सामाजिक संरचना र अपांगता

सामाजिक संरचना र अपांगता

विश्वको सबभन्दा ठूलो र पछाडि पारिएको समुदायका रूपमा अपांगता भएका व्यक्तिहरूको समुदाय निर्माण भइरहेको छ। अपांगता भएको जनसंख्या हेर्ने हो भने उदेकलाग्दो छ। विश्वमा अपांगता भएका व्यक्तिहरूको जनसंख्या ६५ करोड छ, जसको ८० प्रतिशत जनसंख्या विकासशील देशहरूमा बसोबास गर्दछन्। सन् २०११ मा केन्द्रीय तथ्यांक विभागले गरेको जनगणनाबमोजिम नेपालमा अपांगता भएका व्यक्तिहरूको जनसंख्या कुल जनसंख्याको १.९४ प्रतिशत रहेको छ। तर विश्व स्वास्थ्य संगठनलगायतका संस्थाहरूले गरेको अध्ययनहरूमा अपांगता भएका व्यक्तिहरूको जनसंख्या कुल जनसंख्यामध्ये १० प्रतिशतको हाराहारीमा हुने पाइएको छ।

नेपालमा अपांगता क्षेत्रमा कार्य गर्ने संस्थाहरूले गरेको अध्ययनमा सोही हाराहारीमा अपांगताको जनसंख्या भएको दाबी गर्दै आइरहेका छन्। सामाजिक र सांस्कृतिक कारणले अपांगता भएका व्यक्तिहरूलाई घरभित्रै लुकाउने प्रवृत्ति र सर्वसाधारणमा अपांगताप्रतिको सामान्य बुझाइमा कमी हुँदा तथ्यांक संकलनका क्रममा सबै अपांगता भएका व्यक्तिहरू यसमा नसमेटिएको हुन सक्छ।

जनसंख्या वृद्धिसँगै अपांगता भएका व्यक्तिहरूको संख्या वृद्धि हुँदै जान्छ। अपांगता कहिल्यै निर्मूल नहुने एउटा त्यस्तो अवस्था हो, जसलाई केही हदसम्म रोकथाम गर्न र सहज वातावरणमा न्यूनीकरण हुन सक्छ। अपांगताको निर्धारक तत्व सामाजिक, सांस्कृतिक, भौगोलिक, आर्थिक कारणहरू हो। अपांगता भएका व्यक्तिहरूलाई एउटा समाज र सामाजिक परिवेशमा जसरी व्यवहार गरिन्छ। अर्को समाजमा त्यसरी व्यवहार नगरिन सक्छ। त्यसैले समाजअनुसार अपांगता भएका व्यक्तिहरूलाई हेर्ने दृष्टिकोण फरक हुने कारणले गर्दा उनीहरूले भोग्ने अपांगता पनि फरक परिवेशमा फरक–फरक हुन्छ। हाम्रोजस्तो समाजमा त अपांगतालाई धर्म, पाप र पुण्यसँग जोडेर हेर्ने गरिन्छ।

जुन समाजमा अपांगतालाई कुनै विशेष धर्म वा कर्मसँग जोडेर हेरिन्छ, त्यस समाजमा बस्ने अपांगता भएका व्यक्तिहरूको जीवन बढी कष्टपूर्ण हुने गर्छ। हाम्रो समाजमा अधिकांश अपांगता भएका व्यक्तिहरूका अभिभावक आफ्ना अपांगता भएका सन्तान वा आ िश्रतलाई अरूलाई जिम्मा लगाउन चाहन्छन्। किनभने उनीहरूको अपांगताप्रतिको बुझाइ नै संकुचित छ। त्यस्ता बालबालिकाको भविष्य नै देख्दैनन्। आफ्ना अरू स्वास्थ्य सन्तानसँग तुलना गर्छन्, जसमा उनीहरूको भरोसा हुन्छ। यस्तो सोच बनाउने संयन्त्र गरिबी, अशिक्षा, सनातन धर्म र संस्कृति नै हो। अपांगता भएका व्यक्तिलाई परिवारको सदस्यमा गणना नै नगर्ने र बोझका रूपमा हेर्ने गरिन्छ।

अपांगतालाई पूर्वजुनीको पापसँग तुलना गर्ने हाम्रो समाजको संकुचित सोच र व्यवहारका कारण अपांगता भएका व्यक्तिहरू आत्मसम्मानका साथ बाँच्न पाउने संविधानप्रदत्त हक उपभोग गर्न पाइरहेका छैनन्। नेपालको संविधान (२०७२) मा ३२ वटा मौलिक हकमध्ये अपांगता भएका नागरिकका केही विशिष्ट अधिकार सम्बोधन गर्ने गरी ६ वटा धारामा अपांगता भएका व्यक्तिहरूसँग सम्बन्धित मौलिक हकको समेत व्यवस्था गरेको छ। साथै अपांगता भएका व्यक्तिहरूलाई अन्य नागरिकसरह जीवन व्यतीत गर्न सहज बनाउन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा विभिन्न कानुन तथा नीतिहरू बनी कार्यान्वयन पनि गर्न खोजिएको छ, तर हाम्रो सामाजिक संरचनाका कारण अपांगता भएका व्यक्तिहरूको दैनिक क्रियाकलापमा खासै परिवर्तन देखिएको छैन।

