तिहारलगत्तै राप्रपा एकता

तिहारलगत्तै राप्रपा एकता

काठमाडौं : राप्रपा धारका दलबीच चाँडै एकता गर्ने गरी छलफल अघि बढेको छ । राप्रपा, राप्रपा प्रजान्त्रिक र एकीकृत राप्रपाका अध्यक्षबीच तिहारलगत्तै पार्टी एकता गर्ने गरी छलफल भइरहेको नेताहरूको दाबी छ ।

सैद्धान्तिकभन्दा पदलोलुपताका कारण पटकपटक विभाजित हुँदै आएका राप्रपा धारका दल पछिल्लो समय राष्ट्रिय राजनीतिमा प्रभावशून्य बनेपछि पुनः एकतामा जुटेका हुन् । ‘पार्टी एकताका लागि अध्यक्ष तहमै छलफल भइरहेको छ’, राप्रपा प्रजातान्त्रिकका प्रवक्ता राजेन्द्र गुरुङले भने ।

राप्रपा प्रजातान्त्रिकको आइतबार बसेको बैठकले पार्टी एकताबारे निर्णय लिने सम्पूर्ण अधिकार अध्यक्ष पशुपतिशमशेर राणालाई दिएको हो । राप्रपाले यसअघि नै अध्यक्ष कमल थापालाई एकताको जिम्मा दिइसकेको छ । यसअघि तीनै दलले वार्ता समिति गठन गरेर एकताको प्रयास अगाडि बढाउन खोजेका थिए । समितिहरूबीच एकताका लागि बैठक बसे पनि परिणाम निस्कन नसकेपछि नेतृत्व तहमै छलफल अघि बढेको हो ।

बलियो राष्ट्रवादी लोकतान्त्रिक शक्ति निर्माणका लागि पनि राप्रपाबीच एकता अनिवार्य रहेको राप्रपाका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले बताए । ‘चाँडै एकता हुन्छ, तर समय यकिन भइसकेको छैन’, उनले भने, ‘एकता प्रक्रिया कहाँ पुग्यो भन्ने यकिन जानकारी हामीलाई पनि छैन । एकता प्रक्रिया लम्बिँदैन ।’

पार्टीको नेतृत्व र सिद्धान्तका विषयमा पनि विवाद नरहेको उनीहरूको दाबी छ । पूर्वराजा ज्ञानेन्द्र शाहले पनि तीनवटै राप्रपाबीच एकताका लागि निरन्तर दबाब दिँदै आएका थिए । उनले चैत पहिलो साता झापामा तीनै दलका दोस्रो तहका नेतालाई बोलाएर एकता गर्न सुझाएका थिए ।

पूर्वयुवराज पारस शाहले पनि केही साताअघि राप्रपा धारका युवा नेतासँग पार्टी एकताबारे छलफल गरेका थिए । बहुदल पुनःस्थापनालगत्तै पञ्चायत समर्थकले खोलेको राप्रपा स्थापना भएकै दिन विभाजन भएको थियो । त्यसपछि राप्रपामा विभाजन र एकताको शृंखला जारी छ ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.