कार्यकर्ता हत्या प्रकरण : कांग्रेसले दोस्रो पनि सर्लाहीका बजार बन्द गरायो

कार्यकर्ता हत्या प्रकरण : कांग्रेसले दोस्रो पनि सर्लाहीका बजार बन्द गरायो

मलंगवा : सर्लाहीको रामनगर गाउँपालिका–४ बोहर्वामा आफ्ना कार्यकर्ताको हत्या भएपछि आन्दोलनमा उत्रेका कांग्रेस कार्यकर्ताले आइतवार दोस्रो दिन पनि सर्लाहीका मुख्य बजार बन्द गराएका छन् । उनीहरुले पूर्व–पश्चिम राजमार्ग २ घण्टा अवरुद्ध गरेका छन् ।

हत्या भएको एक हप्ता बितिसक्दा पनि हत्यारालाई पक्राउ गर्न नसकेपछि कांग्रेस जिल्ला कार्य समिति सर्लाही आन्दोलित बनेको छ । पार्टीको पूर्वघोषित कार्यक्रम अनुसार शनिवार साँझ जिल्लाका २० वटै स्थानीयतहमा मसाल जुलुस गरेको कांग्रेसले आइतवार जिल्लाका बजार बन्द गराएका छन् । 

विहानै संघीय सांसद अमरेशकुमार सिंह, जिल्ला उपसभापति सुरेन्द्र सिंह, पूर्व जिल्ला सभापति लक्ष्मण राय लगायतले मलंगवा बजार बन्द गराएका थिए । त्यसैगरि पार्टीका अन्य नेता कार्यकर्ताले हरिवन, लालबन्दी, नवलपुर, इश्वरपुर, गोडैता र बरहथवा लगायत बजार बिहानैदेखि बन्द गराए ।

दुई पार्टीको झडपमा गोली लागेर मृत्यु भएका रामबिलास महतोलाई सहिद घोषणा गर्नुपर्ने, मृतक परिवारलाई राहत दिनुपर्ने, गोलीको छर्रा लागेर घाइतेहरुलाई सरकारले निःशुल्क उपचार गराउनुपर्ने र दोषीलाई पक्राउ गरि कारबाही गर्नुपर्ने माग राखेर कांग्रेस आन्दोलित भएको हो । 

आन्दोलनमा उत्रेका कांग्रेस कार्यकर्ताले आफ्ना कुनै पनि माग सम्बोधन नभएपछि मृत्यु भएको महतोको शव पनि बुझेका छैनन् । 

महतोको शव ६ दिनदेखि जिल्ला अस्पताल मलंगवामै छ । माग पुरा नभएसम्म शव कुनै पनि हालतमा नबुझ्ने र पहिलो चरणको आन्दोलनबाट मृतक तथा घाइतेले न्याय नपाए थप आन्दोलन घोषणा गर्ने तयारी कांग्रसले गरेको छ । 

गत सोमवार नेकपाका कार्यकर्ताले रामनगर–४ बोहर्वाका वडाअध्यक्ष रामनरेश महतोलाई कार्यालय जाँदै गरेको अवस्थामा बाटोमा कुटपिट गरेपछि मंगलवार भएको दुई पार्टीको झडपमा वडाअध्यक्ष महतोका काका राम बिलास महतोको गोली लागेर मृत्यु भएको थियो । 

झडपकै क्रममा गोलीको छर्रा लागेर त्यही वडाका माहादेव राय, बिबेक महतो, प्रमोद सहनी, भोजेन्द्र महतो, श्रीनारयण महतो, प्रेम नारायण महतो र मुकेशप्रसाद महतो घाइते भएका थिए । चाडबाडको समयमा जिल्लाका मुख्य बजार बन्द हुँदा व्यापारीदेखि विभिन्न गाउँबाट किनमेल गर्न बजार आएका सर्वसधारण मर्कामा परेका छन् । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.