अमेरिकाका अपांगता भएका धावक तथा वकिल लिन्डा मस्टान्ड्रियाले ‘सर्वप्रथमतः मजस्तो अपांगता लिएर जन्मेका व्यक्तिहरूबाट परिवारले प्रायः अत्यन्त कम आशा राख्छ, तसर्थ अपेक्षा नै न्यून हुन्छ। दोस्रो समुदायमा रहेका भौतिक अवरोधहरूले उनीहरूको समुदायमाथिको पहुँच हुनबाट रोक्छ। तेस्रो, सामाजिक अवरोधहरूले उनीहरूको समुदायमाथिको पहुँच हुनबाट रोक्छ’ भन्ने अभिव्यक्तिबाट पनि प्रस्ट हुन्छ। अपांगताको मात्रा पहुँचमा हुने अवरोधले वृद्धि गर्छ, जुन सामाजिक रूपमा सृजित हुन्छ एउटा ह्विल चेयर प्रयोग गर्ने एकजना व्यक्तिलाई राज्यप्रदत्त सेवा लिन उसको व्यक्तिगत अवस्थाको कारणले भन्दा पनि पहुँच नभएका बस वा कार्यस्थानका भर्‍याङहरू जस्ता वातावरणीय अवरोधले गर्दा कठिनाइ हुन्छ। साथै उनीहरूलाई एउटा उपलब्धिमूलक रोजगारमाथिको पहुँचबाट पनि वञ्चित हुनुपर्ने अवस्था आउन सक्छ।

अपांगता भएका व्यक्तिहरूलाई हरेक प्रकारको विकास प्रक्रियामा समावेशीकरण गर्ने राज्यको नीति छ।

जबसम्म सार्वजनिक भवन, सडक, सडकपेटीहरू, यात्रुबस, बसपार्क, यात्रु चढाउने र ओराल्नेजस्ता ठाउँ अपांगतामैत्री मापदण्डबमोजिम बनाइँदैन तबसम्म एउटा ह्विल चेयर प्रयोग गर्ने व्यक्तिको पहुँच समुदायमा हुँदैन। अहिले खडा गरिएका सार्वजनिक भौतिक संरचना अपांगतामैत्री भनिए पनि अधिकांश मापदण्डविपरीत छन्। यी भौतिक संरचना अपांगतामैत्री बनाउन पुराना सोच भत्काउनैपर्छ। पुराना सोच भएका व्यक्तिहरू जसले अपांगतालाई पूर्वजुनीसँग तुलना गर्दछन्, त्यस्ता व्यक्तिहरू कार्यस्थानमा हुनुले पनि सहीरूपमा कार्यक्रम लागू हुन नसकेको अवस्था छ।

एउटा कान नसुन्ने व्यक्ति बोल्न र सुन्न नसक्ने हुँदा समुदायमा सबै प्रकारका सूचनाबाट वञ्चित हुँदा अपांगता महसुस गर्न पुग्छ। सूचनामा पहुँच पुर्‍याउन आवश्यक शिक्षा र सांकेतिक दोभाषेको व्यवस्था हुने हो भने उसको समुदायमा पहुँच पुग्न सक्छ। तर उसको बहिष्करण घरबाटै सुरु हुन्छ, एउटा कान नसुन्ने र बोल्न नसक्नेले परिवारमा के योगदान दिन सक्छ भन्ने मानसिकताबाट हरेक सूचनाबाट वञ्चित हुन पुग्छ। सञ्चारको सुविधाबाट वञ्चित हुँदा सबै सेवाको पहुँचबाट टाढा भई अपांगताको डिग्री बढ्न जान्छ।

