अस्ताए शान्ति–वार्ता दूत

अस्ताए शान्ति–वार्ता दूत

काठमाडौं : वरिष्ठ मानवअधिकारकर्मी एवं नागरिक आन्दोलनका अगुवा पद्मरत्न तुलाधरको निधन भएको छ । भाषाअधिकार अभियन्ता तथा शान्ति–वार्ता दूत तुलाधरले आइतबार दिउँसो थापाथलीस्थित नर्भिक अस्पतालमा अन्तिम सास लिए । उनी ७८ वर्षका थिए ।

मस्तिष्कघात भएपछि उनलाई कात्तिक ९ गते बिहान अन्नपूर्ण न्युरो अस्पतालमा लगिएको थियो । सुधार नदेखिएपछि कात्तिक १३ मा थापाथलीस्थित नर्भिक अस्पताल पु¥याइएको थियो ।

मुटुसम्बन्धी रोगका कारण तुलाधर लामो समयदेखि पीडित थिए । उनको रगतप्रवाह हुने धमनी बन्द भएपछि चार वर्षअगाडि कोरोनरी एन्जिओप्लास्टी तथा स्टेन्ट प्रत्यारोपण गरिएको थियो । तुलाधरलाई फोक्सोको समस्या पनि थियो ।

उनकी छोरी सुम्निमाका अनुसार लामो समयदेखि घरमै आराम गरिबसेका तुलाधर कात्तिक ९ गते बिहान उठ्दा बोली लरबरिएको थियो । हात पनि उठाउन नसक्ने अवस्थामा देखिएपछि सुरुमा परिवारले अन्नपूर्ण न्युरो अस्पतालमा पु¥याएका थिए । न्युरो अस्पतालमा मिर्गौला फेल भएको पत्ता लागेपछि डायलाइसिसका लागि नर्भिक लगिएको थियो ।

तुलाधरलाई नर्भिक अस्पतालमा ३ पटकसम्म डाइलासिस गरियो । डाइलाइसिसपछि पनि सुधार नभएपछि भेन्टिलेटरमा राखिएको नर्भिक इन्टरनेसनल अस्पतालका नायब महाप्रबन्धक आरपी मैनालीले जानकारी दिए ।

उनको स्वास्थ्य थप बिग्रँदै गएपछि चिकित्सकहरूले आइतबार अपरान्ह नै मुटुको इसीजी गरेका थिए । ‘तर इसीजीमा मुटुको चाल नै देखिएन,’ मैनालीले भने, ‘कृत्रिम श्वासप्रश्वास दिँदा पनि सुधार देखिएन । कार्डियो रेस्पिरेटोरी फेलियरमा सुधार आएन । अपरान्ह २ बजेर ४ मिनेटमा हामीले उहाँ (पद्मरत्न)को निधनको घोषणा ग¥यौं ।’

उनको उपचारमा मिर्गौला रोग विशेषज्ञ डा. राजेन्द्रकुमार अग्रवाल, मुटु रोग विशेषज्ञ प्रा.डा. यादवदेव भट्ट, न्युरो सर्जन प्रा.डा. राजीव झा, नशा रोग विशेषज्ञ डा. पंकज जलान र वरिष्ठ छाती रोग विशेषज्ञ रमेश चोख्यानी संलग्न थिए ।

तुलाधरको निधनपछि उनलाई श्रद्धाञ्जली दिन राजनीतिक दलका नेता, आफन्त तथा शुभचिन्तकहरू अस्पताल पुगेका थिए । पूर्वप्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दाहाल, पूर्वप्रधानमन्त्री तथा नेकपा वरिष्ठ नेता माधव नेपाल, पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईलगायत नेताहरू नर्भिक अस्पतालमा पुगी तुलाधरप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए ।

उपराष्ट्रपति नन्दबहादुर पुन, कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्यलगायत नेताहरू तुलाधरको पार्थिव शरीर राखिएको घरमै पुगेर श्रद्धाञ्जली दिएका थिए ।

तुलाधरकी श्रीमती नीलशोभा, दुई छोरा र दुई छोरी छन् । उनको सोमबार शोभाभगवतीमा अन्त्येष्टि गरिने परिवारले जनाएका छन् । तुलाधरको ज्वाइँसमेत रहेका मानवअधिकारकर्मी गौरी प्रधानका अनुसार निधनपछि एक रात घरमा राख्ने परम्पराबमोजिम तुलाधरको शव उनकै घर लाजिम्पाटमा राखिएको छ ।

‘सोमबार बिहान शुभचिन्तकहरूका लागि घरकै आँगनमा श्रद्धाञ्जलीका लागि राखिन्छ, दिउँसो २ बजेपछि अन्त्येष्टिका लागि लगिन्छ,’ प्रधानले अन्नपूर्णसँग भने ।

‘राष्ट्रलाई ठूलो क्षति’

