व्यक्तिगत निक्षेप : दुई महिनामा २७ अर्ब
काठमाडौं : बैंक तथा वित्तीय संस्थामा साउन र भदौमा व्यक्तिगत निक्षेपकर्ताबाट २७ अर्ब रुपैयाँ संकलन भएको छ। गत असारसम्म १५ खर्ब २५ अर्ब रहेको कुल निक्षेप भदौसम्म बढेर १५ खर्ब ५२ अर्ब पुगेको राष्ट्र बैंकको तथ्यांक छ। यस अवधिमा कुल निक्षेप एक दशमलव चार प्रतिशत र व्यक्तिगत निक्षेप एक दशमलव आठ प्रतिशत वृद्धि भएको छ।
गत आवको तुलनामा चालु आवको भदौसम्म व्यक्तिगत निक्षेपकर्ताबाट २० प्रतिशतभन्दा बढीले निक्षेप संकलन बढेको छ। राष्ट्र बैंकको तथ्यांकअनुसार गत वर्षको भदौसम्म यस्तो निक्षेप १२ अर्ब ९३ करोड थियो। एक वर्षको अवधिमा दुई खर्ब ३१ अर्बले व्यक्तिगत निक्षेप बढेछ। भदौ मसान्तसम्म कुल निक्षेपममा १५ खर्ब ५२ अर्ब व्यक्तिगत निक्षेप पुगेकोे छ।यो कुल निक्षेपको करिब ५४ प्रतिशत हो।
राष्ट्र बैंक अनुसन्धान विभाग प्रमुख नरबहादुर थापाले पछिल्लो समय बैंक तथा वित्तीय संस्थामा व्यक्तिगत निक्षेप बढ्दै गएको बताए। ‘यस्तो निक्षेप बढ्नु राम्रो हो’, उनले भने, ‘वित्तीय संस्थाले लगानीयोग्य पुँजी अभाव भएपछि व्यक्तिगत निक्षेपकर्तालाई राम्रो ब्याज दिएकोले निक्षेप बढ्न सहयोग पुगको हो।’
गत वर्ष वित्तीय संस्थाले व्यक्तिगत मुद्दती निक्षेपमा ११ र संस्थागतमा १३.५ प्रतिशतसम्म ब्याज दिएका थिए। बचतको ब्याज नै आठ प्रतिशतको हाराहारीमा थियो। बढेको ब्याजमा निक्षेपकर्ताको आकर्षण बढेको राष्ट्र बैंकको भनाइ छ। यस वर्ष वित्तीय संस्थामा लगानीयोग्य पुँजी अभाव हुन थालेपछि बैंकले भद्र सहमति गरेर बचतमा पाँच प्रतिशतसम्म र मुद्दती निक्षेप संस्थागततर्फ नौ र व्यक्तिगततर्फ १० प्रतिशतभन्दा बढी ब्याज नदिने सहमति गरेका छन्।
चालु आवको पहिलो दुई महिनामा बैंक तथा वित्तीय संस्थामा २८ खर्ब ७५ अर्ब निक्षेप संकलन भएको छ।
यस अवधिमा गैरनाफामूलक संस्था, अन्तरबैंक, सरकारी संस्थान ( कर्पोरेसन), वैदेशिक निक्षेपलगायत संस्थागत निक्षेपकर्ताको निक्षेप बढेको छ। गैरसरकारी निगम, गैरबैंकिङ वित्तीय संस्था, रोजगार बचत कोष, नागरिक लगानी कोषलगायत अन्य संस्थाको निक्षेप घटेको छ। बैंक तथा वित्तीय क्षेत्रमा संकलन भएको कुल निक्षेपमध्ये गैरबैंकिङ वित्तीय संस्थाको निक्षेप धेरै घटेको छ।
चालु आवको पहिलो दुई महिनासम्म ती संस्थाबाट चार खर्ब ३७ अर्ब ५४ करोड निक्षेप संकलन भएको छ। गत आवको अन्तिममा यो शीर्षकको निक्षेप चार खर्ब ५० अर्ब ९२ करोड थियो। गैरबैंकिङ संस्थाको निक्षेप भदौमा आइपुग्दा १३ अर्ब ३७ करोडमा खुम्चिएको छ।
समीक्षा अवधिमा नागरिक लगीनी कोषको निक्षेप खुम्चिएर ६३ अर्ब २७ करोडमा सीमित भएको छ। गएको आवको अन्तिमसम्म कोषको बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा ६८ अर्ब ४९ करोड निक्षेप थियो। रोजगार बचत कोषमा गएको आवको अन्त्यसम्म ५२ अर्ब ८० करोड रहेको निक्षेप दोस्रो महिनासम्म घटेर ५० अर्ब ९१ करोड भएको छ। गैरसरकारी निगमको निक्षेपमा पनि चार अर्ब ९८ करोडले कमी आएको छ। अन्य संस्थातर्फको निक्षेप पनि पाँच दशमलव सात प्रतिशतले कमी आएको छ।
चालु आवको पहिलो दुई महिनामा बैंक तथा वित्तीय संस्थामा २८ खर्ब ७५ अर्ब निक्षेप संकलन भएको छ। वित्तीय क्षेत्रमा दुई करोड ३५ लाख ४४ हजार निक्षेपकर्ता छन्।