त्यस्तै बौद्धिक अपांगता भएका एउटा विद्यार्थीलाई शिक्षक–शिक्षिकाहरूको उसप्रतिको दृष्टिकोण, अनुपयुक्त पाठ्यक्रम र सिकाइका सामग्रीहरू तथा फरक सिक्ने क्षमतालाई आत्मसात गर्न नसक्ने अभिभावकका कारणले उनीहरूलाई विद्यालय गएर अध्ययन गर्न कठिनाइ हुन सक्छ। माथिका प्रतिनिधि उदाहरण हेर्दा एउटा अल्पदृष्टि भएको व्यक्तिलाई करेक्टिभ लेन्स उपलब्ध भएको समाजमा अपांगता भएका व्यक्तिको रूपमा हेरिँदैन तर हाम्रोजस्तो समाजमा जहाँ यो सुविधा पनि छैन र उनीहरूबाट अपेक्षित कार्य लेख्न, पढ्न, गोठालो जान, खेतीपाती गर्न, सहज हिँडडुलमा समस्या हुन्छ, उनीहरूलाई अपांगता भएका व्यक्तिका रूपमा हेरिन्छ। यहाँ उसको कामको सीमिततासँग अपांगता जोडिएको छ। त्यस्तै एउटा ह्विलचियर प्रयोगकर्ता बिनाअवरोध पाँचौं तलामाथि रहेको कार्यकक्षमा बसेर काम गर्न सक्छ, बहिरालाई सञ्चारको सुविधा हुन्छ, उनीहरूको सामाजिक र सांस्कृतिक जीवनमा पूर्ण सहभागिता हुन्छ, त्यहाँ अपांगता रहँदैन त्यसैले हाम्रो सामाजिक संरचनाले नै अपांगताको मात्रा बढाइरहेको छ।

यहाँ स्टेफिन हकिङको प्रसंग जोडौं। उनी अत्यन्तै प्रखर प्रतिभावान् खगोल तथा भौतिकशास्त्री थिए। यी वैज्ञानिक यस ब्रह्माण्डमा अस्तित्वमा रहने ब्ल्याक होलका लागि प्रसिद्ध छन्। उनी एक रोगका कारण बहुअपांग भएका थिए। उनमा २१ वर्षको उमेरमा कहिल्यै निको नहुने रोग लाग्यो र सबै शरीरले काम गर्न छोडे पनि मस्तिष्क, आँखा, कानले काम गरिरहेको थियो। उनको यस्तो ह्विलचियर थियो, जसमा कम्प्युटर जडान गरिएको थियो उक्त कम्प्युटरको सहायताले उनले सोचेको कुरा कम्प्युटरमा प्रविष्ट हुन्थ्यो। उनले आफ्नो जीवनकालमा विश्वलाई चकित पार्ने खोज गरेका थिए। उनको नाम नसुन्ने व्यक्ति सायदै होलान्, उनी प्रविधिको सहायताले आफूलाई विश्वसामु अस्वाभाविक रूपमा उभ्याउन सफल भए। यही उदाहरण हेर्दा उनको काममा प्रविधिका कारणले सीमितता आएन, उनको अपांगताको कारणले वैज्ञानिक खोजमा रोकावट आएन।

अपांगता भएका व्यक्तिहरूलाई हरेक प्रकारको विकास प्रक्रियामा समावेशीकरण गर्ने राज्यको नीति छ। अपांगता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन, २०७४ ले अपांगताको वर्गीकरणलाई शारीरिक अंगहरू र शारीरिक प्रणालीमा भएको समस्या एवं कठिनाइका प्रकृतिअनुसार १० प्रकारले गरेको छ। उक्त प्रकारका अपांगता भएका व्यक्तिहरूका आफ्नै छुट्टै किसिममा कठिनाइ छन्। फरक अवस्थाका अपांगता भएका व्यक्तिहरूका भिन्नाभिन्नै आवश्यकता छन्। ती भिन्नाभिन्नै आवश्यकता बुझ्न नसक्दा सबै प्रकारका अपांगता भएका व्यक्तिहरूलाई एउटै डालोमा हालेर व्यवहार गरेको देख्न पाइन्छ।

एउटा सार्वजनिक भवनमा बनाइएको र्‍याम्पलाई देखाएर सबै अपांगताप्रति उत्तरदायी छौं भनेर भन्न सकिने अवस्था छैन। उक्त र्‍याम्पको ह्विल चियर प्रयोगकर्ताबाहेक बहिरा, दृष्टिविहीन, बौद्धिक अपांगतालगायतलाई केही उपादेयता छैन भन्ने बुझ्नुपर्छ। सर्वसाधारणलाई खुला भएको भवनभित्रका तथा अन्य सुविधामा दृष्टिविहीनलाई ब्रेल पढ्न, वाचक, गमनमा पथप्रदर्शक बहिरालाई व्यावसायिक सांकेतिक भाषा अनुवादकको व्यवस्था गर्न नसक्नु अहिलेसम्मको सामाजिक व्यवस्थाले सिकाएको पाठबाट बाहिरिन नसक्नु हो। अपांगता व्यक्तिलाई उसमा अन्तर्निहित कमजोरीको परिणामको रूपमा मात्र नभएर एउटा व्यक्ति र उसको सामाजिक वातावरणबीचको अन्तरक्रियाबाट उत्पन्न परिणामको रूपमा हेरिनुपर्छ।


—बोहरा त्रिवि समाजशास्त्र विभागअन्तर्गत एमफिलमा अध्ययनरत छिन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.