विभिन्न राजनीतिक दलका नेताहरूले तुलाधारको निधनले राष्ट्रलाई अपूरणीय क्षति पुगेको बताएका छन् । प्रधानमन्त्री केपी ओलीले तुलाधरको निधनले आफूलाई अत्यन्त दुःख लागेको भन्दै नेपालको वामपन्थी आन्दोलनमा तुलाधरले पु¥याएको योगदान सदा स्मरणीय रहेन बताए ।

आइतबार दिउँसो ट्वीट गर्दै प्रधानमन्त्रीले तुलाधरप्रति श्रद्धाञ्जली व्यक्त गरेका हुन् । नेकपा अध्यक्ष पुष्पकमल दाहालले तुलाधरको निधनले राष्ट्रलाई ठूलो क्षति पुगेको बताए । उनको निधनको खबरपछि अस्पतालमा पुगेका दाहालले जनआन्दोलन, सांस्कृतिक आन्दोलनको सम्वद्र्धन, नेपालको शान्ति प्रक्रियामा मध्यस्थताकर्तामा दिएको योगदान महŒवपूर्ण रहेको बताएका थिए । दाहालले आइतबार नै शोक विज्ञप्ति जारी गर्दै पञ्चायतविरोधी आन्दोलन, लोकतान्त्रिक आन्दोलन हुँदै शान्तिप्रक्रिया र संविधान निर्माणमा तुलाधरले खेलेको भूमिका सदा स्मरणीय रहने उल्लेख गरे ।

पूर्वप्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले नेपालको मानवअधिकार र भाषा आन्दोलनमा तुलाधरको योगदानको स्मरण भइरहने ट्वीट गरेका छन् । नेकपाका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री नेपालले नेपाल संवत्लाई राष्ट्रिय संवत्को मान्यता दिलाउन तुलाधरले खेलेको भूमिकाको स्मरण गरे । ‘उहाँले भाषिक आन्दोलन र नेपाल संवत्लाई राष्ट्रिय संवत्का रूपमा मान्यता दिन खेलेको भूमिका सदा स्मरणीय हुनेछ,’ नेपालले भने ।

नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईले लोकतान्त्रिक आन्दोलनको एउटा खम्बा ढलेको प्रतिक्रिया दिए । ‘लोकतान्त्रिक आन्दोलनका खम्बा, हामी सबैका आर्दशवान व्यक्तित्व हामीले गुमाएका छौं,’ भट्टराईले भने, ‘उहाँको निधनले हामीलाई ठूलो क्षति पु¥याएको छ ।’

उनीसँगै लामो सहकार्य गरेका पूर्वसभामुख दमननाथ ढुंगानाले देशले इमान्दार तथा आर्दश नेता र आफूले असल मित्र गुमाएको बताए । २८ वर्षयता निरन्तर सँगसँगै सहकार्य गरेका ढुंगानाले अन्नपूर्णसँग भने, ‘उहाँ निष्ठावान व्यक्ति हुनुहुन्थ्यो, नेपाललाई माया गर्ने आर्दश नेता हुनुहुन्थ्यो । समानुपातिक समावेशीका राष्ट्रिय प्रवक्ता नै हुनुहुन्थ्यो । राजनीतिकभन्दा उहाँका सामाजिक सांस्कृतिक आन्दोलनमा बढी योगदान थिए । राजनीतिक रूपमा निरन्तर क्रान्तिकारी परिवर्तनका पक्षपाती हुनुहुन्थ्यो ।’

पहिचान र संघीयताका पक्षधर वाम बुद्धिजीवी तुलाधरप्रति श्रद्धाञ्जली व्यक्त गर्न मन्त्रीहरू पनि अस्पताल र घरमा पुगेका थिए ।

को हुन् तुलाधर ?

१९९७ सालमा जन्मिएका थिए, पद्मरत्न तुलाधर । जीवनकालभरि लोकतान्त्रिक अधिकार, भाषिक–सांस्कृतिक हक र जातीय मुक्तिको आन्दोलनमा निरन्तर सक्रिय थिए ।

२०३६ सालको विद्यार्थी आन्दोलन, ०४६ सालको जनआन्दोलनमा कांग्रेस–कम्युनिस्टको संयुक्त मोर्चा निर्माण, भाषिक–सांस्कृतिक अधिकारमा निरन्तर अगुवाइ गरिरहे । १० वर्षे माओवादी युद्धको शान्तिपूर्ण रूपान्तरणका उनी सेतु नै थिए । उनी सरकार–माओवादी शान्तिवार्ताका दूतका रूपमा समेत परिचित थिए ।

तुलाधरले पत्रकारिता पनि गरे । नेपालभाषाको दैनिक पत्रिकामा उनी लामो समय सम्पादकका रूपमा रहे । २०२० सालदेखि ०४३ सालसम्म भाषा अधिकारका लागि सामाजिक कार्यकर्ताका रूपमा काम गरे ।

