपत्य कायम गर्नु रहेको बताए । तर इस्लामिक क्रान्तिपछि अमेरिका आफ्नो उद्देश्यमा असफल रहेको उनको भनाइ थियो ।
ट्रम्प प्रशासनले हालै इरानमाथि नाकाबन्दीको घोषणा गरेको थियो । सन् २०१५ मा ओबामा प्रशासनले इरानसँग बहुपक्षीय आणविक सम्झौतापछि नाकाबन्दी खुकुलो पारेको थियो । तर ट्रम्पले त्यसलाई उल्ट्याइदिएका छन् । ट्रम्पको कदमबाट रुस, चीनलगायतका आणविक सम्झौतामा हस्ताक्षरकर्ता मुलुक असन्तुष्ट छन् । उनीहरुले सम्झौता जीवित राख्ने प्रतिबद्धता गरेका छन् । इरानले पनि आफू सम्झौता पालनाका लागि तयार रहेको बताउँदै आएको छ ।
‘ट्रम्पले उदारवादी प्रजातन्त्र र अमेरिकाको बचेखुचेको प्रतिष्ठालाई बेनाम बनाएका छन् । बेजोडको शक्ति, मजबुत अर्थतन्त्र र सैन्य शक्ति हुँदाहुँदै पनि अमेरिका कमजोर बन्दै गएको छ,’ उनले भने । रासस