२०२२ सालमा रेडियो नेपालले नेपालभाषाको समाचार प्रसारण रोकेपछि सुरु भएको आन्दोलनमा उनी पनि सक्रिय थिए । ०३६ पछि नेपाल भाषा मंका खलका उनी अध्यक्ष भए । उनीसँग निकट रहेका लेखक राजेन्द्र महर्जनले तुलाधरलाई सुरुमा नेपालभाषाको अधिकारका पक्षमा क्रियाशील रहे पनि पछि सबै अल्पसंख्यकको भाषिक अधिकारका लागि आवाज उठाउने पायोनियर भएको बताए ।

वैचारिक रूपमा वामपन्थी भए पनि तुलाधरले कुनै कम्युनिस्ट पार्टीको सदस्य लिएका थिएनन् । उनको झुकाव भने सानैदेखि कम्युनिस्टप्रति थियो । जीवनकालभरि उनी त्यही वैचारिक अडानमा रहे ।

०४३ सालमा जनपक्षीय उमेदवारका रूपमा उनले ‘सूर्य चिन्ह’बाट राष्ट्रिय पञ्चायत चुनाव लडेर जितेका थिए । राष्ट्रिय पञ्चायतमा उनी बहुदलका पक्षमा प्रस्ट बोल्ने नेता थिए । ०४६ सालमा कांग्रेस–कम्युनिस्टको संयुक्त मोर्चा निर्माण र आन्दोलनको वातावरण निर्माणमा पद्मरत्नको योगदान महŒवपूर्ण मानिन्छ ।

बहुदल स्थापनापछिका दुईवटा प्रतिनिधिसभा चुनावमा पनि उनले सूर्य चिन्हबाटै चुनाव जितेका थिए । ०४८ सालपछि तत्कालीन एमालेको र अहिले नेकपाको चुनाव चिन्ह रहेको सूर्य सुरुमा उनले ०४३ सालमै रोजेका थिए । पछि मात्रै निर्वाचन आयोगले सूर्य चुनाव चिन्ह एमालेलाई दिएको हो ।

०४८ र ०५१ सालका सांसद् तुलाधर मनमोहन अधिकारी नेतृत्वको पहिलो कम्युनिस्ट सरकारमा स्वास्थ्यमन्त्री नियुक्त भए । ०५६ सालको चुनावमा उनी तत्कालीन मालेको चुनाव चिन्ह तारा लिएर उठे र पराजित भए । एमाले–माले विभाजनमा उनी तत्कालीन माले (वामदेव गौतम नेतृत्वको) पक्षमा उभिएका थिए ।

उनलाई नेपालका कम्युनिस्ट पार्टीले सदस्यता दिन र पार्टीमा भिœयाउने प्रयास गरे तर सफल भएनन् । ०५२ सालमा तत्कालीन माओवादीले सशस्त्र संर्घष थालेपछि त्यसको दुई वर्ष नबित्दै तुलाधर र दमननाथ ढुंगानाले रोल्पामै पुगी माओवादी सभालाई सम्बोधन गरेका थिए । ‘०५४ सालमै पदमरत्नजी र म रोल्पामा पुगेर संयुक्त सभालाई सम्बोधन गरेका थियौं, माओवादीलाई वार्तामा आउन आह्वान गरेका थियौं,’ पद्मरत्नसँगको सहकार्य सम्झँदै ढुंगानाले भने, ‘०५८ मा कृष्णबहादुर महरा माओवादीको वार्ता टोलीको संयोजक हुँदा पद्मरत्न र म दुवै वार्ता टोलीका सहजकर्ता थियौं । माओवादीले उहाँप्रति अति विश्वास गर्दथ्यो, मप्रति माओवादीको विश्वास जगाउने काममा उहाँकै योगदान थियो ।’

शेरबहादुर देउवा प्रधानमन्त्री भएका बेला माओवादी आरोपमा उनी पक्राउ पनि परे । मुटुको उपचारका लागि दिल्ली जान लागेका बेला उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै समातिएका थिए ।

तुलाधार जातीय मुक्ति र भाषिक अधिकारको आन्दोलनका धरोहर पनि हुन् । नेपाल संवत्लाई राष्ट्रिय मान्यता दिलाउन उनको योगदान महŒवपूर्ण थियो । ‘उहाँकै कारण नेपाल संवत्ले राष्ट्रिय मान्यता प्राप्त गरेको हो,’ पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भने ।

नेपाल भाषा मंका खलका अध्यक्षसमेत रहेका उनी भाषिक अधिकार, समावेशी लोकतन्त्र र अल्पसंख्यकको हकका पक्षमा अविच्छिन्न लागिरहे । ०७२ सालदेखि उनी आदिवासी जनजाति राष्ट्रिय आन्दोलनका अध्यक्ष पनि थिए ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.